चुनावको मिति सार्ने सम्भावना

जतिजति चुनावको मिति नजिकिँदै छ, त्यतित्यति चुनाव हँदैन कि भन्ने बेग्लै प्रकारको शंका उत्पन्न हुँदै छ । र, चुनाव हुन नदिने भित्री खेलमा एमाओवादी निर्लिप्त भएर लागेको आरोप पनि लाग्न थालेको छ । वास्तवमा एमाओवादीको पछिल्लो कार्यले शंका गर्ने ठाउँ पनि उपलब्ध गराएको छ । निर्वाचनका लागि एक महिने जनसम्बन्ध कार्यक्रम सम्पन्न गरेको एमाओवादीले निर्वाचन क्षेत्रमा आफ्नो अवस्था बुझ्न कार्यकर्ता र नेता पठाएको थियो । त्यो कार्यक्रमबाट प्राप्त वास्तविकता एमाओवादीका शीर्ष नेतृत्वका लागि निकै निराशाजनक हुनु स्वाभाविकै हो । जनसम्बन्धपछि जिल्ला–जिल्लाबाट जेजस्ता वस्तुगत तथ्य प्रस्तुत भए त्यसको अध्ययन गर्दा हालत निकै खच्किएको थाहा भयो । केन्द्रीय नेतादेखि जिल्ला नेतासम्मले नेताका आर्थिक, सामाजिक र राजनीतिक रूपले वर्ग स्वरूप फेरिएको सवाल जनताले गम्भीर रूपमा उठाए । वास्तविकता साँच्चै छक्क पर्ने गरी अगाडि आयो । अब एमाओवादीलाई चुनावी राजनीति गर्न निकै गाह्रो हुने गुह्य यथार्थ शीर्ष नेताले बुझे । जसले गर्दा मंसिर ४ गते गर्ने भनिएको निर्वाचन सार्न एमाओवादी अग्रसर हुनुपर्ने अवस्था देखिएको छ । आफ्नो स्थिति खच्किने अवस्थामा चुनावको मिति सार्नु वा हुन नदिनु अस्वाभाविक होइन । त्यसमा पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जे बोल्यो त्यो पुग्दै आएको अवस्था छ । उनले कुनै जुक्ति झिकेर निर्वाचनको मिति सार्ने र असन्तुष्ट दललाई मिलाउने निर्णय गर्न सक्छन् । यसलाई नेपाली कांग्रेस र एमाले जस्ता पछुवाले पछ्याउने छन् ।
एमाओवादी अहिले निकै कम्जोर छ । त्यसको मुख्य कारण हो पार्टी विभाजन । जसले जतिसुकै भने पनि पार्टी फुटको मनोवैज्ञानिक असर निकै तलसम्म पुगेको छ । बाँके, झापा, रोल्पा, संखुवासभाजस्ता जिल्लामा राम्रो पकड जमाउन सफल एमाओवादी अब धेरै तल छ भने अन्य जिल्ला र क्षेत्रको अवस्था पनि पहिलाको जस्तो उत्साहजनक छैन । राजनीतिक विश्लेषक भन्छन्, यिनै कारणले गर्दा एमाओवादीका नेता मोहन वैद्यसँग मिलेर मात्र चुनावमा जाने पक्षमा छन् । भरसक पार्टी एकीकरण नभए चुनावी मोर्चा भनेर अध्यक्ष दाहालले बारम्बार भन्नुको कारण पनि यही हो । ‘जनयुद्ध’ को धङधङी विस्तारै खुइलिँदै गएको छ । १० वर्ष अग्रिम मोर्चामा रहेर खटेका, आफूले त्यो त्याग र बलिदान केका लागि गरेको थिएँ भनेर खोज्दै छन् । अथाहा सम्पत्तिका मालिक बनेका आफ्ना नेतालाई कसरी त्यो सम्पत्ति प्राप्त भयो भनेर पनि अध्ययन गर्दै छन् । आफूसँगै ‘युद्ध’ लडेका कमान्डरको जीवनशैली पनि नजिकबाट नियाल्दै छन् । कार्यकर्ता माझ एमाओवादी निकैचाँडो अविश्वासिलो पार्टी बन्न पुग्यो । पहिलाको क्रान्तिकारी उत्साह, दबदबा, हिम्मत, जोस– जाँगर र आकर्षण नरहेको अवस्थामा एमाओवादी पुगेको छ । पार्टी विभाजन, बिप्पा सम्झौता, विभिन्न कान्ड, पार्टी भित्रैको भ्रष्टाचार र नवआगन्तुकको बोलवालाले पनि एमाओवादीका असल कार्यकर्तालाई चोट पुर्‍याएको छ । यी सबै कुरा बुझेको एमाओवादी नेतृत्व आफ्नो अनुकूल अवस्थमा मात्र चुनाव गर्ने बहाना खोज्दै छ । सायद ऊ सफल हुनेछ ।
नेपाली कांग्रेस र एमालेका अधिकांश नेताले चुनाव नचाहने तत्व वैद्य होइन, एमाओवादी हो भनेर विश्लेषण गर्न थालेका छन् । उनीहरूको आशंकालाई एमाओवादीका गतिविधिले पनि पुष्टि गर्दै लगेको छ । एमाओवादीले चुनावका लागि एक महिने जनसम्बन्ध कार्यक्रमपछि अन्य कार्य खासै गरेको छैन । जिल्लाबाट उम्मेदवार छनोट गरेर पठाएको नामावली पनि दोस्रोपटक पुन: जिल्लातिरै फर्काइदिएको छ । कार्यकर्तालाई हतार नगर्न र समानुपातिकतर्फको ९० सिट जगडा राख्न पनि निर्देशन दिएको छ । अर्थात् चुनावको मिति पछि धकेल्न नसके वैद्य खेमालाई ९० सिट दिएर पनि भित्र्याउने मनसाय राखेको बुझिन्छ । यता वैद्य पक्षले पनि आफूलाई निर्वाचनमा सहभागी हुन नदिएर अरूले नै चुनाव भाँड्ने र संविधान नबनाउने खेलखेलेको अभिव्यक्ति दिइरहेको छ । यसरी सबै पक्षलाई हेर्दा एमाओवादीले चुनाव सार्ने अन्तिम अस्त्र प्रयोग गर्ने देखिन्छ ।

प्रतिक्रिया