हेलिकोप्टर दुर्घटनामा दुई घाइते

काठमाडौं : एयर डाइनेस्टी हेलिसर्भिसेजसको हेलिकोप्टर बिहीबार बिहान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा परेको छ । उक्त कम्पनीको ९एन–एइएक्स (एएस–३५०) हेलिकोप्टर अवतरणका क्रममा बिहान ८ बजेर २० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका हेलिकोप्टरका चालक क्याप्टेन अरूण मल्ल र यात्रु दाबाग्याल्जेन शेर्पालाई वयोधा अस्पतालमा भर्ना गरिएको छ ।
मल्ल र शेर्पालाई लुक्ला विमानस्थलमै रहेको एयर डायनेस्टीकै अर्काे हेलिकोप्टर ९–एजियुद्वारा तत्काल उद्धार गरी स्थानीय अस्पतालमा पुर्‍याइएको थियो । प्राथमिक उपचारपछि बिहान १०:२५ मा बयोधा अस्पतालमा ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निमित्त महाप्रबन्धक नरेन्द्रबहादुर थापाले बताए ।
काठमाडौं विमानस्थलबाट बिहान ०७:२८ बजे सोलुखुम्बुका लागि उडान भरेको उक्त हेलिकोप्टरमा तीन यात्रु थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गर्न बिहीबार नै प्राविधिक टोली लुक्ला पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । (सौस)

प्रतिक्रिया