बाजुरामा हलियाको जीवन कष्टकर बन्दै

Halo-Jote-Koबाजुरा, ८  असोज । वर्षैदेखि साहुको हलो जोत्दै आएका जिल्लाका हलियाहरूको जीवन दिनानुदिन  कष्टकर बन्दै गइरहेको  छ ।

साहुले पुस्तौदेखि कामदारका रूपमा राखेका हलिया शोषण, दमन र विभेदका कारण अन्यायमा परेका हुन् । दलित हलियाले आफ्नो कामको उचितज्यालासम्म नपाउँदा जीवन गुजारा गर्नसमेत हम्मेहम्मे भएको उनीहरूको भनाइ छ ।
उनीहरूलाई दिनरात काम गरे पनि दुई छाक खान धौधौ हुने गरेको छ । दैनिक गुजाराका लागि समेत साहुसँग ऋण माग्नु पर्ने अवस्था छ । बाँधु–७ का धने सार्कीको पीडा पनि यस्तै छ । उनी दैनिक ऋण काटेर घरधन्दा चलाउने गरेको बताउँछन् । सार्की जस्तै बाजुरामा धेरै हलियाहरूको हालत पनि उस्तै छ । आफूले लिएको ऋण तिर्न नसकेपछि बाध्यताले उनीहरू साहु कहाँ हलिया बस्नु सिवाय अरू विकल्प नभएको उनीहरूको दु:खेसो छ । हलो जोत्न छोडे जीवन झनै कष्टकर भन्ने डरले पनि हलिया जीवन बिताउन बाध्य छन् ।
जातीयता सवाल देशमै प्रधान भई छुवाछुत मुक्त राष्ट्र घोषणा भइसक्दा पनि जिल्लामा अझै अन्यायमा बाँच्नु परेको र साहुहरूले काम गरे वाफत ज्याला नदिने गरेको उनीहरूको गुनासो छ । आफूहरू दलित हुँदाको पीडा सदियौँदेखि भोग्नु परेको र आफ्ना सवाललाई कसैले चासो नदेखाएको उनीहरूको आरोप छ । साहुको हलोजोतेर जीवन चलाइ रहेका हलियाहरूलाई उचित ज्याला नदिँदा उनीहरूको यस्तो दैनिकी भएको हो । बाजुरा जिल्लामा हलो जोतेर घरपरिवार चलाउने दलित हलियालाई काम गरे बापत दाम नमिलेपछि के खाने र कहाँ जाने भन्ने अन्योलतामा जीवन चलाउनु परेको छ ।
दिनभर साहुको हलो जोतेर बिहान बेलुकी मानापाथी ल्याएर घरपरिवार पाल्ने र केटाकेटीहरूलाई विद्यालय पठाउने गरे पनि दिनानु दिन परिवार संख्या बढ्दै गर्दा घरमा खानासमेत नपुग्ने गरेको उनीहरूले बताउने गरेका छन् । एक जनाले काम गरेर पूरै परिवार पाल्न नसकिने जुकोट–६ का भीमे कडाराले दु:खेसो गरे । उनले भन,े ‘आफ्नो कमाई खाने जग्गा छैन, पुर्खौँ देखिबाबु बाजेले साहुको हलो जोतरै आए, पहिले झै साहु ज्याला दिँदैन्न । अब कसो गरी दैनिक छाक टार्ने ।’
सरकारले हलियालाई परिचयपत्र त दियो । तर, विकल्प दिएन । भूमीसुधार मन्त्रालय र जिल्ला हलिया मुक्त समाज बाजुराले गरेको तथ्यांकअनुसार  जिल्लामा १६ सय हलिया साहुको हलो जोती रहेका छन् । हालसम्म १३ सय ९३ जनाले हलिया प्रमाणीकरण गराएका छन् भने चार सय ८८ जनाले परिचयपत्र पाइ सकेका छन् । जसमा ७९ जनाले ‘क’ एक सय १५ जनाले ‘ख’ ७३ जनाले ‘ग’ दुई सय २२ जनाले ‘घ’ वर्गका परिचयपत्र पाएको हलिया अधिकार कर्मी डबल विकले बताए । परिचयपत्र पाएर सबै कुरा पूराहुन नसक्ने हलियाहरूको भनाइ छ । जिल्लामा अधिकांश हलियाहरू को दैनिक जीवन दु:खदाई बितिरहेको छ । आउँदो दसँ के गरेर मनाउने भन्नेमा उनीहरूलाई चिन्ता परेको छ । यता सरोकारवाला निकाय भने हलियाको सवालप्रति बेखबर जस्तै छन् ।

प्रतिक्रिया