धनगढी, ११ असोज । भारततिर लैजान लागेको अवस्थामा कैलाली प्रहरीले २३ नाबालकको उद्धार गरेको छ । साथै प्रहरीले नाबालक ओसारपसार संलग्न चार जनालाई पनि नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट भारततिर लैजान लागेको अवस्थामा कालीकोट जिल्लाका १९ र डोटी जिल्लाका चार जना बालकको उद्धार गरेको हो । उद्धार गरिएका बालकको उमेर ५ वर्षदेखि १५ वर्षसम्म रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बालकहरूलाई भारततिर लैजाने काममा संलग्न कालीकोट जिल्ला कालीका गाविस ९ का ३२ वर्षीय पूर्ण सेजुवाल, ५० वर्षीय जयसुर सेजुवाल, ४४ वर्षीय अजिपाल महतरा र १९ वर्षीया धनमाया घर्तीमगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रबक्ता डिएसपी ऋषिराम कँडेलले बताए ।
बिना अनुमति बालकहरूलाई लकाईफुलाई भारततिर लैजान लागेका मध्ये पूर्ण र अजिपालले आफूहरू क्रिस्चियन भएको र बालकलाई भारतको क्रिस्चियन होस्टेल भिराखिरी लखिमपुरमा राख्न लैजान लागेको प्रहरीसमक्ष बताएको छ भने धनमायाले भाइलाई पुर्याउन जान लागेको बताइन् । जयसुरले भने छोराको स्कुल बारेमा बुझ्न जान लागेको भनी बयान दिएको डिएसपी कँडेलले बताए । तर, चारै जना बालकहरूको ओसारपसारमा संलग्न रहेको खुल्न आएको छ उनले भने ।
उद्धार गरिएका सबै बालकलाई माइती नेपाल र जिल्ला बालकल्याण समिति कैलालीमा राखिएको छ । उनीहरूका अभिभावकलाई खबर गरी जिम्मा दिन प्रहरी सञ्चारमार्फत सम्बन्धित जिल्लामा खबर भइसकेको प्रहरीको भनाइ छ ।
उद्धार गरिएका बालकमा कालिकोटका ७ वर्षीय गोपाल महतारा, ६ वर्षीय सुरेश सेजुवाल, ११ वर्षीय सुरज बिक, ९ वर्षीय वसन्त घर्तीमगर, १० वर्षीय ओपीन सेजुवाल, ८ वर्षीय रवीन्द्र सेजुवाल, १० वर्षीय चक्रबहादुर विक, ११ वर्षीय टेक सेजुवाल, ७ वर्षीय दिनेश सेजुवाल, १० वर्षीय नीराजन सेजुवाल, १३ वर्षीय बखत महतारा, ८ वर्षीय सागर सुनार, १५ वर्षीय सुनिल सुनार, ५ वर्षीय महेन्द्र रहेका छन् । महेन्द्रको थर खुल्न सकेको छैन ।
त्यस्तै, १२ वर्षीय मुकेश बोहरा, ८ वर्षीय अस्त महतारा, ७ वर्षीय पपिन सेजुवाल, १३ वर्षीय सन्तोष विक, १२ वर्षीय गोरख महतारा, १० वर्षीय कमल परियार, ९ वर्षीय सुनिल विक, १० वर्षीय विवेक सेजुवाल र १२ वर्षीय कुसन सेजुवाल पनि रहेको डिएसपी कँडेलले जानकारी दिए । उद्धार गरिएका १९ बालक कालिकोट जिल्ला कालिका गाविस–८ र ९ तथा चार जना बालक डोटी जिल्लाका रहेका छन् ।
पछिल्ला दिनहरूमा सुदूपश्चिमका नाकाहरूबाट मानव ओसारपसार बढेको खबर आएपछि प्रहरीले सक्रियता बढाएर ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन सफल भएको कैलाली प्रहरी प्रमुख एसपी मोहन जोशीले बताए । उनले यति ठूलो संख्यामा भारततिर लिन लागेकाहरूको उद्धार गरिएको पहिलोपटक भएको र ओसारपसारमा संलग्नहरूमाथि अनुसन्धान गरी कडा कारवाही हुने बताए ।
प्रतिक्रिया