फस्टायो दुग्ध व्यवसाय

कीर्तिपुर : कीर्तिपुरको पाण्डेछाप क्षेत्रमा यातायात सेवा सञ्चालनमा आएपछि पाण्डेछाप र यस आसपासका क्षेत्रको दुग्ध व्यवसाय फस्टाएको छ ।
अत्यधिक रूपमा गौपालन व्यवसाय सञ्चालन हुँदै आएको पाण्डेछाप क्षेत्रमा विगतका समयमा यातायात सेवाकै अभावले गर्दा यहाँको उत्पादित दूधले बजार पाउन नसके पनि यातायात सेवा सुचारु गरिएसँगै यहाँको दूधले कीर्तिपुरलगायत स्थानमा बजार लिएको छ ।
यातायात सेवा सञ्चालन नहुँदा कीर्तिपुर बजारमा दूध ल्याउन लगभग ४५ मिनेट पैदल हिँड्नुपरे पनि तीन महिनायता गरिएको यातायात सेवाको सञ्चालनसँगै निकै राहत भएको स्थानीय कृषक धनबहादुर श्रेष्ठले बताए । यातायात सेवा सञ्चालनसँगै बिहानको समयमा दूध बिक्रीका लागि ल्याउन निकै सहज भएको र जसका कारण गौपालनतर्फ कृषक अझै आकर्षित भएको उनको भनाइ छ ।
राजधानीभित्रै रहेर पनि लामो समयसम्म यातायात सेवा सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले निकै समस्या भोगिरहेकामा यातायात सेवा सञ्चालनले अत्यन्त हर्षित बनाएको श्रेष्ठ बताउँछन् । यातायात सेवाले गर्दा यस क्षेत्रमा उत्पादित तरकारी तथा अन्य उत्पादन पनि कीर्तिपुर, बल्खुका साथै कालिमाटीसम्म पुर्‍याउन निकै सजिलो भएको कृषकहरुले बताए । (सौस)

प्रतिक्रिया