ठेकेदारको लापरबाहीले गाउँ अँध्यारोमा

bulbबाजुरा, ५ असोज । सदरमुकाम मार्तडी आसपासमा ठेकेदारको लापरबाहीका कारण बिजुली नबल्दा स्थानीयवासी मर्कामा परेका छन् ।

२०४६ सालमा बनेको साना जलविद्युत् केन्द्र मार्तडीको लाइन विस्तार गर्न ढिलासुस्ती गरेका कारण दुई दशकसम्म पनि सदरमुकाम मार्तडी गाविस–१ ढम्कनेमा बत्ती बल्न सकेको छैन ।
रोयल एन्ड रेनु कन्टक्सनका प्रतिनिधि दीपकराज भट्ट जिल्लामा विद्युत्को ठेक्का सम्बन्धी काम गर्न भनेर आएको ६ महिना बिते पनि काम भने नभएको स्थानीयले बताएका छन् । विद्युत् केन्द्र निर्माण  भएको २५ वर्ष पूरा भए पनि बत्तीमुनीको अध्यारो झै सदरमुकाम आसपासमै बत्ती नबल्नुमा  ठेकेदारको लापरबाही मुख्य कारण बनेको हो ।
साना जलविद्युत् केन्द्र क्षेत्रीय कार्यालयको सम्झौताअनुसार यस वर्ष मार्तडी र जुगाडा आसपास क्षेत्रमा दुई सय ५० पोलको लाइन विस्तारको जिम्मा ठेकेदारले लिए पनि हालसम्म कुनै काम गरिएको छैन ।
ठेकेदार सदरमुकाममा बसेर क्षेत्रीय कार्यालय बाजुराको काममा व्यस्त रहेकोले पनि गाउँमा कुनै समन्वय र कामको थालनी नगरेको मार्तडी–१ ढम्कनेका स्थानीय बताउँछन् ।
यता साना जलविद्युत् सञ्चालनको जिम्मा लिएको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले भने ठेक्का साना जलविद्युत् केन्दको क्षेत्रीय कार्यालयको निगरानीमा रहेकाले आफूले केही गर्न नसकेको जनाएको छ । पटक–पटक ताकेता गरे पनि ठेकेदारले वास्ता नगरेको संस्थाले जानकारी गरायो । गएको  असार मसान्तसम्म काम गरिसक्ने गरी ठेकेदारले साना जलविद्युत् केन्द्र  क्षेत्रीय कार्यालयसँग सम्झौता गरेको थियो ।
ठेकदारका प्रनितिधि दीपक भट्टले भने बर्षातमा सामान ढुवानी र काम गर्ने श्रमिक नपाइएकोले काम हुन नसकेको बताएका छन् । उता उज्यालो पाउने आशामा बसेका स्थानीयवासी भने निराश बनेका छन् । दुई दशकदेखि गाउँमा बिजुली बाल्ने रहर संगालेका ढम्कनेवासी अहिलेसम्म पनि टुकी र दियालो बाल्न बाध्य छन् ।
विनाज्याला स्थानीयले एक वर्षअगाडि पोल गाड्ने खाडल खन्ने काम सुरु गरेको भए पनि आजसम्म अरू काम हुन् सकेका छैनन् । यसले उपभोक्ताहरू निराश मात्र भएर साना जलविद्युत् केन्द्र  सञ्चालनको जिम्मा लिएको त्रिवेणी सहकारीसँग जवाफ माग्नसमेत थालेको छन् ।
वर्षेनी विद्युत् विस्तारका लागि ठेक्का हुने र काम नहुने प्रवृतिले उनीहरू दिक्क भएका छन् ।  ढम्कनेका स्थानीय अगुवा दलसिंह रोकायाले भने, ‘ठेक्का हुने बित्तिकै अब गाउँमा छिट्टै बिजुली बाल्न पाइन्छ भनेर गाउँले आशावादी भएको देखिन्छ । तर, यो खुशी केही समय मात्र सीमित रहन्छ । ठेकेदार कम्पनीको लापरबाही हो या कसको मिलोमोतोमा काम हुँदैन हालसम्म पनि बत्ती बाल्न पाइएका छैनौँ ।’ यस वर्ष पनि गाउँमा बत्ती बाल्न भनेर ठेक्का भएको र ठेकेदारको लापरबाहीले कामअगाडि बढ्न नसकेको पत्रकार लक्ष्मीराज पाध्यायले बताए ।

प्रतिक्रिया