बहुविवाहमा पर्ने डरले लिभिङ टुगेदर

prakash dahalकाठमाडौं, ६ असोज । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश र विना मगरबीच विवाह भएको भनिएको वर्षदिन नाघिसके पनि त्यसले कानुनी रूप पाएको छैन । बहुविवाहसम्बन्धी मुद्दा लाग्ने भएपछि प्रकाश र विनाले औपचारिक विवाह नगरेको उनीहरूनिकट स्रोत बताउँछ ।

त्यसो त प्रकाशले विनालाई लाजिम्पाटस्थित घरमा भित्र्याउन पनि सकेका छैनन् । विनालाई घर भित्र्याउन प्रकाशको परिवारले आनाकानी गरिरहेको पाइएको छ । विनालाई परिवारले भित्र्याउन आनाकानी गरेपछि उनीहरू दुवै जना काठमाडौंमा फल्याट भाडामा लिएर बस्दै आएको विनानिकट स्रोतले जनाएको छ ।
२०६९ असारमा उनीहरू दुवै जना बेपत्ता भएका थिए । त्यसको केही महिना सम्पर्कविहीन भएका उनीहरू विस्तारै सार्वजनिक रूपमा देखिएका थिए । दुवै जना विवाहित भएकाले बहुविवाह गर्नेलाई मुलुकी ऐनअनुसार कारबाही हुने व्यवस्थाका कारण उनीहरूको चर्चा चुलिएको थियो । प्रकाशले जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि कास्कीकी सिर्जना त्रिपाठीलाई घर भित्र्याएका थिए । शंकर अधिकारीसँग विवाह गरेकी विना पनि अधिकारीलाई छाडेर प्रकाशसँग भागेकी थिइन् ।
विनाका पूर्वपति शंकर मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा सक्रिय छन् । उनले अहिलेसम्म विवाह गरेका छैनन् । प्रकाशकी श्रीमती सिर्जना छोरालाई पढाउँदै पोखरामा छिन् ।
अधिकांशले प्रकाश–विना सम्बन्धलाई श्रीमान–श्रीमतीकै रूपमा हेर्ने गरे पनि उनीहरूले भने औपचारिक रूपमा विवाह गरेका छैनन् । न त उनीहरूले सम्बन्धलाई कानुनी रूप नै दिएका छन् । लाजिम्पाट स्रोतले पनि उनीहरूले विवाहलाई कानुनी रूप दिन नसकेको स्वीकार गरेको छ ।
‘औपचारिक रूपमा विवाह गर्न त नेपाली संस्कार तथा संस्कृतिअनुसार सिन्दुरपोते नै लगाउनु पर्ने हुन्छ,’ स्रोतले सौर्यसँग भन्यो, ‘जनवादी विवाहअनुसार पनि कार्यक्रम गरेरै अबिर माला लगाइन्छ । यस्तो केही कार्यक्रम गरिएको छैन कसरी औपचारिक त भन्ने नि ?’
विनानिकट एक व्यक्तिले औपचारिक रूपमा विवाह गराउन परिवारले आनाकानी गरेको तथा विवाह गराए माइली श्रीमती सिर्जनाले बहुविवाहको मुद्दा दर्ता गर्ने डरका कारण विना डेरामै बस्न बाध्य रहेको बतायो । ‘कान्छी श्रीमतीका रूपमा चिनिएकी विना विवाहको वर्षदिन नाघ्दा पनि प्रेमिकाझैं बस्न बाध्य छिन्,’ ती व्यक्तिले भने ।
प्रकाश र विना लिभिङ दुगेदरका रूपमा राजधानीको एक घरको दोस्रो तलामा तीनवटा कोठा भाडामा लिएर बस्दै आएका छन् । प्रकाश दिनभर बुबासँगै कार्यक्रममा हिँड्छन् भने बेलुकी चाहिँ विना बस्ने beena-magarकोठामा फर्कन्छन् ।
मुलुकी ऐनअन्तर्गत बहुविवाह गर्ने मात्र नभएर स्वास्नी बन्न जाने तथा अर्की स्वास्नी राखे पनि कारबाही हुने व्यवस्था कानुनमा उल्लेख छ । मुलुकी ऐनको विवाहवारी महलअनुसार कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जिवित छँदै वा कानुन बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की स्वास्नी मानिससँग विवाह गरे वा अर्की स्वास्नी राखे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि पच्चिस हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तै, पहिलो श्रीमती भएको थाहा पाइपाइ त्यस्तो विवाह गर्ने वा स्वास्नी बन्न जानेलाई पनि उती नै सजाय हुने कानुनी प्रावधान छ ।
त्यसो त उनीहरू भागेको पुष्टि भएपछि एमाओवादीले कारबाहीसमेत गरेको थियो । पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरिएकोमा पछि पार्टीले फुकुवा गरेको थियो । विवाहको सन्दर्भमा प्रश्न सोध्दा प्रकाशले भने बुबा उच्चनेतृत्वमा रहेका कारण आफूमाथि खेदो खन्ने गरेको भन्दै पन्छिदै आएका छन् ।

प्रतिक्रिया