चुनाव बिथोल्न छापामार शैली

Rambahadur-Thapaकाठमाडौं, २ असोज । राष्ट्रपति डा. रामवरण यादवबाट भएको सहमतिको प्रयाससमेत विफल भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले ४ मंसिरको संविधानसभा चुनाव बिथोल्न छापामार शैली अपनाउने भएको छ ।

संविधानसभा चुनाव र सरकार परिवर्तनका विषयमा उच्चस्तरीय राजनीतिक समितिसँग सहमति नजुटेपछि माओवादीले आन्दोलनको नयाँ रणनीति अपनाएको खुलासा भएको हो । मंगलबार नेवा: राज्य समितिको बैठकमा माओवादी महासचिव रामबहादुर थापाले चुनाव बिथोल्न पार्टीले छापामार शैलीको कार्यक्रम ल्याउन लागेको जानकारी दिएका हुन् ।
उच्चस्तरीय समिति र अन्तरिम चुनावी मन्त्रिपरिषद् आफूहरूलाई बेवास्ता गरेर चुनाव गराउन लागेको निष्कर्षका साथ यस्तो रणनीतिमा लाग्नुपरेको थापाले बताए । माओवादीले बन्द, कोणसभालगायत चुनावविरोधी कार्यक्रम छापामार शैलीमा गर्ने भएको छ । स्रोतका अनुसार अब बन्द, हडतालजस्ता विरोधका कार्यक्रम माओवादीले छापामार शैलीमा गर्ने रणनीति तय गर्दै छ । यो नीति कार्यान्वयनमा आएपछि अब क्षेत्र, राज्य तथा इलाकामा परिस्थिति हेरेर छापामार शैलीमा काम गरिने स्रोतको भनाइ छ ।
महासचिव थापाले राजधानीको डोजो हलमा आयोजित नेवा: राज्य समितिको बैठकमा पार्टीले अब छापामार शैली अपनाउन लागेको र त्यसका लागि तयार रहन निर्देशन दिएका थिए । ‘अब हामी पूरै रणनीति परिवर्तन गर्दै छौँ । कस्तो भन्नेबारे म यहाँ भन्दिनँ । केन्द्रले निर्धारण गरेपछि तपाईंहरूसमक्ष आउनेछ,’ थापाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘त्यो योजना पूरै छापामार शैलीको हुनेछ, पूरै कमिटमेन्टमा हुनेछ ।’
उनले अबका चुनावविरोधी कार्यक्रम पनि सशक्त प्रतिरोधात्मक हुने बताएका थिए । रणनीति छापामार शैलीको भए पनि सशस्त्र नहुने उल्लेख गर्दै उनले सरकारले दमन बढाउँदै लगे सशस्त्र प्रतिरोध गर्न पछि हट्न नहुने स्पष्ट पारे ।
बैठकले ९ असोजदेखि दुई दिनलाई घोषित नेपाल बन्द पनि सशक्त प्रतिरोधात्मक बनाउने निर्णय गरेको छ । बन्दको कार्यक्रम पहिलेभन्दा पृथक् खालको गर्ने माओवादी तयारी छ । बैठक स्रोतका अनुसार उक्त बन्दमा पहिलेजस्तो चोक–चोकमा झन्डा बोकेर कार्यकर्ता नदेखिने भएका छन् । उक्त बन्द पनि छापामार शैलीमै गर्न लागेको माओवादी स्रोतले जनाएको छ ।
बैठकमा वार्तामा बस्दा पनि सहमति नभएकाले अब पार्टीे जनविद्रोहको दिशामा अग्रसर हुनुको विकल्प नरहेको भनिरहँदा थापाले पार्टी चुनावमा जान सक्ने संकेत गरेका थिए । आफूहरूले राखेको चारबुँदे प्रस्तावमा उच्चस्तरीय राजनीतिक समिति सहमत भए पार्टी चुनावमै जाने उनको भनाइ थियो । ‘खिलराज रेग्मीकै नेतृत्वमा भए पनि राष्ट्रिय सहमतिको सरकार बने र गोलमेचसभामार्फत संविधानका अन्तरवस्तु टुंग्याइएको खण्डमा पार्टी चुनावमा जान्छ,’ उनले भनेका थिए ।
उच्चस्तरीय समिति र मन्त्रिपरिषद्का तर्फबाट सहमतिको पहल भए पनि त्यसले सार्थकता नपाएपछि राष्ट्रपतिले सर्वदलीय बैठक डाकेका थिए । सर्वदलीय बैठकमा असन्तुष्ट दलहरूको मोर्चाका तर्फबाट माओवादीले चुनाव चैतमा सार्नुपर्नेलगायत चारबँुदे प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया