कानुन व्यवसायीद्वारा दश प्रतिशत माग

काठमाडौं, ४ असोज । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले संविधानसभाको दोस्रो निर्वाचनमा आफूहरूलाई दश प्रतिशत आरक्षण दिन कांग्रेसलाई दबाब दिएको छ ।

कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्समा आबद्ध पदाधिकारी र सदस्यहरूले बिहीबार सभापति सुशील कोइरालालाई उनकै निवास महाराजगन्जमा भेट गरेर आरक्षणको माग गरेका हुन् । ‘कानुन व्यवसायीलाई आगामी चुनावमा उम्मेदवारीमा दश प्रतिशतको आरक्षण दिनुपर्छ,’ एसोसिएसनको माग थियो ।
उनीहरूले राष्ट्रिय राजनीतिमा राम्रो पहिचान बनाएका कानुन व्यवसायीहरूलाई कांग्रेसले छाड्न नहुँने मागसमेत गरे । कानुन व्यवसायीहरूले प्रजातान्त्रिक आन्दोलनमा भएको आफूहरूको सहयोग र समर्थनको मूल्यांकन गर्न पनि आग्रह गरे ।
सभापति कोइरालाले आन्दोलन, संगठन सुदृढीकरण र अन्य सामाजिक कार्यमा संलग्नता भएको मूल्यांकनका आधारमा टिकट वितरण गरिने आश्वासन दिए । ‘सिफारिसका आधारमा सबैको मूल्यांकन गरेर टिकट दिन्छौँ,’ उनले भने, ‘तपाईंहरूको माग जायज छ ।’
संविधानसभा निर्वाचन नजिकिँदै गर्दा प्रजातान्त्रिक विचार राख्ने कानुन व्यवसायीहरूले उम्मेदवारीमा इच्छा जनाएका हुन् ।
वरिष्ठ अधिवक्ता राधेश्यम अधिकारी, शेरबहादुर केसी, विपिन अधिकारी, प्रेमबहादुर खड्कालगायत दर्जन बढी कानुन व्यवसायी आगामी चुनावमा उम्मेदवारको आकांक्षी छन् ।

प्रतिक्रिया