‘देशले राजनीतिक संक्रमणबाट मुक्ति पाउंछ’

Khilraj-Regmiकाठमाडौं, ७ असोज । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नयां संविधानको निर्माणबाटै जनताका हकअधिकारको सुनिश्चितता र प्रेस स्वतन्त्रतालगायतका अधिकारको प्रत्याभूति हुन सक्ने बताएका छन् ।
सिंहदरबारमा आज (सोमबार) आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले मतदातालाई सचेत गराउने, जनचेतना जगाउने तथा मतदान केन्द्रसम्म गई निर्भीकतापूर्वक मतदान गर्ने कार्यमा अभिप्रेरित गर्न सञ्चार माध्यमहरूको सहयोग, भूमिकाको विशेष अर्थ र महत्व रहने बताए ।
‘संविधानसभा निर्वाचनसंग सम्बन्धित विषयवस्तुहरूलाई उच्च प्राथमिकताका साथ सम्प्रेषण गरी निर्वाचनप्रति सबैको उत्साह जागृत गराउन र जनचेतना विस्तार गर्न विशेष आह्वान गर्दछु,’ उनले भनेका छन् ।
निर्वाचनलाई सफल पार्ने दिशामा हालसम्म सञ्चार माध्यमहरूले निर्वाह गरेको सकारात्मक भूमिकाको पनि आफूले कदर गरेको अध्यक्ष रेग्मीको भनाई छ ।
लोकतन्त्र भनेकै आवधिक निर्वाचनका माध्यमद्वारा जनमतको आधारमा शासन गर्ने प्रणाली रहेको बताएका उनले भने, ‘संविधानसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र अधिकाधिक सहभागितामूलक बनाई सम्पन्न गर्नकै लागि वर्तमान सरकारको निर्माण भएको हो ।’
उनले सरकारको एउटै र महत्वपूर्ण दायित्व शान्तिपूर्ण निष्पक्ष निर्वाचन गराउनु भएको दोहराए । कार्यमा सरकार निरन्तर सक्रिय भई दृढतापूर्वक लागिपरेको पनि उनले बताए ।
‘आम जनताको भावनालाई दृष्टिगत गरी जनहित र जनचाहना पुरा गर्न म असहमत पक्षहरूलाई पनि संविधान सभाको निर्वाचनमा सहभागी हुन आग्रह गर्दछु,’ अध्यक्ष रेग्मीले भने, ‘मंसिर ४ गते हुने निर्वाचनले जनप्रतिनिधिमार्फत् संविधान निर्माण गर्ने जनचाहनाले मूर्तरूप पाउनुका साथै देशले लामो राजनीतिक सङ्क्रमणबाट मुक्ति पाउने विश्वास लिएका छौं ।’

प्रतिक्रिया