मंसिर ४ गते हुने भनिएको संविधानसभाको दोस्रो निर्वाचनका लागि उम्मेदवार छान्ने कार्य दलहरूले अन्तिम चरणमा पुर्याएका छन् । केन्द्रमा थुप्रिएका उम्मेदवारका आकांक्षी जिल्ला नेताको भीड काठमाडौंमा पातलिन थालेको छ । एमओवादी, नेपाली कांग्रेस, एमाले र अन्य दलका केन्द्रीय कार्यालयमा थेग्नै नसक्ने गरी जिल्ला नेताका भीड लागेका थिए । अब भीड घट्न थालेपछि दलका नेताले सहज रूपमा काम गर्न थालेका छन् । वास्तवमा सक्षम, योग्य, जनाधार भएको र पार्टीमा निरन्तरता दिएको कार्यकर्ताभन्दा पनि निरन्तर चाकरीमा खट्ने, पैसावाल, बाहुबलवाला र गणेश प्रवृत्तिको व्यक्तिले अवसर पाउने भएपछि आकांक्षीको भीड बढेको हो । जब इमानदार, जनाधार भएको, जिल्ला, क्षेत्र र अञ्चलबाट सिफारिस भएको व्यक्तिले टिकट पाउने अवस्था रहँदैन तब नेताको कोटरीमा भीड लाग्नु स्वाभाविक हुन्छ । दलहरूले उम्मेदवार बन्ने व्यक्ति बारे कुनै प्रकारको मापदण्ड बनाएका छैनन् । जसले गर्दा पैसावाल, बलशाली र गणेश प्रवृत्तिले टिकट उम्काउने अवस्था आएको छ । यो वा त्यो दल होइन सबै दलको अवस्था यही हो । पार्टीको नीति तथा सिद्धान्त नबुझेको, सभासद् बनिसकेपछि गर्नुपर्ने कामको बारेमा ज्ञान नभएको पार्टीमा कहिल्यै काम नगरेकाले अवसर पाउन थालेका छन् । यसले पार्टीप्रति इमानदार र लगनशील कार्यकर्तालाई निराश बनाएको छ । यस्तो अवस्था रहेसम्म नेताको चाकरीमा केन्द्र धाउने प्रवृत्ति रोकिने देखिँदैन ।
नेपाली कांग्रेसले बडो मुस्किलले संसदीय समिति गठन गरेर उम्मेदवार छान्ने प्रक्रिया अगाडि बढाएको छ भने एमओवादी रनभुल्लमा छ । उसले आकांक्षी कार्यकर्ताको दबाबसामु निर्णय गर्न कठिन र अप्ठ्यारो अवस्था सिर्जना भएको स्पष्ट पारिसकेको छ । पहिलो निर्वाचनमा त्याग गरेका कार्यकर्ताले नेताको नियत बुझेपछि एमाओवादी अप्ठ्यारोमा परेको हो । ती त्यागी कार्यकर्ताले अब आफ्नो पालो आएको ठान्नु अस्वाभाविक पनि होइन । आइते, ल्याइते र काइतेले एमाओवादीलाई चेपुवामा पारेका छन् । संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसले भने अन्तर्घातको मूलबाटो अहिले नै खनिसकेको छ । असन्तुष्टहरूले टिकट नपाए पनि बागी उम्मेदवार बनेर पार्टीको उम्मेदवारलाई हराउने योजना बनाउन थालेका छन् । यो अवस्था थोर बहुत अन्य दलहरूले पनि बेहोर्नुपर्ने देखिन्छ । यसलाई रोकथाम गर्न नसक्ने हो भने दलहरूको अवस्था खस्कँदै जानेछ । दलका नेता अहिले केन्द्रीय समितिको बैठक बस्न सक्ने अवस्थामा पनि छैनन् । शीर्ष नेतासमेत व्यक्तिका घरमा बसेर छलफल गर्नुपर्ने अवस्था छ । जब नेतृत्व नै छलकपट र लोभमा परेको देखे तब नेतृत्वप्रति कार्यकर्ता पंक्तिमा वितृष्णा उत्पन्न हुन थालेको हो । यसै कारणले काठमाडौंमा भडी लाग्न कार्यकर्ता बाध्य भएका हुन् । एमालेको स्थायी समितिको बैठक ललितपुरको कुनै घरमा लुकेर भइरहेको छ । त्यहाँ प्रत्येक नेताले आफ्नो खल्तीबाट उम्मेदवारको सूची निकालेर पेस गरेका छन् । एमालेलाई उम्मेदवार छान्नु भनेको महाभारतको युद्ध जित्नु जत्तिकै हुने भएको छ ।
उम्मेदवार छान्न कसरत गर्दै गरेका नेताको यो अवस्था छ भने टिकटकै लागि पार्टी प्रवेश गर्नेहरूको भीड पनि बढ्दै छ । एमाओवादी, नेपाली कांग्रेस र एमाले प्रवेश गर्नेहरूले टिकटको अपेक्षा गरेका छन् । यदि ती आकांक्षीले टिकट पाएनन् भने जुन दलमा प्रवेश गरेका छन् त्यही दललाई हानि पुर्याउने अवस्था देखिन्छ । घाम उदाउँदा आयाराम घाम अस्ताउँदा गयारामहरू पार्टी दह्रो बनाउन प्रवेश गरेका होइनन् । हुलमुलमा भाग पाइहालिन्छ कि भन्ने मनसायले प्रवेश गरेका हुन् । २०५० सालमा सबैभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । तर, २०५१ सालको मध्यावधी निर्वाचनमा नवप्रवेशीले कांग्रेसलाई धेरै ठाउँमा हराउन सहयोग गरे । यसर्थ सबै दलका शीर्ष नेताले गम्भीरतापूर्वक सोचेर टिकट वितरण गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया