अराजक कवि हुँदै मदन पुरस्कारसम्म

Rajan-Mukarungकाठमाडौं, ६ असोज । साहित्यिक क्षेत्रमा राजन मुकारुङ, हाङ्युग अज्ञात र उपेन्द्र सुब्बाको सम्बन्ध नङ र मासुझैँ जोडिएर आउँछ । उनीहरूको सम्बन्ध यस्तो हुनुमा साहित्यिक आन्दोलन ‘सिर्जनशील अराजकता’ प्रमुख कारण हो । २०५६ सालमा यो आन्दोलन थालेसँगै जोडिन पुगेका यी तीन स्रष्टामध्ये राजनले वर्ष २०६९ को मदन पुरस्कार पाउने भएका छन् ।

मदन पुरस्कार गुठीले शनिबार राजनको दोस्रो उपन्यास ‘दमिनी भीर’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो । ‘वि. सं. २०६९ सालको मदन पुरस्कार सीमान्तकृत नेपाली जनजीवनको चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पुर्‍याएबापत ‘दमिनी भीर’ शीर्षकको उपन्यासका लागि राजन मुकारुङलाई प्रदान गर्ने निर्णय गरियो,’ गुठीका सदस्यसचिव कुन्द दीक्षितद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ ।
नश्लीय चेत तथा सीमान्तकृत आवाजलाई सिर्जनामा खरो ढंगले उतार्दै आएका राजनले केही वर्षअघि मात्र आफ्नो पहिलो उपन्यास ‘हेत्छाकुप्पा’ बजारमा ल्याएका थिए । कविता विधाबाट सिर्जनशील अराजकतालाई अघि बढाएका उनी पछिल्लो समय आख्यान विधामा लागेका हुन् । ‘हेत्छाकुप्पा’लाई संशोधित रूपमा पुन:प्रकाशन गरेको फिनिक्स बुक्सले नै ‘दमिनी भीर’लाई पनि बजारमा ल्याएको थियो । कवितातर्फ ‘सेतो आरोहण’, ‘प्रारम्भ प्रक्षेपण,’ ‘जिकिरको गद्दी’ र ‘मिथक माया’ तथा खोजअनुसन्धानात्मक कृति ‘किरात संस्कार’ प्रकाशित छन् । मदन पुरस्कार प्राप्त उपन्यासमा पहिचानको मुद्दा र संघीयतालाई भोजपुरबाट काठमाडौंसम्मको पेरिफेरिमा मिहिन ढंगले उठान गरिएको छ ।
दिल्पा नागी–२ भोजपुरमा जन्मिएका ३८ वर्षीय राजनले शिक्षणदेखि पत्रकारिता पेसासम्म अँगालिसकेका छन् । पछिल्लो समय राजधानीको कोटेश्वरमा बसी ‘होलटाइमर साहित्यकार’को पक्षमा वकालत गर्दै आएका उनले फेसबुकमा आफ्नै भनाइलाई ‘फेभरेट कोट’मा यसरी उल्लेख गरेका छन्– सिर्जनशील अराजकता जातीय मुक्ति, सांस्कृतिक चेतना, नश्लीयबोध एवं बहुलता र सह–अस्तित्वका लागि हो ।
आख्यानकार राजनले मदन पुरस्कार प्राप्तिलाई ‘१५ वर्षदेखिको फरक साहित्यिक अभियानको सम्मान’का रूपमा लिएको प्रतिक्रिया दिएका छन् । ‘कवि उपेन्द्र सुब्बा, हाङ्युग अज्ञातसहित हामी सिर्जनशील अराजकता अभियानमा छौँ । जसको उद्देश्य सीमान्तकृत जाति र समूदायलाई केन्द्रमा राखेर लेख्नु नै हो,’ उनले भने, ‘हाम्रो त्यसबेलादेखिको अभियान आज सार्थक भएको छ ।’
त्यसैगरी गुठीले गीतकार रत्नशमशेर थापालाई जगदम्बा–श्री पुस्कार प्रदान गर्ने निर्णय गरेको छ । गीत र कविता लेखनमा लागेर पाँच दशकदेखि निरन्तर नेपाली भाषाको श्रीवृद्धि र उन्नयनमा योगदान पुर्‍याएबापत गुठीले थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
दुवै पुरस्कारको राशि दुई/दुई लाख रुपियाँ रहेको गुठीले जनाएको छ ।

‘दमिनी भीर’लाई कस्तो खालको उपन्यास भन्ने ?
खै, कस्तो खालको भन्ने ? यो त विद्वान् पाठक र समीक्षकहरूले पो भन्ने होला हौ । लेखकको तहबाट भन्ने हो भनेचाहिँ सामाजिक भन्नुपर्ला । यतिचाहिँ भन्नैपर्छ होला, यो परम्परागत ढाँचामा लेखिएको उपन्यासचाहिँ होइन । नायकवाद होइन, चरित्रलाई जोड दिइएको उपन्यास हो दमिनी भीर ।
यो उपन्यासका लक्षित पाठक को हुन् ?
कसले पढ्ने र कसले नपढ्ने भन्ने हुन्छ र ? तपाईंको प्रश्न सायद बजारमा आएका केही ‘एडल्ट’ उपन्यासहरूको प्रसंगमा होला । म त्यता सोच्दिनँ । दमिनी भीर संक्रमणकालीन नेपाली समयको आख्यान हो । चित्रण हो । सबै वर्ग, तह, जाति, समुदायले पढ्नैपर्छ भन्छु । अझ संक्रमणकालमा केही भएन भनेर निरस हुनेहरूले त पढ्नैपर्छ क्यारे † मुलुकलाई नेतृत्व गर्छु भन्नेले त झन् के भन्दै, गर्दै रहेछन् आममान्छे भनेर जान्नै पर्‍यो क्यारे ।
यसलाई नयाँ शैलीको उपन्यास भनिएको छ, के छ र त्यस्तो नयाँपन ?
कसले गर्‍यो हौ यस्तो हल्ला ? यो उपन्यास कलाका माध्यमबाट भनिएको आख्यान हो । विषय साना मान्छेका अनन्त दु:खको हो । नयाँ बुनोटमा लेख्ने प्रयत्न मात्रै हो मेरो । पूरै नयाँ भन्ने दुस्साहस म त गर्दिनँ ।
उपन्यासमा किराती मिथक, विम्ब तथा प्रतीकको ‘भरमार’ प्रयोग छ । यो खस नेपाली साहित्यमा हस्तक्षेप हो या समृद्धिको पहल ?
नेपाली माटोका मौलिक मिथक, विम्ब र प्रतीकहरूको प्रयोगलाई हस्तक्षेप मानिनु हुँदैन । यसले नेपाली साहित्यलाई नै उँचो बनाउँछ । र यो पनि सत्य हो कि मैले गतिलो काम गरेँ भन्ने भ्रम पनि ममा छैन । कोसिस मात्रै हो । ‘सिसिफस’ लेखेर संसारै जितियो, भन्ने डिङ हाँक्ने स्वभाव पनि मेरो छैन । नेपाली साहित्यमा मौलिकता ल्याउन हाम्रै सांस्कृतिक सौन्दर्यको प्रयोग होस् भन्ने ध्येय मात्रै हो मेरो ।
उपन्यासमा नायक जस्तो देखिने ‘नाम्देङ’ लेखकको प्रतिनिधित्व गर्ने चरित्र हो ?
बिल्कुल होइन । नाम्देङ त हाम्रो समय र समाजको साझा प्रतिनिधि हो । तपाईं–हाम्रै भाइछोरा, साथी–संगाती हो ।
यस उपन्यासमा राजनीति हाबी भए जस्तो देखिन्छ । राजनीतिक नारा हाबी हुँदा कला पक्ष ओझेलमा पर्दैन र ?
खै, धेरैले त राजनीति पुगेन पो भन्दै छन् । म पनि भन्छु– लेखकले नारा लेख्नुहुँदैन । तर, आख्यानको चरित्रले नारा पनि लगाउँछ । चुपो लागेर बस्न पनि सक्छ । त्यो चरित्रले भन्ने हो । यति हो, त्यहाँ कला भने हुनैपर्छ ।
‘पहिचानसहितको संघीयता– जिन्दावाद †’ भनेर उपन्यासको टुंग्याउनी गर्नुभएको रहेछ । यो पूरै नारा भएन र भन्या ?
ए † कुरो त त्यसो पो ? खै तपार्इंलाई कसरी प्रस्ट्याऊँ ? मुलुकको वर्तमान राजनीतिको केन्द्र नै पहिचानसहितको संघीयता वरिपरि छ । यो मुद्दालाई त्यतिकै छाडेर यो मुलुक एक इन्च पनि अगाडि जान सक्दैन । दमिनी भीरका केही चीरत्रले पनि आफ्नो समय भनिरहँदा यो नारा लगाएको हो । यसमा अनौठो मान्नुपर्ने के छ र ?
आख्यानमा लेखक हाबी हुने प्रवृत्ति पनि छ नि †
छ तर यो त्यागिनुपर्छ ।
कविताबाट साहित्यमा आएको सर्जक आख्यानमा लाग्नुभएको छ । आख्यानमा त्यस्तो शक्ति के रहेछ कि कविहरूलाई कविताबाट विस्थापित गराइछाड्ने ?
विस्थापित भन्ने शब्द प्रयोग नगरौँ । यस्तो सोच्नु पनि मूर्खता हो । खासमा, एउटा उपन्यास लेखिसक्नु भनेको हजारौँ कविताहरू भनिसक्नु पनि हो । अझ आख्यान लेख्दा साँध्नुपर्ने धैर्य, गनुपर्ने साधना, पात्रहरूसित गर्नुपर्ने संवाद, उठबस अर्थात् उनीहरूसँगै बाँच्नु वा भोग्नुपर्ने जिन्दगी अहो, ∕ अर्कै मजा छ नि †

प्रतिक्रिया