प्रवल गुरूङ अब नेपाली रहेनन्

Prabal-Gurungकाठमाडौं : अन्तर्राष्ट्रियस्तरमै चर्चित फेसन डिजाइनर प्रवल गुरूङलाई अघिल्लो महिना मात्र उद्योग वाणिज्य महासंघले उत्कृष्ट युवा आइकन पुरस्कारबाट सम्मान गरेको थियो । कारण थियो, एउटा नेपाली युवा जसले विश्वमै फेसन डिजाइनबाट प्रसिद्धि कमाएको छ । सबै नेपालीले गर्व गर्ने प्रवल गुरूङ अब भने नेपाली नागरिक रहेनन् । उनले गएको ६ सेप्टेम्बरमा अमेरिकाको नागरिकता लिएको चर्चित अमेरिकी फेसन वेवसाइट डब्लुडब्लुडीले जनाएको छ ।
उसो त अधिकांश नेपाली कलाकारहरू विभिन्न बहानामा अमेरिका गएर गुपचुपमै उतैको नागरिक बन्ने गरेका दर्जनौँ उदाहरण छन् । तर, प्रवल भने अरूभन्दा फरक रहे । प्रवलले नागरिकता पाएसँगै अमेरिकाको झन्डा र नागरिकता लिएर खिचाएको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनी अमेरिकामै बसेर फेसन डिजाइन गर्दै आएका छन् ।
अमेरिकालाई नै कर्मथलो बनाउँदै आएका विश्वविख्यात फेसन डिजाइनर प्रवल अमेरिकी नागरिक हुनुलाई आश्चर्यका रूपमा लिँदैनन् । ‘आज बिहानै म व्युझिए र मेरो यहाँसम्मको यात्रा सम्झिए,’ नागरिकता ग्रहणपछि स्थानीय ज्याकोभ जे जेभिट्स भवनमा आयोजित कार्यक्रममा प्रवलले भने, ‘अमेरिकामा आफ्नो सपना कसरी पछ्याउन सकिन्छ भन्ने म जिवित प्रमाण भएको छु । एक समय आजको दिन मबाट कति टाढा थियो तर अहिले यो यथार्थ भएको छ ।’
प्रवलले गरेका डिजाइनहरू अमेरिकी प्रथम महिला मिसेल ओबामादेखि लेडी गागा, जेनिफर लरेन्स, इमाल वाट्सन्, केट हटसन्, स्कार्ले जोनसन्, डेमी मुर, सारा जेसिकाजस्ता हलिउड कलाकारले पनि लगाइसकेका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण र कट्रिना कैफका लागि पनि प्रवलले डिजाइन गरेका थिए । सिंगापुरमा जन्मिएर काठमाडांैमा हुकिर्एका प्रवल सन् १९९९ देखि अमेरिकामा फेसन डिजाइनरका रूपमा कार्यरत छन् । (सौस)

प्रतिक्रिया