बर्दिया घटना : राष्ट्रिय अखण्डतामा आक्रमण

maobadiकाठमाडौं, २ असोज । नेकपा–माओवादीले गुलरिया नगरपालिकमा हतियारसहित आएका भारतीय प्रहरीले घर खानतलासी गरेको घाटनाले आफूलाई स्तब्ध बनाएको जनाएको छ ।
प्रवक्ता पम्फा भुसालले आज (बुधबार) विज्ञप्ति जारी गरेर नेपाली नागरिकको घरमा प्रवेश गरी खानतलासी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन् । ‘यो घटना हाम्रो स्वाधीनतामाथि भारतीय शासक वर्गले गरेको नाङ्गो आक्रमण हो,’ उनले भनेकी छन्, ‘हाम्रो पार्टी यसको घोर भत्र्सना र विरोध गर्दछ ।’
उनले यथाशीघ्र भारतीय पक्षले गरेको सो घटनाप्रति नेपाली जनतासित माफी माग्न भारत सरकारसँग माग गरेको छ । ‘नेपालको राष्ट्रिय अखण्डतामाथि आक्रमण नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरी नेपाल प्रवेश गर्ने सशस्त्र भारतीय प्रहरीमाथि कारबाही गरिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
बर्दियाको घटनाप्रति सरकार मौन बसेको भन्दै नेकपा–माओवादीले खेद जनाएको छ । ‘यस प्रकारको भारतीय सशस्त्र हस्तक्षेप अनि त्यसप्रति मौन बस्ने कठपुतली सरकारका विरुद्ध र राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति अघि बढ्न हार्दिक आह्वान गर्दछौं,’ प्रवक्ता भुसालले भनेकी छन् ।
हतियारसहित १४ जना भारतीय प्रहरी आज (बुधबार) बर्दियाको गुलरियामा आई नेपाली नागरिकको घरमा खानतलासी गरे पछि नेकपा–माओवादीले बिरोध जनाएको हो ।

प्रतिक्रिया