ड्याफोडिल, रेडिअन्ट र काभ्यालाई एक्सेल्सियर कप

Excelcior-Cupकाठमाडौं, ९ असोज । ड्याफोडिल पब्लिक स्कुल, रेडिअन्ट पब्लिक स्कुल र काभ्या स्कुलले तेस्रो द एक्सेल्सियर कपमा सफलता हात पारेका छन् । ड्याफोडिलले सिनियर ब्वाइज बास्केटबल, रेडिअन्टले जुनियर ब्वाइज बास्केटबल तथा काभ्याले जुनियर ब्वाइज फाइभ ए साइड फुटबलको उपाधि जिते ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा भएको सिनियर बास्केटबल फाइनलमा ड्याफोडिलले अघिल्लो दुवै संस्करणको विजेता निम्सलाई ४७–४६ ले पराजित पार्‍यो । विजेताका अमिन तामाङले १८ अंक जोडे । निम्सले तेस्रो क्वाटरको समाप्तिसम्म लिएको १३ अंकको अग्रता जोगाउन नसक्दा उपाधिमाथि ह्याट्रिक गर्नबाट चुक्यो ।
निम्सले पहिलोमा ९–४, दोस्रोमा १२–७ र तस्रोमा १४–११ को अग्रता लिएको थियो । ड्याफोडिलले अन्तिम तथा चौथो क्वाटरमा २५–११ को प्रदर्शन गर्दै उपाधि पक्का गर्‍यो । जुनियर ब्वाइज बास्केटबलको उपाधि भिडन्तमा रेडिअन्टले साविक विजेता एक्सेल्सियरलाई ३७–२४ ले पाखा लगायो । रेडिअन्टको जितमा अजय खत्रीले १४ अंक योगदान गरे । जुनियर ब्वाइजको फुटबल फाइनलमा काभ्याले एलआरआईलाई १–० को झिनो गोलअन्तरले हरायो । निर्धारित ४० मिनेटको ३९औँ मिनेटमा काभ्याका सञ्जय खत्रीले विजयी गोल प्रहार गरे । बास्केटबलको सिनियरमा निम्सका अमिन तामाङ र जुनियरमा रेडिअन्टका अजय खत्री तथा फुटबलमा सञ्जय खत्री उत्कृष्ट खेलाडी चुनिए ।
बास्केटबलको सिनियरमा सरस्वती बोर्डिङ हायर सेकेन्डरी स्कुल र जुनियरमा स्वर्णिम स्कुल तथा फुटबलमा चेल्सी इन्टरनेसनल एकेडेमीले फेयर प्लेको उपाधि हात पारे । विजेतालाई एनप्याब्सनकी अध्यक्ष गीता राणा, एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेत, डिआइजी दयानिधी ज्ञवाली र भाइस प्रिन्सिपल प्रशान्त रजकले पुरस्कार प्रदान गरे । आठदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको सिनियर र जुनियरमा समान १२–१२ तथा फुटबलमा १६ टिम सहभागी थिए ।

प्रतिक्रिया