सडकबाटै संविधान बन्छ : वैद्य

Mohan-Baidhyaकाठमाडौं, ८ असोज । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले अब संघर्षसँगै सडकबाट संविधान जारी गर्ने घोषणा गरेका छन् । राजधानीको खुल्लामञ्चमा सोमबार ३३ दलले विरोधसभाको आयोजना गरेर आफूहरूलाई अलग्गाएर यथास्थितिमै संविधानसभाको निर्वाचन गरिए सशक्त आन्दोलनसँगै सडकबाटै संविधान जारी गर्ने उद्घोष गरेका छन् ।

अध्यक्ष बैद्यले आफ्नो पार्टी चुनावमा आउन चाहे पनि विदेशीले रोकेको दाबी गरे । उनले एक हातमा बहिष्कारको आन्दोलन र अर्काे हातमा वार्ताको ढोका खुला राखेको बताए । अहिलेको निकास भनेको वार्ता नै हो’ वैद्यले भने, ‘नेताहरूमा अलिकति बुद्धि छ भने वार्तामा आउन, वार्ताका लागि अझै पनि स्वागत छ । हामी चुनावमा जान्छौँ नै भनेका हौँ,’ विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘वैदेशिक प्रतिक्रियावादीको निर्देशनमा सहमति भाँडियो ।’
सभामा चार दलप्रति खनिएका वैद्यले आफूहरूमाथि षड्यन्त्र रचिएको समेत जनाए । आफूहरू चुनावमा आउँदा हार्छौँ भनेर एमाओवादीले यिनीहरू लडाइँका लागि हतियार सञ्चय गर्न मात्र मिति सार्न लागेका हुन्, निर्वाचनमा आउँदैन भनेर कुप्रचार गरेको आरोप लगाए । उनले एमाले र कांग्रेसले पनि आफूहरू निर्वाचनमा आउँदा एमाओवादीसँग मिलेर आफूहरूलाई सखाप पार्छन् भन्ने सोचेर बाइपास गरेरै जान खोजेको गुनासोसमेत पोखे ।
वैद्यले पञ्चायत, प्रजातन्त्र, लोकतन्त्रका साथै संविधानसभाका लागि पनि नेपाली जनताले रगत बगाएको भन्दै आफूहरूलाई बाइपास गरेर संविधान बनाए आगो लगाउने चेतावनीसमेत दिए ।
चार दलका नेताप्रति रोष व्यक्त गर्दै अध्यक्ष वैद्यले भने, ‘चुनाव पनि गर्न नसक्ने, एक जना सरकारी कर्मचारीलाई प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर बिन्ती हाल्ने चार दलका नेताको औचित्य छैन, उनीहरूको अस्तित्व पनि सकिसक्यो’ उनले भने, ‘जोगी भएर कमन्डलु भिरेर हिँडे हुन्छ, किन राजनीति गर्नुहुन्छ ?’
चार दलीय सिन्डिकेटले विदेशीसामु नेपाललाई बुझाउन चाहेको भन्दै चार दलका नेताहरूलाई वैद्यले नेपाली लेन्डुपदोर्जेको संज्ञा पनि दिए । सम्बोधनका क्रममा उनले राष्ट्रपतिसमेत विदेशीसँग झुकेको पनि उल्लेख गरे । ‘संवैधानिक हैसियतमा रहेका राष्ट्रपतिमाथि हाम्रो थोरै भए पनि विश्वास थियो,’ वैद्यले भने, ‘राष्ट्रपतिज्यू पनि गल्नुभयो, राष्ट्रपति पनि विस्तारवादका सामु चुक्नुभयो ।’
पश्चगामी र अग्रगामी दुई ध्रुवमा देश रहेको बताउँदै बैद्यले आफूहरूले परिवर्तनको पक्षमा अग्रगामी धु्रवको नेतृत्व गरिरहेको भन्दै वैद्यले अबको लडाइँ सेना तथा प्रहरीसँग नभई राष्ट्रियता गुमाइसकेका चार दल र विस्तारवादविरुद्ध रहेको बताए । उक्त लडाईमा सेना प्रहरीले पनि परिवर्तनको पक्षमा लड्नेलाई साथ दिनुपर्ने पनि उनले बताए ।
कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्यसमेत रहेकी पार्टी प्रवक्ता पम्फा भुसालले चार दलले निर्वाचनको मिति निकासका लागि भन्दा पनि राष्ट्रियता, स्वाधीनता सखाप पार्ने उद्देश्यले मात्रै तोकेको बताइन् । अन्तरिम संविधानलाई खोस्टो बनाएर गरिने कुनै पनि काम नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै उनले त्यसलाई नेपाली सेनाले पनि साथ नदिने बताइन् ।
नेकपा (एकीकृत)का महासचिव परी थापाले आफ्नो आन्दोलन रहरले मात्रै नभएर राष्ट्रियताको रक्षाका लागि भएको बताए । संविधानसभालाई वर्षदिनमा गरिने सत्यनारायाणको पूजाजस्तो नसोच्न उनले दलहरूलाई चेतावनीसमेत दिए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले राष्ट्रिय सहमति नबने संविधानसभाको ढोका नै खुल्न नसक्ने जनाए । कसैलाई बेवास्ता गरेर निर्वाचन गरिए निकासको सट्टा दोस्रो जनयुद्ध जन्मने उनको भनाइ छ ।
कार्यक्रममा संघीय लिम्बुवान् सम्बद्ध मञ्चका खगेन्द्र माखिमले टेबुलबाट सहमति नदेख्ने नेताहरूका लागि एउटै विकल्प सशक्त आन्दोलन भएको भन्दै निर्वाचन ध्वस्तै पार्ने चेतावनी दिए । यथास्थितिमा निर्वाचन गरिए दोस्रो जनयुद्ध पनि सुरु हुनसक्ने बताउँदै उनले हिम्मत भए अहिले नै पक्राउ गर्न र गोली हान्न चेतावनीसमेत दिए ।

प्रतिक्रिया