नेपाली कलाकारसँग रमाए कोरियामा नेपाली

suminaअहिले नेपालका अधिकांश चर्चित कलाकार दक्षिण कोरियामा छन् । कलाकार सबै एउटै कार्यक्रममा सहभागी हुन कोरिया गएका होइनन् । कोरियामा रहेका विभिन्न समुदायका नेपालीले आयोजना गरेका फरक–फरक सांगीतिक कार्यक्रममा कलाकार सहभागी भएका हुन् । नेपालीको महानपर्व दसैँजस्तै कोरियालीको पर्व ‘छुसक’को अवसरमा तीन दिन सार्वजनिक बिदा दिने प्रचलन छ । नेपालीले यही बिदाको अवसरमा नेपालका चर्चित कलाकारलाई कोरिया बोलाएर सांगीतिक प्यास मेटाउने प्रयास गरेका हुन् ।
सुदूरपश्चिम समाज कोरियाले बिदाको सुरुको दिन सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गायक स्वरुपराज–सत्यराज आचार्य, मिलन लामा, नरेन्द्रराज रेग्मी, गायिका मञ्जु महत, नायिका सुमिना घिमिरेलगायतको प्रस्तुति रहेको कोरियमा रहेका बैतडीका लक्ष्मण विष्टले सौर्यलाई जानकारी दिए । स्याङजा परिवारले ‘आँधीखोला सांगीतिक सौगात भाग–४ को आयोजना गरेको थियो । उसले चर्चित गायिका अञ्जु पन्त, हास्यकलाकार सीताराम कटेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली,’ लोकदोहोरी गायक पशुपति शर्मालाई कोरिया बोलाएको थियो ।
किरात राई यायाख्खा ‘सुम्नीमा सांगीतिक सौगात भाग–२’ मा गायक दीपक लिम्बू, गायिका इन्दिरा जोशी, ज्योति मगर, राई नवीन, हास्यकलाकार विल्सन विक्रम राई ‘तक्मेबुढा’ र केदार घिमिरे ‘माग्नेबुढा’ले आफ्नो प्रस्तुति पस्केका थिए । कार्यक्रममा स्थानीय कलाकार भरत गुरुङ, अशोक थुलुङ स्विटी तामाङ र सुनाखरी समूहले पनि आफ्नो बेजोड प्रस्तुति दिएको नेपाल कोरिया टाईम्स डट कमले जनाएको छ ।
बिदाको अन्तिम दिन शुक्रबार राप्ती सम्पर्क मञ्च ‘स्वर्गद्वारी सांस्कृतिक सौगात’कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा राप्ती क्षेत्रकै चर्चित गायिका कोमल वली, डम्बर नेपाली, टीका पुन, गीता राई, राजु गुरुङ, प्रेमप्रकाश ओलीलगायतको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई भव्य बनाएको उक्त अनलाईनले जनाएको छ । बिदाका अवसरमा आयोजना गरिएका सांगीतिक कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति रहेको विष्टले बताए । (सौस)

प्रतिक्रिया