चुनावअगावै होस गर्नुपर्ने पक्ष

Shyam-Adhikariमुलुकको यतिबेलाको चर्चा र चासोको विषय निर्वाचन नै हो । निर्वाचनका नकारात्मक र सकारात्मक दुवै सोचबाट आमनागरिकले यसप्रति चासो दर्शाएका छन् । म उहिल्यै मधेस झर्दा हामीले ठाढो मुख गरेर आँखा जुधाउन पनि डराउनुपर्ने एक सम्भ्रान्त परिवारका हालका ज्येष्ठ नागरिकले बडो दिक्क भावमा एक दिन फोन गरेर मलाई सोधे, हैन यो निर्वाचन कहिले हुन्छ र सन्तोषको सास फेरेर मर्न पाइएला पत्रकार महोदय ! मैले उल्टो प्रश्न गरेँ—किन तपाईं पनि निर्वाचन लडेर सांसद, मन्त्री हुने मौका छ कि कसो ? नत्र चुनाव भए पनि न भए पनि सरकारमा गए पनि, न गए पनि राज गर्ने त अहिले चल्तीमा रहेका यिनै पार्टीका नेता न हुन् ? अनि तपाईंलाई किन चासो लागेको यो निर्वाचनप्रति ? उनले मेरो प्रश्नको जवाफ दिँदै भने— चोरलाई चाबी जिम्मा दिन मलाई हतार भएको मात्र हो । देशमा धेरै अपराध बढिरहेका छन् । यस्तो भएपछि देश पनि लुटिएला र आफू पनि लुटिइएला र दु:ख पाइएला भन्ने चिन्ता लागेर चुनाव भए चोरलाई नै चाबी दिन पाइन्थ्यो र अलिक जिम्मेवार हुन्थे कि भन्ने लागेकाले सोधेको हुँ ।
मेरा अग्रज मित्रको यो चिन्ता वास्तवमा देशभरिका बुज्रुगहरूको चिन्ता हो । उनीहरूलाई देश र समाजमा बढ्दो अनिश्चितताले चिन्तित तुल्याएको छ कि कतै हाम्रा सन्तान देशविनाका प्यालेस्टिनजस्ता नबनुन् । कतै हामीले कुर्दहरूलेजस्तो आºनो देश खोज्दा अन्य थुप्रै देशसँग शत्रुता मोल्न नपरोस् । अपराध अहिलेजस्तै बढ्दै गएर व्यापार व्यवसायबाट कमाइ गर्नै नसक्ने र गरिहाले पनि आºनो, परिवार र सम्पत्तिको सुरक्षा गर्नै नसक्ने नबनुन् नयाँ पुस्ता ।
नभन्दै अहिलेको परिवेशमा देश र समाजप्रति कुनै पनि राजनीतिक नेता, शासनारुढ पदाधिकारी, राजनीतिक कार्यकर्ता सामाजिक संघसंस्थाका पदाधिकारी, पेसेवर संगठनबाट नेता बनेकाहरू कसैले पनि देशको अवस्थातिर ध्यान दिएर संवेदनशीलता दर्शाएको पाइँदैन । सबैलाई एउटै कुराको ध्यान छ, त्यो हो शत्रुलाई जित्ने । वर्गसंघर्ष र वर्गयुद्धबाट शान्तिपूर्ण प्रतिस्पद्र्धात्मक राजनीतिमा ओर्लेको माओवादीले नेपाली समाज र नेपाल राष्ट्रलाई यो भावनाको विकासचाहिँ राम्रैसँग गराएको महसुस हुन्छ । माथि उल्लेख भएका प्रत्येक सामाजिक व्यक्तिहरू एकअर्काप्रति ईष्र्या, द्वेष, घृणाले ओतप्रोत भएका छन् । तिनले सबैभन्दा ठूलो दुस्मन देशभित्रका, आºनै समाज र परिवेशका, अर्को पार्टी र संघसंस्थाका व्यक्तिलाई देख्ने गरेका छन् । वर्गयुद्ध, वर्गसंघर्ष र वर्गीय हत्याका विगतको घटनाका पृष्ठभूमिमा विकसित भएको यो भावनाले प्रतिशोधको राजनीतिको चरम रूप यतिबेला देशमा देख्न पाइन्छ । राजनीतिक पार्टीका नेता यस्ता मामिलामा अगाडि हुने नै भए तर तीभन्दा पनि एक हात अगाडि आफूलाई बुद्धिजीवी भन्ने पश्चिमको बुर्जुवा संघसंस्थाको रकम खाएर आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित भएको मान्ने केही नकचरा बिकाउ मान्छे र लैंगिक र जातीय पहिचान आदि नामबाट विदेशी पैसाबाट मोजमस्ती गरिरहेका बज्रस्वाँठहरू पनि यो देश बिगार्नमा सक्रिय भएका छन् । यिनलाई हाम्रा वादविवादले लोकतन्त्र बलियो भएको छ भन्ने भ्रम अरूले छर्न लगाएका छन् अनि देशको राजनीतिक शक्तिकेन्द्र जसले हत्याउँदै गएको छ त्यताबाट मानिसको ध्यान अन्यत्र मोड्ने खेलमा यिनलाई लगाइएको छ ।
यहाँ कसलाई चाहिएको छ लोकतन्त्र र राष्ट्रियता ? यहाँ त शक्तिकेन्द्रले जता नाच भन्यो त्यतै नाच्ने बाँदर, भालुजस्तो एकअर्कोविरुद्ध प्रतिशोधको युद्ध लडिन्छ दिनहुँ । दुस्मनले जे भन्छ त्यो सही गलत जेसुकै होस्, त्यसको उल्टो हुइँयाँ चलाउनु यी बाँदर,भालुको काम बनेको छ । किनभने जसलाई नेपालको शक्तिकेन्द्र हत्याउनु छ उसले नेपालविरुद्ध पहिलेदेखि गर्दे आएका सशस्त्र र नि:शस्त्र ‘एटेक’को ‘काउन्टर एटेक’ हुन नदिन उसले नेपालमा दुईवटा मात्र काम गरे पुग्छ भन्ठानेको छ । ती दुई काम हुन्—देशभित्रका शक्तिलाई शान्तिपूर्ण होस् वा सशस्त्र जुनसुकै रूपबाट भए पनि लडाइराख्नु । साम, दाम, दण्ड, भेदमा कसैलाई सत्ताको लोभ देखाउनु, कसैलाई धनको लोभ देखाउनु, कसैलाई आक्रोशित तुल्याउनु त आवश्यक परे कतिपयलाई हतियार तालिम दिएर अघि सार्नु । तर, कसैलाई पनि स्थिर रूपमा मित्रता र दिएका सुविधा नदिनु । यसरी परस्पर जुधाएर शक्तिहरूलाई कमजोर पार्न सकिन्छ । शक्तिकेन्द्र हत्याउने रणनीतिको अर्को काम हो, नेपाललाई आर्थिक रूपले कहिल्यै बलियो हुन नदिनु । त्यसै पनि राजनीतिक अस्थिरता पैदा गरिदिएपछि देश आर्थिक रूपले कमजोर त भइहाल्छ त्यसबाहेक पनि व्यवसायीलाई समेत भुलभुलैयामा राखेर आर्थिक रूपले कमजोर तुल्याउनु उसको रणनीतिमै पर्छ ।
नेपालको शक्तिकेन्द्र हत्याउने त्यो शक्तिको घनचक्करमा हाम्रो देशका राजा र राजपरिवार पनि परे । क्रान्तिको नेतृत्व गर्ने हुँ भन्ने प्रचण्डजीहरू पनि परे । देशको सच्चा पहरेदार हुनुपर्ने सुरक्षा कमान्डरहरू पनि परे । अरु ठिनेमिने र आफूलाई पहिल्यै लिलाम गर्न लाइन लागेर बसेका बुद्धिजीवी र पार्टी नेताका के कुरा गर्ने ? पहिले एकदम शुभचिन्तक र विश्वासपात्र सल्लाहकार बन्ने अथवा सल्लाहकारलाई नै किन्ने र पछि फनक्क अर्कातिर फर्केर पछारिदिने, यो रणनीति देशमा धेरै दिनदेखि चल्दै आएको छ । पहिले ज्वाइँ बनाइएर भुइँमा न भाँडमा भएका पारस शाह आज देशमा सुरक्षा नपाएर विदेशमा लुक्दै हिँड्नुपरेको छ किन ? किन बाबु राजाले समय–समयमा दिल्लीमा गएर आँसु झार्दै मेरो के गल्ती भयो भन्नुपरेको छ ? किन हतियार बुझाइसकेपछि प्रचण्डलाई मझधारमा छाडेर मोहन वैद्यजी बल्ल राष्ट्रिय स्वाधीनताका लागि जनता मोटरसाइकल र पसलमा आगो लगाउँदै हिँड्न थाल्नुभएको छ ?
सबै प्रश्नको उत्तर खोतल्दै जाने हो भने देशभित्रका अहिलेका राजनीतिक शक्तिको भूमिका वा द्वन्द्व उनीहरूको आºनो नभएर अरुको हितमा केन्द्रित भएको फेला पर्छ । यहाँ प्रचण्ड र कांग्रेस, एमालेको कुरा मात्र होइन, मोहन वैद्य र पूर्वराजा ज्ञानेन्न्द्रका प्रयास पनि त्यो शक्तिकेन्द्रका हितमा चोट पुर्‍याउने दिशामा जान सकेका छैनन् । दंग्याउने, भाउ खोज्ने शैली मात्र फरक देखिन आएका छन् । देशभित्रका एजेन्डामा समेत बाह्य शक्तिकेन्द्रकै अगुवाइ देख्न पाइन्छ । संविधानसभाको चुनाव होस् या संविधान निर्माणको प्रश्न, संवैधानिक राजतन्त्र या राजतन्त्रसहितको प्रजातन्त्र वा संघीय गणतन्त्र नेपाल निर्माणको प्रश्न सबै एजेन्डा उही शक्तिकेन्द्रका विकल्प बन्न पुगेका छन् । कुन एजेन्डालाई कहिले अगाडि ल्याएको खण्डमा उपयुक्त हुन्छ त्यसको निर्णय गर्न थालेको छ । यसरी बाह्यशक्तिकेन्द्रको खेललाई सर्वसाधारण आºनै लागि अघि सारिएको ठान्छन् भने राजनीतिक पार्टीका नेता तिनको गोटी बन्न पुग्छन् । आºना एजेन्डा अघि सारिएका बेला उसको समर्थन हुनासाथ उसलाई मित्र मान्ने र अरुको एजेन्डा आएमा विरोधी ठानेर राष्ट्रिय स्वाधीनतको सम्झना आउने परम्पराभित्र मोहन वैद्य र ज्ञानेन्द्र पनि अटाएका छन् भने अरूको के कुरा ?

प्रतिक्रिया