लेकाली क्षेत्रमा बँदेलको बिगबिगी

Badelइलाम, ३ असोज । उत्तरी इलामका किसानहरू बदेलको आतंकले दिक्क भएका छन् । बदेलले पाक्न लागेको मकै बाली खाएर सखाप

पारेपछि उनीहरू दिक्क भएका हुन् । पुवामझुवा–९ ओडारेकी डिल्लीमाया सुुुनुवार एकसाता अघिदेखि जंगलबाट ठूलो संख्यामा बदेल आएर मकै बाली नष्ट गरिरहेको बताउछिन् । सोही गाविस–५ का होमबहादुर खड्काले पाटेनागी महाभारत पर्वत आसपासका गाउँ वस्तिमा बदेल पसेर मकै र मटर बाली नष्ट गरेको बताए ।
त्यसैगरी, चमैता गाविसको माथिल्लो क्षेत्रमा पनि बदेलको बिगबिगी बढेको स्थानीय लोकबहादुर सुनुवारले जानकारी दिए । यता माइपोखरी गाविसको वन सीमा क्षेत्रमा पनि बदेलको समस्या बढेको स्थानीयले जनाएका छन् । एक समूहमा २५ देखि ३० वटासम्मको संख्यामा बदेल आउने गरेको स्थानीयको अनुमान छ । तर, यस्ता धेरै समूहमा बदेल आएर बाली नष्ट गरिरहेका उनीहरू बताउछन् ।
६ वर्षयता सो क्षेत्रमा बदेल आएर बाली नष्ट गर्ने गरेको स्थानीयको भनाइ छ । पुवामझुवा–९ का किसान रत्नप्रसाद सुनुवारका अनुसार यसअघि जेठ/असारमा पनि बदेलले बर्खे आलु खाएर नष्ठ गरेको थियो ।
जैविक विविधता संरक्षण र नामसालिङ सामुदायिक केन्द्र (एनसिडिसी) इलामका कृषि विज्ञ योगेन्द्रमान श्रेष्ठका अनुसार सो क्षेत्रमा मझौला आकर (२०–२५ किलोसम्म)का बदेल पाइन्छन् । विज्ञहरूले संसारमा पुड्को, मझौला र ठूला कद भएका बदेल पाइने बताएका छन् । एक अध्ययनले देखाएअनुसार एउटा बदेल एक रातमा ६० हेक्टर क्षेत्रफसम्म उदिँन्दै कुद्न सक्छ ।
बदेलको सिकार गर्न पाउनुपर्ने वा सम्बन्धित निकायले सोको व्यवस्थापन गर्दै क्षतिपूर्तिसमेत दिलाउनुपर्ने किसानको माग छ । तर, वन तथा वन्यजन्तु ऐनमा सिकार गर्न नमिल्ने प्रावधान रहेको जिल्ला वन कार्यालयले जनाएको छ ।
वन कार्यालयका उपसचिव रामस्वार्थ साहका अनुसार क्षतिपूर्ति वन्यजन्तु आरक्षले दिने गर्दछ । ‘अहिलेसम्म तराइका विभिन्न भागमा हात्ती, गैँडा, बाघ, चितुवालगायत ठूला जनावरले धनजनको क्षति गर्दा आरक्षले मूल्यांकन गरी क्षतिपूर्ति दिने गरेको छ,’ उनले भने, ‘पहाडको हकमा सानोतिनो क्षतिमा क्षतिपूर्ति दिने गरेको छैन । तर, ठूलो क्षेत्रमा ठूलै क्षति गरेको भए किसानहरूले आवश्यक मूल्यांकन गरी क्षतिपूर्तीका लागि आवेदन गरेमा वन कार्यालयले वन्यजन्तु संरक्षण विभागमा सिफारिश गर्न भने सक्दछ ।’ माथिल्लो क्षेत्रमा ब्वाँसो मासिएपछि बदेल फैलिएको जानकारहरू बताउछन् । पारिस्थितिकीय प्रणाली सन्तुलन गर्न बदेलले ब्वाँसो खाने गरेको विज्ञहरूले बताउने गरेका छन् ।

प्रतिक्रिया