डी सिने अवार्डका उत्कृष्ट पाँच सार्वजनिक

htv-D-Cine-awardडजिटल प्रविधिबाट बनेका चलचित्रहरूलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ वर्षेनी आयोजना हँुदै आएको एचटिभी फिल्मी खबर डी सिने अवार्डको ०७० का उत्कृष्ट पाँच चलचित्रको मनोनयन सार्वजनिक भएको छ । फिल्मी खबर साप्ताहिकले प्रदान गर्ने उक्त अवार्डका लागि मनोनयन आइतबार राजधानीमा एक कार्यक्रममाझ सार्वजनिक गरिएको हो ।
एचटिभी फिल्मी खवर डी सिने अवार्ड विगत पाँच बर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ । अवार्डका लागि यस वर्ष ५१ चलचित्रले सहभागिता जनाएको आयोजकले जनाएको छ । अवार्ड वितरण कार्यक्रम आगामी कात्तिक १० गते राजधानीमा हुनेछ । उत्कृष्ट पाँच नायकतर्फ आर्यन सिग्देल,जीवन लुइँटेल, अर्पण थापा, सौगात मल्ल र भुपेन चन्द रहेका छन् भने उत्कृष्ट नायिकाको मनोनयनमा रेखा थापा, निशा अधिकारी, नीता ढुंगाना, दिया मास्के र सुमिना घिमिरे परेका छन् ।
उत्कृष्ट निर्देशकको अवार्डका लागि विकास आचार्य, सुरज सुब्बा, दिनेश डी सी, योगेश घिमिरे, सबिर श्रेष्ठ उत्कृष्ट पाँचभित्र अटाएका छन् भने वर्षकै सर्वोत्कृष्ट पाँच चलचित्रको मनोनयनमा रिदम, फेसबुक, मायाज बार, नोटबुक र के म तिम्रो साथी बन्न सक्छु परेका छन् । २६ विधासहित जुरी अवार्ड, क्रिटिक्स अवार्ड, पब्लिक च्वाइस अवार्ड पनि वितरण गरिने आयोजकले जनाएको छ । यसपटकबाट थपिएको स्टार एफ एम इन्करेजमेन्ट अवार्डसहित ३२ विधामा अवार्ड बाँडिने अध्यक्ष शान्तिप्रियले जानकारी दिए ।
उत्कृष्ट पाँचभित्र परेका नायक, निर्देशक, चलचित्रलगायतका अवार्डको जुरी मेम्बरमा चलचित्रका लेखक, निर्देशक मोहन निरौला, चलचित्र पत्रकार विजयरत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ र छायांकार सबनम मुखिया रहेका छन् ।
आयोजकका अनुसार अवार्डका लागि उत्कृष्ट अभिनेता, अभिनेत्री, चलचित्र निर्देशक, गीत, कथा, पटकथा, द्वन्द्व, नृत्यलगायत विभिन्न विधाहरू तोकिएका छन् । (सौस)

प्रतिक्रिया