सुपथ मूल्यका एकीकृत पसल सञ्चालन

Bazarकाठमाडौं, २ असोज । सरकारी स्वामित्वका चारवटा सार्वजनिक संस्थानले न्यून आय भएका उपभोक्तालाई राहत दिने उद्देश्यले मंगलबारदेखि राजधानीका आठ स्थानमा सुपथ मूल्यका एकीकृत पसल सञ्चालन गरेका छन् ।

बडादसँै, तिहार र छट पर्वलाई दृष्टिगत गरी दैनिक उपभोग्य सामग्री सहजरूपमा आपूर्ति गर्ने उद्देश्यले ती संस्थानले सहुलियत मूल्यका पसल सञ्चालन गरेका हुन् । रामशाहपथस्थित नेसनल ट्रेडिङ लिमिटेड परिसरमा सञ्चालन गरिएको सुपथ मूल्यका पसलको उद्घाटन गर्दै मुख्यसचिव लीलामणि पौडयालले कम आय भएका जनतालाई केही भए पनि राहत दिने उद्देश्यले सरकारले सार्वजनिक संस्थानलाई उचित मोलका पसल सञ्चालन गर्न निर्देशन दिए ।
देशभरका बिक्री डिपोमार्फत सबै स्थानमा यस्ता पसल सञ्चालन गर्नेतर्फ सार्वजनिक संस्थानलाई आग्रह गर्दै उनले लागतअनुसार मूल्य कायम गरिएका पसलका सामानको गुणस्तर र परिमाण सुनिश्चित गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन पनि दिए ।
‘गुणस्तरीय सामग्रीको गुणस्तर र ग्राहकले चाहेजति परिमाण प्राप्त हुने सुनिश्चित गर्नोस’ उपभोक्ताले चाहेअनुरूप सामान पाउने र गुणस्तरमा मोलमोलाहिजा नगर्न सम्बद्ध पक्षलाई सचेत गराउँदै उनले भने,‘ नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेका ती पसलबाट उपभोक्ताले बजारमा भन्दा सस्तोमा छटपर्वसम्म सामान खरिद गर्न सक्नेछन् ।’ बजार मूल्यभन्दा २ रुपियाँ सस्तोमा नून, ५ रुपियाँ कममा चिनी, दूधबाहेक दुग्ध विकास संस्थानका उत्पादनमा १०, चामलमा २ रुपियाँ प्रतिकिलो न्यून मूल्यमा बिक्री भइरहेको छ । नेसनल ट्रेडिङ लिमिटेडले यन्त्र तथा उपकरणमा पाँचदेखि २० प्रतिशत, विद्युतीय सामग्रीमा पाँचदेखि २५ र ‘स्पेयर पार्टस्’मा ४० प्रतिशत सम्म छुट दिने जनाएको छ । विगतमा यस्ता सुपथ मूल्यका पसलमा दैनिक उपभोगका विदेशी सामानसमेत बिक्री हुने गरेकामा यसपटक स्वदेशी सामग्री मात्र राखिएको छ ।
यसैबीच, नेपाल खाद्य संस्थानले मासुको सहज आपूर्तिका लागि तीनहजार खसीबोका खरिद गर्ने जनाएको छ । संस्थानले गतवर्ष दुई हजारको हाराहारीमा ती चौपाया खरिद गरेको थियो । यो वर्ष स्वदेशी खसीबोका मात्र खरिद गर्ने निर्णय भएको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले बताए । उनका अनुसार लागतअनुसार कायम गरिएको मूल्यमा काठमाडौँ उपत्यकामा २० हजार र राजधानीबाहिर ३० हजार क्विन्टल चामल बिक्री गरिनेछ । सुपथ मूल्यका अन्य पसल भक्तपुरको सूर्यविनायक, ललितपुरको जावलाखेल, कलंकी, कोटेश्वर, कालिमाटीस्थित साल्ट ट्रेडिङ कार्यालयमा सञ्चालन गरिएका छन् ।

प्रतिक्रिया