‘आवाजहरू अब मौन छैनन्’ र पृष्ठभूमि

दुईवटा तीनदिवसीय कार्यशाला ‘आवाजहरू अब मौन छैनन्’ र त्यसपछिका प्रदर्शनीहरू क्रमश: धरान र पोखरामा आयोजना गरिएका थिए । यी कार्यशाला र प्रदर्शनीहरू केवल नेपालकै विभिन्न क्षेत्रबाट आएका विभिन्न विधाका सहभागी कलाकारहरूबीच व्यक्तिगत, सामाजिक एवं सांस्कृतिक अनुभवहरूको जीवन्त आदानप्रदान हुन सकेको सन्दर्भमा मात्र सफल रहेको होइन, बरु सहभागी तमाम कलाकारहरूलाई सँगै छलफल गराउन र लैङ्गिक एवं अन्य सामाजिक–राजनीतिक मुद्दाहरूबारे वैचारिक कलासिर्जना गर्नका लागि प्रोत्साहित गर्नसमेत त्यत्तिकै प्रभावशाली रहेका छन् ।
यी कार्यशालाहरू सहभागी कलाकारहरूबीच एउटा सुदृढ सञ्जाल निर्माण गर्ने दिशामा पनि उत्तिकै उपलब्धिमूलक ठहरिएका छन् ।
अक्सर कलाकारहरू समकालीन कलाबारे कुरा गर्छन्, चर्चापरिचर्चा गर्छन्, अनि ‘वर्तमान समय’ को एक हिस्सा हुनु अर्थात् वर्तमानमा हुनु नै समकालीन कलाकार कहलिनका लागि पर्याप्त आधार भएको दावी गर्छन् । के यही नै सत्य हो त ? यदि कसैले पनि वर्तमान समय, परिस्थिति र वैचारिकताका कुनै एक पक्षलाई नै पनि आफ्नो सिर्जनामा प्रतिबिम्बित गर्न सक्दैन भने समकालीनताको अवधारणा फगत शब्दहरूमै हराउन पुग्दछ । प्राय: के महसुस गर्न सकिन्छ भने नेपाली कलाकारहरू आआफ्नै सीमित आराम–गृहहरूमा बसिरहन मन पराउँछन्, तर नयाँनयाँ चुनौति स्वीकार गर्दै अगाडि बढ्ने साहस नै देखाउँदैनन् । मलाई लाग्छ, कुनै पनि कार्यशाला त्यतिबेला मात्र सफल रहेको मानिनुपर्छ जतिखेर त्यस कार्यशालामा छलफल, तर्कवितर्क र विचारहरूको आदानप्रदान हुन्छ र जुन कार्यशालाले सहभागी कलाकारहरूलाई केही सोच्न प्रेरित गर्छ, केही सिर्जना गर्न घच्याघच्याउँछ र कुनै वैचारिक तहमा काम गर्नुपर्ने चुनौति प्रस्तुत गर्दछ ।
हालैको एक प्रसंग छ । एकजना लब्ध–प्रतिष्ठित नेता एवं पूर्व परराष्ट्रमन्त्री सहाना प्रधानले स्थानीय नेपाल एफएमलाई अन्तर्वार्ता दिंदै सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को सदस्य भएकोमा आफू लज्जित भएको विचार व्यक्त गर्नुभयो । उहाँलाई लज्जाबोध हुने कारण के थियो भने– उहाँले भन्नुभयो– नेपालमा महिलाका आवाजहरू विद्यमान पितृसत्तात्मक प्रणालीले गर्दा अक्सरजसो उपेक्षित हुन्छन् । उहाँ आफू आबद्ध रहेको नेकपा (एमाले) मात्र नभै अन्य सबै राजनीतिक दलहरूमा पनि महिला आवाजहरूलाई दबाइन्छ भन्दै उदेक मान्दै हुनुहुन्थ्यो । महिलाहरूको अवस्थामा परिवर्तन आउन सकेको छैन । साँचो कुरा हो, अहिले संविधानसभामा संख्यात्मक रूपमा हेर्दा महिला सभासदहरूको संख्या उल्लेखनीय देखिन्छ तर लैङ्गिक मुद्दाहरू र लोकतान्त्रिक अभ्यासका बारेमा सवालहरू उठाउनुपर्ने स्थिति आउँदा भने उनीहरूको आवाजको कुनै कदर हुँदैन, महिला आवाजहरूको जानाजान उपेक्षा गरिन्छ, कदाचित् त्यसो भएन भने पनि पुरूषवादी सोचले उनीहरूको आवाजलाई ओझेलमा पार्ने गरिन्छ ।
यस्तो परिस्थितिमा, जबकि राष्ट्रिय स्तरको कुनै वरिष्ठ नेताले महिलाहरूको सवालमा यस किसिमको दयनीय धारणा व्यक्त गर्न बाध्य हुनुपर्छ भने त्यस्तो अवस्थामा कुनै पनि व्यक्तिले मुलुकमा लोकतन्त्र छ भनेर कसरी गर्व गर्न मिल्छ ? अझ भनौं, लैङ्गिक समानताबिना लोकतन्त्रको अभ्यास कसरी अगाडि बढ्न सक्छ ? हाम्रो अपेक्षा के मात्र हो भने, हाम्रो परियोजनाले कला सक्रियता र लैङ्गिक सवालहरू भनेका समग्रमा के हुन् भन्ने विषयमा फरक किसिमले चेतनाको प्रवाह गर्नेछ । साथै, यो परियोजना कलाकार, विचार–निर्माता र अन्तत: सर्वसाधारणबीच फरक किसिमको बुझाइ एवं संवेदनशीलताको विकास गर्न उपयोगी ठहरिने छ ।
अझ खासगरी नेपाल, जहाँ नयाँ संविधान बनाउनका लागि गम्भीर छलफल चलिरहेको छ र त्यसको मस्यौदा निर्माणमा संलग्न व्यक्तिहरूलाई आम नागरिकबाट पाउन सकिने जति सल्लाहसुझावहरू लिनुपर्ने आवश्यकता छ, को सन्दर्भमा त यो झनै महत्वपूर्ण छ । कलाकारको रूपमा ‘आवाजहरू अब मौन छैनन्’ परियोजनाले अन्यको दाँजोमा बढी संयमित प्रतिक्रिया प्राप्त गर्ने पूर्ण सम्भावना छ । यही नै त्यो कारण हो जसले गर्दा हामीले कलाकारहरूलाई सामाजिक–राजनीतिक कलाकृति सिर्जना गरी त्यसमार्फत विद्यमान राजनीतिलाई चुनौति दिन सक्ने सवालहरूको उठान गर्न कला सक्रियतालाई आधार बनाएका छौं । यसै आधारमा हामी कलाकारहरूलाई स्थापित मान्यता र परम्पराहरूलाई हाँक दिन सक्ने सबैभन्दा उपयुक्त शैली वा माध्यम स्वयं उनीहरूकै सोचाइमा जे हुन सक्छ त्यसको ठहर गरी, आफैले त्यसरी रोजेको विधामार्फत समाजका आधारभूत समस्याहरूको उठान गर्न प्रोत्साहित गर्छौं, र आह्वान पनि गर्छौं ।

प्रतिक्रिया