निर्वाचन दुई दिन ढिलो

काठमाडौ, ८ असोज । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि सोमबार साँझबाट मतदान सुरु भएको छ । शनिबार नै सक्नुपर्ने महाधिवेशन गुटगत प्यानललाई सेटिङ मिलाउने क्रममा लम्बिएर सोमबार मध्यरातमा मात्र मतदान सुरु भएको छ ।

गुटगत प्यानलमा उम्मेदवारी मनोनयन दर्ता गराएकालाई समेट्नका लागि मतदान लम्ब्याइएको थियो । आइतबार दिउँसो उम्मेदवारले मनोनयन दर्ता गराए पनि प्यानल मिलाउनका लागि समय दिएर सोमबार साझबाट मात्र मतदान प्रक्रिया सुरु गरिएको छ । सोमबार महाधिवेशन भएको ५औँ दिन साँझबाट मात्र मतदान प्रक्रिया सुरु गरिएको छ । निर्वाचन समितिले विभिन्न १८ वटा मतदान केन्द्रमा मतदान गर्ने भएको छ । मतदान सकिएपछि मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवार नवराज पौडेलले उम्मेदवारी फिर्ता लिएपछि लक्ष्मण लम्साल र किशोरविक्रम मल्ल प्यानलबीच कडाप्रतिस्पर्धा हुने भएको छ । पौडेलले मल्ललाई समर्थन गदै आफ्ना प्यानलमा रहेका विद्यार्थीलाई मल्लको टिममा सामेल गराएपछि समर्थन गरेका हुन् ।
पौडेलको समूहबाट सचिव पदमा उम्मेदवारी दिएका सरोज यादवलाई मल्लले सुखीलाल चौधरीको ठाउँमा र महेश पन्त, विनोद खनाल, किशोर खनाल र सुनीता बराललाई सचिवालय सदस्यमा राख्ने भएपछि सहमति भएको हो । बराल भने विश्वविद्यालय तर्फबाट सचिवालय सदस्यमा निर्विरोध भएकी छन् । तर, पौडेल प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवार दिएका सिपी घर्ती र राजकुमार राईले भने फिर्ता लिएका छैनन् । पौडेल प्यानलका महासचिवका उम्मेदवार चिरिञ्जीवी पौडेलले पनि फिर्ता लिएका छन् ।
लम्साललाई पार्टी अध्यक्ष झलनाथ खनाल, मल्ललाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओलीको लाइन समातेका छन् ।
लम्साल समूहबाट महासचिवमा नवीना लामा र मल्ल समूहबाट रचना खड्का रहेका छन् भने लम्साल टिमबाट उपाध्यक्षमा थोमस बाँस्तोला, दीपक गौतम र ध्रुव राई छन् । मल्लबाट उपाध्यक्षमा बचन सिंह, सरोज यादव र ऐन महरले दर्ता गरेका छन् । लम्साल समूहमा सचिवमा खुलातर्फ कमल बस्नेत, अब्दुल हुसेन खा, महिलातर्फ राधिका खतिवडा, जनजातिमा भक्तकुमारी लामा, मधेसीमा जहवारीलाल अन्सारी र कोषाध्यक्षमा गुणराज आचार्य छन् । लेखा आयोगको अध्यक्षमा नीलकण्ठ आचार्य र अनुशासन आयोगका अध्यक्ष मेनका पछाईंले छन् ।
मल्ल समूहबाट सचिवमा खुलातर्फ महेश गतौला र बाबुराम पन्थी, मधेशी कोटामा सरोज यादव, महिलामा दीपा शर्मा र जनजातिबाट विवेक श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । मल्ल समूहबाट कोषाध्यक्षमा रश्मी आचार्य, अनुशासन आयोगमा जीवन राई र लेखा परीक्षकमा दिलीप न्यौपाने चुनावी मैदानमा छन् ।
उम्मेदवारी दर्तापछि कार्यक्रम स्थलवरिपरि बाजासहित चुनावी प्रसारमा उम्मेदवारहरू लागेका देखिन्थे । उनीहरू पर्चा पम्पलेटसहित आफ्नो प्यानलका उम्मेदवारहरूलाई जिताउन शनिबारबाटै प्रचारप्रसार थालेका छन् । सोमबार बिहानैबाट समर्थकहरू आ–आफ्नो प्यानललाई जिताउन प्रचारप्रसार गरिरहेका थिए ।
मतदान प्रक्रियाबाट १ हजार ४ सय २१ प्रतिनिधिले ११ पदाधिकारीसहित ४५ सचिवालय सदस्य र १ सय ३५ केन्द्रीय सदस्य चयन हुनेछ ।

महाधिवेशन लम्बिँदा प्रतिनिधिको बिचल्ली
अनेरास्ववियुको महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरू बिचल्लीमा परेका छन् ।
प्रतिनिधिहरूलाई खाना र बस्नमा पनि समस्या परेको छ । आयोजक कमिटीले शनिबारसम्म मात्र खानबस्नको व्यवस्था गरे पनि आइतबारदेखि गरेको छैन । जसका कारण उनीहरूलाई खाना र बस्नका लागि समस्या परेको हो । प्रतिनिधिहरू कहिले कता बस्ने त कहिले कता बसिरहेका छन् । खानबस्नको व्यवस्था नगरेपछि कतिपय प्रतिनिधि भने घरतर्फ लागेका छन् ।
बाँकेबाट आएका प्रतिनिधि सूर्य रोकायाले गुटउपगुटका कारण अनावश्यक महाधिवेशनलाई लम्ब्याउँदा खानाबस्नको समस्या परेको बताए । आइतबारदेखि आयोजकले खानाबस्नको व्यवस्था नगरेकाले समस्या परेको जानकारी गराए । ‘खानबस्नका लागि जिल्लाबाट ल्याएको दायित्व शुल्क बुझाएका थियौँ तर हामीलाई शनिबारदेखि यता कुनै व्यवस्था छैन,’ उनले भने, ‘कहिले कहाँ बसेका छौँ त कहिले कहाँ । खानेबस्नेको कुनै ठेगान छैन ।’ रोकायले ९० हजार महाधिवेशनका लागि आयोजक कमिटीलाई दायित्व बुझाएका थिए ।
आफूसँग भएको पैसा पनि सकिएपछि प्रतिनिधिहरूले एक छाक खाएका छन् । उनीहरूलाई आयोजकले अहिलेसम्म ३ छाक मात्र खाना खुवाएको बताए । पर्वतबाट आएका लकाश सुवेदीले महाधिवेशन लम्बिँदा आयोजकले आफूहरूलाई कुनै व्यवस्था नगरेको बताए । ‘अहिलेसम्म ३ छाक मात्र खाना खुवाएको छ । शनिबारबाट त बस्नका लागि समस्या भएको छ,’ उनले भने, ‘कहिले कसकहाँ त कहिले कसकहाँ गएर बसिरहेका छौँ ।’
। महाधिवेशन अनावश्यक रूपमा लम्ब्याएपछि आक्रोशित प्रतिनिधिले कार्यक्रम स्थलवरिपरि निर्वाचन र आयोजक कमिटीविरुद्ध नाराजुलुससमेत गरेका थिए । उनीहरूले तुरुन्तै निर्वाचन प्रक्रिया सुरु गर्न र आयोजकलाई खानाबस्नको व्यवस्था गर्न माग गर्दै नाराजुलुस गरेका थिए । नाराजुलुसका क्रममा प्रतिनिधि र प्रहरीबीच झडपसमेत भएको थियो ।
कञ्चनपुरबाट प्रतिनिधि भएर आएका विमल विकले आइतबारदेखि आयोजकले बेवास्ता गर्दा एक छाक खाना खाएको बताए । कतिपय प्रतिनिधि विद्यार्थीको बुधबार परीक्षा परेकाले पनि घरतर्फ लागेका छन् । स्नातक पहिलो वर्षको परीक्षा बुधबार सुरु हँुदै छ । सोमबार दिउँसोसम्म पनि मतदान सुरु नभएपछि उनीहरू घरतर्फ लागेका हुन् । निर्वाचन समितिले सोमबार साँझबाट मतदान सुरु गरेको छ ।

प्रतिक्रिया