शिव रेग्मीलाई बेल्जियमबाट सहयोग प्रदान

shiv-regmiदुवै किड्नी फेल भएर लामो समयदेखि अस्वस्थ रहेका निर्देशक शिव रेग्मीलाई बेल्जियमबाट ८० हजार रुपियाँ उपचारार्थ सहयोग प्राप्त भएको छ । १५ वर्षदेखि बेल्जियममा रहेकी कलाकार पार्वती अधिकारी अध्यक्ष रहेको चितवन सहायता कोष बेल्जियम (क्याट)ले ५० हजार र पदम गुरूङ अध्यक्ष रहेको युरो नेपाल कलाकार संघले ३० हजार रुपियाँ मंगलबार रेग्मीलाई हस्तान्तरण गरेको हो । उक्त रकमलाई अधिकारीकी छोरी सुष्माले कलाकार रमेश बुढाथोकीको सक्रियतामा रेग्मीको घर पुगेरै प्रदान गरेकी थिइन् । यसअघि उक्त दुई संस्थाले पवन मैनाली र गायक कुमार कान्छाको उपाचारार्थ पनि सहयोग गरेको थियो ।
आफ्नै स्वास्थ्यमा विभिन्न उतारचढाव आएपछि किड्नी टान्सप्लान्ट गर्न ढिलाइ भई ओछ्यानमै रहेका रेग्मीको स्वास्थ्य अवस्थामा भने केही सुधार आएको परिवारले जनाएको छ । तर, रेग्मी अझै पनि आफँै उभिएर हिड्न सक्ने अवस्थामा चाहिँ छैनन् । ‘चार दिन भयो । अलि कमजोर भएर हिड्न चाहिँ सकिरहेको छैन । अरू सबै ठीक छ ।’ ओछ्यानबाटै रेग्मीले भने । उनले शत्रुलाई पनि यस्तो रोग नलागोस् भनी पुकार्दै फिल्मकर्मीहरूबाट पाएको यो मायालाई मनबाटै महसुस गरेको प्रतिक्रिया दिए ।
रेग्मीका कान्छा भाइले दिने भएको एउटा किड्नी टान्सप्लान्ट मिति आउँदो मंसिर पहिलो हप्ताका लागि तोकिएको परिवारले जानकारी दिएको छ । फिभर बढेपछि उनी केही हप्ताअघि दिल्ली पुगेर पनि रित्तो हात फर्किएका थिए । रेग्मीलाई यसअघि युकेमा रहेकी ईशा गुरूङबाट प्राप्त ५० हजार रकम चलचित्र पत्रकार संघमार्फत प्रदान गरिएको थियो भने चलचित्र संघबाट एक लाख र चलचित्र विकास बोर्डले पाँच लाख उपचारार्थ सहयोग रकम प्रदान गरिसकेको छ ।(सौस)

प्रतिक्रिया