रेग्मी भोलि न्युयोर्क जाँदै

काठमाडौं : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको ६८औँ महासभामा भाग लिन बिहीबार न्युयोर्क जाने भएका छन् ।
अध्यक्ष रेग्मी महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन् । रेग्मीले १२ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । रेग्मी १३ गते न्युयोर्कबाट फर्किने र १५ गते स्वदेश आइपुग्ने कार्यक्रम तय भएको छ ।
रेग्मीका साथ उनकी पत्नी, शिष्टाचार महापाल, सुरक्षाकर्मी न्युयोर्क जाने भएका छन् । परराष्ट्रसचिव अर्जुनबहादुर थापा, परराष्ट्रकै संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख दीपक धिताल र महाशाखाका उपसचिव विष्णु गौतम यसअघि नै न्युयोर्कतर्फ लागिसकेका छन् । प्रतिनिधिमण्डलमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई पनि सामेल छन् । (सौस)

प्रतिक्रिया