नेप्से घट्ने क्रम जारी

nepse-chartकाठमाडौं, ६ असोज । नेप्सेमा परिसूचकमा अझै पनि घट्दो क्रम जारी रहेको छ । पछिल्लो समय राजनीतिक अन्योलतासँगै नेप्से बियरिस ट्रेन्डतर्फ जान थालेको हो । सरकारले ४ मंसिरमा निर्वाचन हुने बताएको छ भने त्यसको विरोध गर्दै आएको नेकपा–माओवादीलगायतका ३३ दलले कुनै पनि हालतमा निर्वाचन हुन नदिने अडान दोर्‍याउँदै आउनु र सो पार्टी हिंसात्मक कार्यमा पनि सरिक रहेको कारण लगानीकर्ताको मनोबल खस्किँदै गएको कारण नेप्सेमा सुधार आउन नसकेको हो ।

बढ्दो राजनीति अन्योलसँगै गतसाता नेप्से परिसूचक १ दशमलव शून्य ३ अंकले घटन गई साताको अन्तिम दिन ५ सय ४८ दशमलव ६५ मा सीमित रहन पुगेको हो ।
गत साता स्टक एक्सचेन्जमा एक सय ३४ कम्पनीहरूको कारोबार भएको छ । जसमा आठ हजार एक सय ८१ कारोबारबाट ५८ करोड ७९ लाख ३४ हजार रुपियाँ बराबरका २१ लाख ११ हजार ५३ कित्ता सेयर खरिद बिक्री भएका छन् । गत साता एक सय ३९ कम्पनीहरूको कारोबार भएको थियो । जसअनुसार ११ हजार ६ सय ४३ कारोबारबाट ९७ करोड २६ लाख ७८ हजार रुपियाँ बराबरका २५ लाख २२ हजार सात सय २१ कित्ता सेयर खरिद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ३९ दशमलव ५६ प्रतिशतले ह्रास भएको हो । कुल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र ३० करोड ९३ लाख ८ हजार रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५२ दशमलव ६१ प्रतिशत हो ।
गतसाता वाणिज्य बंैक समूहको परिसूचक ३ दशमलव १ ले घट्यो भने जलविद्युत्को १६ दशमलव १० ले नकारात्मक रहेको नेप्सेले जनाएको छ । बिमा समूहको भने ६० दशमलव १९ ले परिसूचक बढेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शून्य दशमलव ५० अंकले ह्रास भई १ सय ३६ दशमलव ९६ अंकमा आइपुगेको छ । गतसाता कारोबार रकमतर्फ सात करोड ४३ लाख २९ हजार रुपियाँको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ ।
त्यसै गरी कारोबार भएको सेयर संख्या दुई लाख ६२ हजार ६ सय कित्ताको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । त्यसैगरी, कारोबार संख्याको आधारमा एक हजार चार सय १३ वटाको आधारमा मेघा बैंक नेपाल अग्रस्थानमा रहेको छ । साताको उत्कृष्ठ पाँच कम्पनीमा एभरेस्ट बैंक, नविल बंैक, नेपाल बंगलादेश बैंक, कमर्ज एन्ड ट्रस्ट र नेसनल लाइफ इन्स्योरन्स कम्पनी रहेका छन् । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार हुन नसकेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया