काठमाडौंमा नेताको घुइँचो किन

काठमाडौं अहिले नेतामय बनेको छ । संविधानसभाका लागि दोस्रो निर्वाचनमा उम्मेदवार बन्नेहरूको नामावली केन्द्रमा आएपछि जिल्ला नेताहरू काठमाडौं केन्द्रित भएका हुन् । आफ्नो नाम उम्मेदवारको लिस्टमा परेकाहरू टिकट प्राप्तिका लागि नेताको चाकरीमा तल्लीन भएर लागेका छन् । एउटा निर्वाचन क्षेत्रबाट तीनदेखि ३० जनासम्मको नाम समावेश गरेर जिल्लाले सिफारिस गरेर केन्द्रमा पठाएका कारणले काठमाडौंमा नेताको घुइँचो भएको हो । एउटै पार्टीमा विभिन्न शक्ति केन्द्र र गुटका नेताले उम्मेदवार चयन गर्ने भएकोले पनि जिल्ला नेता केन्द्रमा चाकरीका लागि आउनै पर्ने बाध्यता देखिन्छ । पार्टीमा नैतिकता, त्याग, समर्पण, अनुभव र योग्यताको कदर हुन छाडेको छ । बाहुबल, धनबल र चाकरीको मूल्यांकन हुने भएपछि यो अवस्था सिर्जना भएको हो । वास्तवमा सबै दलले आफ्नो सैद्धान्तिक धरातल छाडिसकेका छन् । त्याग र योग्यताको कदर हुन छाडेको छ । जो नेताको चाकरी गर्छ उसले मात्र अवसर प्राप्त गर्छ भन्ने मान्यताको विकास भएपछि पार्टीमै योगदान गर्नेहरू निराश बनेका छन् । सभासद् बन्ने त्यसपछि नेताको चाकरी गरेर मन्त्री बन्ने सपना बोकेकाहरू नै अधिकांश काठमाडौं भित्रिएका छन् । पार्टीले बोकेको सिद्धान्त र नैतिकता आदर्शको खोक्रो गफ हुन थालेपछि जिल्लाका कार्यकर्ताले अवसर खोज्नु स्वाभाविक हो । अहिले काठमाडौंले थामिनसक्नु नेताको बोझ बोक्नुको कारण पनि यही हो । यो प्रवृत्ति रोक्न योग्यता, क्षमता, त्याग, समर्पणको कदर हुनुपर्छ । जबसम्म दलहरूले यो विषयलाई गम्भीरतापूर्वक लिँदैनन् तबसम्म केन्द्र धाउने र चाकरीमा रमाउने प्रवृत्ति रोकिँदैन ।
गत शुक्रबार एमालेले आफ्ना जिल्ला नेतालाई गाउँ फर्किन आह्वान गर्‍यो । तर, ती जिल्ला नेता उम्मेदवार छनोटको टुंगो नलागेसम्म फर्कने मनस्थितिमा रहेको पाइँदैन । नेपाली कांग्रेस र एमालेमा यही टिकटका कारण निर्वाचनमा अन्तर्घात हुने पनि उत्तिकै सम्भावना देखिन्छ । नेपाली कांग्रेसका शक्तिशाली नेता निवासले आकांक्षित उम्मेदवारको चाप थाम्न नसकेर शनिबारकै दिन जसरी भए पनि जिल्ला फर्किएर चुनावमा जुट्न आह्वान गर्‍यो । तर, टिकटका आकांक्षी टसको मस भएका छैनन् । एमालेको हालत पनि उस्तै छ । मधेस केन्द्रित दलहरूको पार्टी कार्यालयको अवस्था पनि एमाले र कांग्रेसको भन्दा फरक देखिँदैन । एमाओवादीको भने प्रतिशतका आधारमा अरू दलको भन्दा भिड कम छ । यस दलमा अझै पनि त्याग, बलिदान, समर्पण, नैतिकता र योग्यता हेरिन्छ कि भन्ने आस बाँकी रहेको पाइन्छ । तथापि निकट भविष्यमा हुन लागेको निर्वाचनमा थुप्रै पैसावाला, बाहुबलवाला र चाकरीबाजले टिकट प्राप्त गर्नुका साथै समानुपातिकमा नाम लेखाउन सफल हुने निश्चित छ । अरू दलले भन्दा पनि नेपाली कांग्रेस र एमालेले यसको कार्यान्वयनमा बढी जोड दिने देखिन्छ । सबै दलमा स्वच्छ, सक्षम, त्यागी र सैद्धान्तिक रूपले परिपक्व नेता नभएको होइन । तर, ती नेता पछि पर्ने अवस्था देखिन्छ ।
पार्टीगत फलामे अनुशासन, त्यागको भावना, सेवाको सोच अब बाँकी छैन । योग्यता र नैतिकताको कदर सबै अहिले फजुल सावित भएका छन् । पार्टीमा संघर्षमय जीवन बिताएको, जीवन नै आफ्नो पार्टीका लागि सुम्पिएकाहरू पछाडि पारिन थालिएका छन् । यसैका कारण अवसर प्राप्तिका लागि त्यागी कार्यकर्ता पनि नेताको दैलो धाउनुपर्ने अवस्था आएको हो । यो रोगका रूपमा फैलिएको चाकरी प्रथा र आफ्नोलाई काखी च्याप्ने नेताको कार्यशैली रहेसम्म अवसर आउनासाथ काठमाडौं धाउने परम्परा रोकिने छैन । राजनीतिलाई कतिपयले कमाइखाने भाँडोका रूपमा बुझेका छन् । नेताहरूले रानजीतिलाई दूषित बनाएपछि वास्तवमै राजनीति आर्थिक उपार्जनको व्यवसाय बन्दै छ । भविष्यका लागि यो परम्परा घातक हुनेछ । तसर्थ यसखाले प्रवृत्ति रोक्न राजनीति नै स्वच्छ र पवित्र उद्देश्यका साथ गर्ने परिपाटी बसाल्न जरुरी छ ।

प्रतिक्रिया