भद्रगोल नेपाली कांग्रेस

मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएपछि गतिशील बनेको नेपाली कांग्रेस आफैँभित्रको किचलोले गर्दा भद्रगोल अवस्था भोग्दै छ । विभिन्न स्थान, भेला, बैठक र छलफलमा निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै आएको कांग्रेस संसदीय समिति गठन गर्न नसकेर थलिनु दुर्भाग्य नै हो । वास्तवमा कांग्रेसले निर्वाचनमा निकै राम्रो प्रगति गर्ने ठानिएको थियो । पुरानो र ऐतिहासिक पृष्ठभूमि भएको नेपाली कांग्रेसले ठुल्ठूला गल्ती गरे पनि लोकतान्त्रिक पार्टी भएकाले यसप्रति जनताको माया बढी नै छ । तर, नेपाली कांग्रेसले राष्ट्रको अवस्था र जनअपेक्षालाई मुख्य विषय बनाउन सकेको पाइँदैन । यस दलले आन्तरिक कलह मिलाउन धेरै समय खर्चिरहेको अवस्था छ । जसले गर्दा मुलुकमा देखा परेका जल्दाबल्दा समस्याभन्दा पनि कांग्रेसका लागि आफ्नै समस्या ठूलो बन्दै गएको छ । अहिले निर्वाचनका लागि उम्मेदवारले निर्वाचन आयोगमा नाम दर्ता गर्ने समय आइसक्दासमेत कांग्रेसले उम्मेदवार छान्ने संसदीय समितिसमेत गठन गर्न धेरै ढिला गर्‍यो । बल्लतल्ल कार्यसमितिको बैठक बसेर समिति बनायो । तर, यो पार्टी नेपाली कांग्रेस हुन नसकेर सुशील र देउवा कांग्रेस हुन पुगेको छ । सोमबारसम्म संसदीय समिति निर्माणमा सुशीलको बन्ने कि देउवाको बन्ने भन्ने विवादले उग्ररूप लिएको थियो । सोमबार संसदीय समिति बनेर उम्मेदवार छनोट गर्ने प्रक्रिया अगाडि बढाउने सोच बनाएको पाइन्छ । तर, विवाद भने सेलाएको पाइँदैन । जसले गर्दा विवादकै कारण निर्वाचनमा चरम अन्तरघात नहोला भन्न सकिँदैन ।
संसदीय समितिमा दुई गुटका नेताले आफ्नो वर्चस्व हुनुपर्ने अडान लिएपछि कांग्रेसमा भद्रगोलको स्थिति संग्रालिएको हो । संस्थापन पक्ष र देउवा पक्षबीच एकता भएको र पार्टी एकढिक्का भएको प्रचार गरिए पनि संवेदनशील समयमा त्यस दलभित्र नराम्रोसँग घरझगडा हुने परम्परा तोडिएको छैन । समितिको विवाद पनि अति संवेदनशील समयमा उठेको विवाद हो । भागबन्डाको झगडाले गर्दा कांग्रेसका कार्यकर्ता निराश र आक्रोशित देखिएपछि नेता मिल्न बाध्य भएको पाइयो । वास्तवमा नेपाली कांग्रेसको वर्तमान नेतृत्वले क्षमता देखाउन सकेन । गिरिजाप्रसाद कोइरालाले योग्य र सक्षम उत्तराधिकारी उत्पादन गर्न सकेनन् र हुन दिएनन् । जसले गर्दा अहिलेको नेतृत्व कामचलाउका रूपमा नेपाली कांग्रेसले व्यहोर्नुपरेको अवस्था देखिन्छ । यति सामान्य विवादमा यो दलमा यति ठूलो भाँडभैलो हुन्छ भने यसले मुलुक हाँक्ने जिम्मेवारी वहन गर्न सक्छ भन्ने कल्पना गर्न सकिँदैन । यदि निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल बनेर सत्ता सम्हाल्ने अवस्था आएमा यही खालको विवादले यो पार्टी विभाजन हुँदैन भन्न पनि सकिने अवस्था छैन ।
नेपाली कांग्रेसले विभिन्नखाले आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । केही राम्रो काम पनि गर्न खोजेको हो । तर, जहिले पनि अन्तरकलहले यसलाई नराम्रोसँग भड्खालोमा हाल्ने गरेको छ । चौहत्तरे र छत्तीसे काण्ड मात्र होइन, देउवा काण्डले पनि नेपाली कांग्रेसको बिजोग बनाएको इतिहास छ । अहिले पनि यो पार्टीमा एकता देखिएन । उम्मेदवार छनोट प्रक्रिया सकेर गाउँ–गाउँ र घर–घरमा पुग्नुपर्ने कांग्रेस सुशील र देउवा कोटरीमा गुडुल्किरहेको छ । अब समय सकिनै लाग्दा केन्द्रीय समितिको बैठक बोलाएर विवाद टुंग्याउने र समिति गठन गर्ने कार्य सम्पन्न गरेको छ । ढिलै भए पनि समिति बनाउन कांग्रेसले सक्नु नै अहिलेलाई सफलता मान्नुपर्ने भएको छ । दुई जना नेता एकै थलोमा बसेर वर्ताद्वारा पहिल्यै समस्या समाधान गर्न नसक्ने नेतृत्व वास्तवमा काम लाग्दैन । अब निर्वाचनतर्फ जानेभन्दा पनि समितिको बैठकतर्फ लाग्ने मनसाय कांग्रेसले लिएको पाइन्छ । सायद उम्मेदवार छनोटमा यो विवाद झन् चुलिन सक्छ ।

प्रतिक्रिया