सर्वसम्मत नेतृत्व छनोट हुनुपर्छ

असोज ३ गते काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २१औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन मुलुक भरबाट आएका केही प्रतिनिधिलाई अबको नेतृत्व छनोट कसरी गर्नुपर्ला भनेर सौर्यले प्रश्न गरेको थियो । महाधिवेशनमा प्रतिनिधि बनेर आएका अधिकांशले सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने बताएका छन् । केहीले भने चुनावी प्रतिस्पर्धामा जाँदा पनि केही फरक नपर्ने बताएका छन् । उनीहरुको भनाइ उनीहरुकै शब्दमा :
प्रकाश शाही,
अध्यक्ष– क्याम्पस कमिटी, महेन्द्ररत्न क्याम्पस
अखिलको नेतृत्व सर्वसम्मत रूपले चयन हुनुपर्छ । चुनावी प्रक्रियाबाट विगतमा आएको नेतृत्वले अनेरास्ववियुलाई भताभुंग बनाएको छ । चुनावी प्रक्रियाबाट आएको नेतृत्वले आफ्नो प्यानलबाट आएका कार्यकर्तालाई मात्र काखी च्याप्ने गरेकाले समस्या हुने गरेको छ । आफू जितेर आइसकेपछि अर्को समूहका कार्यकर्तालाई ‘माइनस’ गर्ने परम्पराका कारण अनेरास्ववियुभित्रको सांगठनिक संरचना नै ध्वस्त भएको छ । खुला चौरमा हुने महाधिवेशन अहिले आएर एउटा क्याम्पसको प्रांगणमा मात्र सीमित हुन पुगेको छ । विगतमा चुनावी प्रक्रियाबाट नेतृत्व छान्ने गरेकाले नै यस्तो भएको हो । अबको नेतृत्व सर्वसम्मतबाट हुनुपर्छ । सर्वसम्मतबाट आएको नेतृत्वले मात्र विगतको जस्तो अनेरास्ववियु बनाउँछ । त्यसैले यो महाधिवेशनले क्षमतावान् नेतृत्वलाई सर्वसम्मत रूपमा चयन गरेर ल्याउनुपर्छ ।

टीकाराम लिम्बु
अध्यक्ष– जिल्ला कमिटी, सुनसरी
अबको नेतृत्व सर्वसम्मत हुनुपर्छ । चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु हुँदैन भन्ने मेरो मान्यता छ । अहिले संविधानसभाको निर्वाचन नजिक आइरहेको छ । पार्टीलाई पहिलो पार्टी बनाउनका लागि पनि अनेरास्ववियुले सन्देश दिन सर्वसम्मत नेतृत्व छनोट गर्नुपर्छ । समूह–समूह बनाएर चुनावी मैदानमा जाने हो भने नेतृत्वबीच नै मनमुटाव बढ्छ । त्यसको असर संविधानसभा निर्वाचनमा समेत पर्न सक्छ । त्यसैले सक्षम व्यक्तिलाई सर्वसम्म नेतृत्वमा ल्याउनुपर्छ । यदि कुनै पनि हालतमा सर्बसम्मत नेतृत्व छनोट भएन भने प्रजातान्त्रिक अभ्यासमा जानुपर्छ । त्यसरी आएको नेतृत्वले पनि सबैलाई मिलाएर लैजानुपर्छ । विगत आएका नेतृत्वबाट त्यो हुन सकेन । जसले गर्दा अनेरास्ववियु कमजोर भयो । अखिललाई पहिलेको जस्तो बनाउनु आवश्यक छ । हिजोको जस्तो अनेरास्ववियु नभएकाले विद्यार्थी आन्दोलन पनि कमजोर बन्न पुगेको छ ।

सूर्य रोकाया
अध्यक्ष, जिल्ला कमिटी बाँके
सर्वसम्मत नेतृत्व चयन हुनुपर्दछ । विगतमा सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा संगठनभित्र आन्तरिक गुटबन्दी बढेको छ । १८औंँ राष्ट्रिय सम्मेलनबाट लोकतान्त्रिक अभ्यास सुरु भएको हो । त्यससँगै चुनावी प्रतिस्पर्धाबाट आएको नेतृत्वले अनेरास्ववियुलाई चरमगुटबन्दीमा फसाएको छ । जबसम्म यसको अन्त्य हुँदैन, तबसम्म अनेरास्ववियुभित्रको गुटबन्दी पनि अन्त्य हुँदैन । यो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेर जाने हो भने आगामी दिनमा अनेरास्ववियुभित्रको समस्या समाधान हुनेछ । चरमगुटबन्दीकै कारण अनेरास्ववियुले विद्यार्थी आन्दोलनको नेतृत्व लिनसकेको छैन । अनेरास्ववियु अहिले आन्दोलनबाट विचलित भएको अवस्था छ । गुटबन्दीकै कारण सम्मेलनबाट पारित भएका
राजनैतिक र शैक्षिक मुद्दा कार्यान्वयन हुन सकेका छैनन् । नेतृत्वमा जाने होडबाजीले अनेरास्ववियुलाई भताभुंग बनाएको छ । यो सबै कारणले अब लोकतान्त्रिक अभ्यासको अन्त्य गरी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्दछ ।

कल्पना वाइवा
प्रतिनिधि त्रिवि, कीर्तिपुर
सर्वसम्मत नेतृत्व चयनले संगठनलाई फाइदा हुन्छ । अहिले अखिललाई जोगाउन पनि सर्वसम्मत Kalpana-Waybaनेतृत्व आवश्यक छ । अखिल गुट–उपगुटले ध्वस्त बनेको छ । त्यो गुटउपगुटलाई मिलाएर लैजाने भनेको प्रतिस्पर्धाबाट आएको नेतृत्वले नभई सर्वसम्मतबाट आएको नेतृत्वले मात्र गर्न सक्दछ । त्यसैले यो महाधिवेशनले संगठनलाई हिजोको अवस्थामा पुर्‍याउनका लागि सर्वसम्मत नेतृत्व चयन गर्न आवश्यक छ ।

पूर्णदेवी देवकोटा
प्रतिनिधि सुर्खेत
नेतृत्व सर्वसम्मत चयन हुनु राम्रो हो । तर, सर्वसम्मत हुन नसके प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नु झनै राम्रा हो । प्रतिस्पर्धाबाट आएको नेतृत्व योग्य हुन्छ । प्रतिनिधिले पनि संगठनलाई हाँक्ने नेतृत्व चयन गर्न पाउँछन् । जसले गर्दा नेतृत्व सक्षम आउँछ । प्रतिस्पर्धाबाट आएको नेतृत्वले संगठनलाई अझ गतिशील बनाएर लैजाने सम्भावना हुन्छ । त्यसैले सर्वसम्मतभन्दा पनि प्रतिस्पर्धाबाट नेतृत्व आउनु जरुरी छ ।

प्रस्तुत : शरद शर्मा

प्रतिक्रिया