कांग्रेसभित्र कांग्रेस खोज्दै कुलबहादुर

Kb-Gurung-1पहिलो संविधानसभाको प्रथम अध्यक्ष भएर मुलुकलाई ‘गणतन्त्र’ घोषणा गर्ने ऐतिहासिक अवसर वहन गरेका कुलबहादुर गुरुङको अनुभव–डायरीले भन्छ : नेताहरूले बैठक र सहमतिको नाममा समय खेर फाले । यस्ता अरू धेरै कुरा छन्, उनको नलेखिएको डायरीमा ।

त्यहाँ मेरो कुरा सुन्ने कसैलाई फुर्सद नै थिएन । भोलि जेसुकै होस्, आज, अहिले नै घोषणा गर्नुपर्छ भन्ने मानसिकता नेताको थियो । मैले सभामुखको भूमिका निर्वाह गर्नुपर्ने थियो तर कुनै दिन ‘आज यो विषयमा छलफल नगरौँ, पछि छलफल गरौँला’ भन्दा पनि मेरो सुझाउ कसैले सुन्दैन थियो । म हरेक कुराको पालना गर्न मात्र सभामुख भए जस्तै थिएँ ।

– म जति समय त्यो पदमा रहेँ, एक दिन पनि सभामुखको कोठामा गइन् । दलका नेता त्यहाँ गएर बस्थे, गफ गर्थे, चिया खान्थे । मलाई कसैले तिम्रो के विचार छ सम्म भनेनन् । म सधैँ अरू सभासद्सँगै बस्थेँ । उनीहरूसँगै गफ गर्थें । नेताहरू सहमति गरेर ल्याउथे । मेरो काम उनीहरूको सहमति पत्र पढिदिने मात्र भएको थियो ।
– सभामुखको भूमिकामा मलाई दलका नेता कसैले मेरो कुरा सुन्ने वा मलाई सहयोग गर्ने केही गरेनन् ।
कुलबहादुर गुरुङले लामो समय नेपाली कांग्रेसको राजनीति गरेरै बिताए । यसबीचमा उनले देश, KB_gurungसमाज, संस्कृति, राजनीति र आमजनजिन्दगानीका अनेक उतारचढाउ देखे पनि र भोगे पनि । तर, उनले पाउनुपर्ने राजनीतिक उचाइ कहिल्यै पाएनन् । भनिन्छ, फलको इच्छा नराखी कर्म गर्दै जाने हो भने कुनै बेला त्यसको फल अवश्य प्राप्त हुन्छ । अँ, धैर्यको साथ छोड्न भने कहिल्यै हुँदैन । इलाममा जन्मेका ७९ वर्षीय कुलबहादुरको जीवनमा त्यही संदेश लागू भयो । उनलाई इतिहासले एउटा विशेष जिम्मेवारी सुम्पियो, जसलाई उनले पूरा गरे र इतिहासमा उनले आफ्नो नाम पनि लेखाए । उथलपुथलपूर्ण इतिहासका घटनाको लामो शृंखलापछि मुलुकमा पहिलोपटक चिरप्रतिक्षित संविधानसभाको निर्वाचन भयो । संविधानसभाका सभामुख नचुनिएको अवस्थामा उनले त्यो विशिष्ट जिम्मेवारी पाएका थिए । हो, इतिहास बनाउन समयको एउटै पल पर्याप्त हुन्छ । कुलबहादुरले त्यही ऐतिहासिक संविधानसभाको अध्यक्षको भूमिका निर्वाह गरे ।
सायद पहिलो संविधानसभाको निर्वाचन, नयाँ संविधान नबन्दै त्यसको अवशान र त्यसपछि बितेको महत्त्वपूर्ण तर उपलब्धिविहीन समय सबै अवस्थालाई हेरे सोच्दा अचेल कुलबहादुर गुरुङलाई लाग्छ– सोचबुझ नै नगरी हतारमा गणतन्त्र घोषणा गरिएछ । संविधानसभाको पहिलो बैठको क्षण सम्झँदा उनलाई लाग्छ– नेताहरू गणतन्त्र घोषणा गर्न हतारिएका थिए । यति आतुर थिए कि त्यो दिन गणतन्त्र घोषणा नगरे आकाश नै झर्ला वा कुनै प्रलय आउला जस्तो लाग्थ्यो । सबैभन्दा ज्येष्ठ सभासद् भएका कारण उनले संविधानसभाको अध्यक्षता मात्र गरेनन्, ऐतिहासिक जिम्मेवारी पाएका सभासद्लाई पद तथा गोपनीयताको सपथसमेत खुवाए । करिब साढे तीन महिना सभामुखको भूमिका निर्वाह गरेका उनी त्यतिबेला आफू दल र नेताको रबरस्ट्याम्प जस्तै भएको मान्दछन् । राज्यले दिने सुविधासमेत लिएनन्, उनले त्यतिबेला । एक दिनका लागि जिम्मेवारी दिए पनि राजनीतिक वातावरणले उनलाई साढे तीन महिना त्यही पदमा अलमलायो । पहिलो संविधानसभामा कुलबहादुर गुरुङले भोगेका र अनुभव गरेका कुरा यस्ता छन्–
संविधानसभाको सबैभन्दा जेठो सदस्य भएको नाताले म एक दिनका लागि सहमतीय सभाअध्यक्ष भएको थिएँ । निर्वाचन जितेर आउँदा थाहा थिएन, मेरै मुखबाट नेपाललाई त्यसरी गणतन्त्र घोषणा गर्ने अवसर मिल्ला भनेर । तर, त्यो अवसर मात्र होइन, संविधान जारी गर्न नसक्ने सभासद्लाई सपथ खुवाउने अवसर पनि मैले नै पाएँ । म कांग्रेसको नेता भएकाले वा लामो राजनीतिक अनुभव भएकाले त्यो अवसर पाएको थिइन । मभन्दा अरू कोही पाको उमेर भएको भए उसैले पाउने थियो, त्यो अवसर । नेपाललाई गणतन्त्र घोषणा गर्न पाएकोमा दु:ख वा खुसी केही पनि छैन सामान्य रूपमा लिएको छु, त्यो दिनलाई । जसरी नेताहरू उत्ताउलो हुँदै थिए कुनै चमत्कारी काम गर्दै छौँ भनेर, म त्यसरी उत्साहित भएको थिइनँ ।
त्यो दिन सम्झँदा मलाई रमाइलो लाग्छ । ०६५ जेठ पन्ध्र गते संविधानसभा हलमा कुनै नेतामा धैर्यता थिएन । आज केके न हँदै छ, खुसी हो वा अधैर्य– मलाई छुट्याउनै गाह्रो भएको थियो । नेताहरूको अनुहारमा देखिँदै थियो– गणतन्त्र घोषणा गर्ने दिन फेरि कहिल्यै आउँदैन जस्तै । सबै नेता अत्तालिएका जस्ता देखिन्थे । किन हो कुन्नि सबै नेतामा चञ्चलता थियो । गणतन्त्र घोषणा गर्न एकै छिन ढिला भए सबै सभासद् गणतन्त्रको विपक्षमा लाग्लान् जस्तै गरी ‘तातै खाऊँ, जली मरुँ’ भन्ने नेपाली उखानसँग मिल्दोजुल्दो थियो नेताहरूको आतुरता । सभामुख बस्ने मञ्चमा अरू सांसद् घरिघरि जान हँुदैन थियो तर कतिपय नेता मञ्चमा नै आएर मलाई निर्देशन दिँदै थिए, ‘दाजु ढिला गर्नु हुँदैन, घोषणा गरी हालौँ’ भनेर । गणतन्त्रको पक्षमा ठूलो संख्या भएको संसद्मा त्यसरी हतारिनुको कारणा मैले बुझेको थिइन । सभासद्हरू तालिपिट्न, र नेताहरू सञ्चारमाध्यममा प्रतिक्रिया दिन हतारिएका थिए । एक दुई होइन, सबै नेतामा उत्ताउलोपना देखिएको थियो । संसद्को जुन उपस्थिति थियो त्यसले हतारिनुपर्ने थिएन । विपक्षामा रहनेको संख्या अति नै न्यून थियो । त्यो संख्या त्यतिबेला मात्र होइन अन्तिमसम्मै थियो । जहिले घोषणा वा निर्वाचन गरे पनि तालिपिट्ने र भोट हाल्ने तिनै सभासद् थिए ।
गणतन्त्र घोषणा गर्ने सवालमा मेरो विचारको कसैले वास्ता गरेनन् । म चाहन्थेँ, नेपालीका लागि गणातन्त्रको अनुभूति गर्ने पहिलो अवसर भएकाले सबैले थाहा पाउनुपर्छ ‘के हो गणतन्त्र’ भनेको भनेर । उनीहरूले त्यसका बारेमा पर्याप्त बहस, छलफल गर्न पाउनुपर्छ । नेपाली जनताले के पाउछन् गणतन्त्रमा, यसको विचार र दर्शनको बारेमा नेपालका सबै भागका मान्छेले थाहा पाउनुपर्छ भन्ने थियो । विश्वको गणतन्त्र हेरेर बुझेर आएका मान्छे पनि त्यहाँ थिए । उनीहरूलाई पनि आफ्नो बुझाइ राख्न दिनुपर्ने थियो । के हो गणतन्त्रको सकारात्मक र नकारात्मक पाटो ? हरेक कुरामा राम्रो–नराम्रो हुन्छ । हामीले जहिले पनि दुवै पाटोको अध्ययन गर्नुपर्छ भन्ने मेरो धारणा हो । तर, त्यहाँ मेरो कुरा सुन्ने कसैलाई फुर्सद नै थिएन । भोलि जेसुकै होस्, आज अहिले नै घोषणा गर्नुपर्छ भन्ने मानसिकता नेताहरूको थियो । मैले सभामुखको भूमिका निर्वाह गर्नुपर्ने थियो तर कुनै दिन ‘आज यो विषयमा छलफल नगरौँ, पछि छलफल गराँैला’ भन्दा पनि मेरो सुझाउ कसैले सुन्दैन थियो । म हरेक कुराको पालना गर्न मात्र सभामुख भए जस्तै थिएँ ।
एकपटक मेरो स्वास्थ्यका कारणले एकसाताका लागि बैठक स्थगित गरेँ । बैठक स्थगित भएको विषयलाई लिएर धेरैले अनावश्यक विरोध गरे । अरू पार्टीका मात्र होइन, स्वयं कांग्रेसका नेतासमेत मेरो विरुद्धमा देखा परे । धेरैले गर्धन फुलाए, छड्के आँखाले हेरे । लाग्यो, अरूले त विरोध गरेगरे, आफ्नै पार्टीका मान्छे किन यसरी आँखा तर्छन † त्यही बेलादेखि कांग्रेसको बीचमा कांग्रेस खोज्दै छु । के गर्ने, अरूको पार्टीमा गएर कांग्रेस खोज्न मिल्दैन, आफ्नै पार्टीभित्र पार्टी खोज्दै छु । यो अवस्था कसरी आयो होला, म केही भन्न सक्दिन ।
म जति समय त्यो पदमा रहँ, एक दिन पनि सभामुखको कोठामा गइनँ । दलका नेताहरू त्यहाँ गएर बस्थे, गफ गर्थेर्, चिया खान्थे । मलाई कसैले तिम्रो के विचार छ सम्म भनेनन् । म सधैँ अरू सभासद्सँगै बस्थेँ । उनीहरूसँगै गफ गर्थें । नेताहरू सहमति गरेर ल्याउथे । मेरो काम उनीहरूको सहमति पत्र पढिदिने मात्र भएको थियो । बिस्तारै मैले आफ्नो कुरा राख्नै छोडेँ । किन बेकार छुच्चो हुने ? नेताहरूले गरुन् जे गर्छन् । अह्राएको काम मात्र गर्न थालेँ किनभने म निर्वाचित सभामुख थिइनँ, सहमतिय आधारमा भएको थिएँ । गणतन्त्र घोषणापछि केही नेता बोल्दै थिए । तलबाट हुटिङ भयो । त्यो ठाउँमा एउटा सभासद् बोल्दा अर्को सभासद्ले हँटिङ गर्नुपर्ने थिएन । सबै जनताबाट निर्वाचित भएर आएका हुन्, उनीहरूको पनि अधिकार छ बोल्ने ।
आफँैमा नेताहरू विस्वस्त थिएनन् होला । नत्र सविधानसभा निर्वाचनमा नै जनतालाई प्रतिबद्धता गरेर आएको हो– पहिलो बैठकले गणतन्त्र घोषणा गर्छौ भनेर । जनतालाई त्यति विस्वस्त तुल्याएर आएका नेताले पक्कै गणतन्त्र घोषणा गर्छन् भनेर जनतालाई विश्वास दिलाउन नसक्नु नेताहरूको कमजोरी हो । मेरो मनमा नेताहरूको वयहार देखेर लागिरह्यो– किन होला नेताहरू पानी छचल्के जस्तै छचल्किदै छन् ? यति जिम्मेवार ठाउँमा पुगेका नेता गम्भीर हुनुपर्ने हो । किन दायाँबायाँ नहेरेका होलान् ? फेरि सोचेँ, ‘बाहिर केही हुन आँटेको छ’ भनेर नेताहरूलाई जानकारी पो आएको छ र पो हो कि– नेताहरू यतिबेला नै गणतन्त्र घोषणा नगरे आकाश नै खस्ला जस्तो गरेका ।
त्यतिबेला सञ्चारमाध्यम कति बेला नेताहरू तालिपिटेर बाहिर आउलान् र प्रतिक्रिया मागाँैला भनेर बसेको अवस्था थियो । मलाई कुनै मिडियाले एक शब्द सोधेन के छ अनुभूति भनेर । मलाई पनि त्यतिबेला केही लागेको थियो होला । कसैले सोध्लान् गणतन्त्र घोषणा गर्दा कस्तो लाग्यो, किन गरिस् भनेर तर कसैले सोधेनन् । यतिबेला भने धेरैले सोध्ने गरेका छन् । त्यतिबेला कस्तो लागेको थियो भनेर । त्यतिबेला कुलबहादुर गुरुङको काम चार दलले गरेका निर्णय सुनाउनेबाहेक केही भएन । म दलहरूको निर्णय सुनाएर लुरुलुरु घरतिर लागेँ । एक दिनका लागि गएको थिए, त्यसैले आफ्नो हक खोज्ने वा नियमविनियम खोज्नेतिर लागिन । त्यसो गर्दा मान्छे हाँस्छन् भन्ने लाग्यो । मैले पनि आफू एक दिनको सभामुख भएकाले पाएको सुविधा केही पनि लिइनँ । सरकारले पठाएको सुविधा फिर्ता गरिदिएँ । डेरामा बस्ने मान्छे, आफैँलाई साँधुरो छ, कता गार्ड राख्ने ठाउँ छैन भनेर पठाएँ । गाडी थिएन त्यसैले घरदेखि पर हिँडेर सरकारी गाडीको प्रयोग गर्थें । मलाई सभाध्यक्ष भएकामा कुनै दम्भ थिएन । राज्यको सुविधा लिनुपर्छ भन्ने लागेन । अरू ६०१ सभासद् जस्तै हुँ भन्ने लाग्यो । सभामुखको भूमिकामा मलाई दलका नेता कसैले मेरो कुरा सुन्ने वा मलाई सहयोग गर्ने केही गरेनन् ।
जतिबेला पहिलो सविंधानसभाको निर्वाचनको नजिकिँदै थियो, मैले टिकटसमेत लिएको थिइनँ । काठमाडांैमा इलामका शुभचिन्तकबीच एकदिन भनेको थिएँ, ‘तीनतीनपटक सरेर निर्वाचन हुन लागेको छ । विश्वका धेरै देशमा संविधानसभाले संविधान लेख्न सकेन । मलाई शंका लाग्दै छ, कतै हामी पनि त्यहाँबाट संविधान लेख्न सक्दैनौँ कि ?’ पुन: भनेको थिएँ, ‘हाम्रो देशमा मेरो शंका पूरा नहोस् ।’ तर, मेरो त्यति बेलाको शंका पूरा भयो । विश्वमा धेरै देशमा संविधानसभाले संविधान लेख्न नसकेका कारण उथल–पुथल भएको छ । त्यतिबेला मैले शंका गर्दा पछाडि फर्केर धेरैले ओठ लेप्र्याउने काम गरेका थिए ।
मान्छेले दोष लगाउँदा सबै सभासद्लाई लगाउँछन् । तर, त्यहाँभित्र कसको के भूमिका छ, सबैले खोज्दैनन् । त्यसो हुँदा दु:ख लाग्छ । संविधानसभाभित्र विभिन्न उपसमितिहरू थिए । तीमध्ये संवैधानिक उपसमितिले सबै उपसमितिबाट आएका सुझाउ र निर्णयलाई आवश्यक थपघट गरेर टुंगो लगाउने काम गर्छ । तर, दुर्भाग्य के छ भने हाम्रा नेताले संवैधानिक उपसमितिको पहिलो बैठकमा नै भन्न थाले– संविधान लेखनको धेरै काम भइसक्यो, अब जारी गर्न मात्र बाँकी छ । तर, जुन कामका लागि नेपाली जनताले पठाए, हामी त्यही काम गर्न नसकेर फेरि जनताका बीचमा जान खोज्दै छौँ ।
पहिलो संविधानसभा छँदा पहिलोदेखि अन्तिम बैठकमा मेरो उपस्थिति थियो । राजनीतिक पार्टीका विद्वान्हरू बसेर गरेको निर्णयका बारेमा काम नै नभएको कुरा पनि बाहिर आए । कतिपय बैठकमा नेताहरूलाई भनियो, हामीलाई अनावश्यक हस्तक्षेप नगर्नुस् । तर, मानेनन् नेताहरूले । संविधानसभाको बैठकमा आएका सबै सदस्य संविधान लेख्न नै गएका थियौँ । नेताहरूले बैठक र सहमतिको नाममा समय खेर फाले । त्यसको अपजस सबै छ सय एकको टाउकोमा गयो । जनताको नजरमा हामी सबै असफल भएका छौँ । तर, मलाई के पनि विश्वास छ भने नेपाली जनताले कुनै समय हाम्रो कामको मूल्यांकन अवश्य गनेछन् ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया