कृषि र ऊर्जामा लगानी बढाउन आग्रह

Shankar-Koiralaकाठमाडौं, १ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ऊर्जा, कृषि, पर्यटन र औद्योगिक क्षेत्रमा लगानी बढाउन बेल्जियम सरकारसँग आग्रह गरेका छन । बेल्जियमको ईष्ट लान्डर प्रोभिनेन्सका गभर्नर जान ब्रायर्सले गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले वैदेशिक लगानी आकर्षित गर्न सरकारले लगानी सुरक्षाको प्रबन्ध मिलाएको बताएका हुन् ।
उनले नेपालमा लगानी गर्दा चीन र भारतजस्ता ठूला देशमा समेत बजारको पहुँच हुने भएकाले त्यसको समेत फाइदा उठाउन आग्रह गरे । नेपाल तथा बेल्जियमबीच विद्यमान सरकारी तथा निजीस्तरको सम्बन्ध प्रगाढ र विस्तार हुँदै गइरहेको उल्लेख गर्दै उनले बेल्जियम सरकारले नेपालको विकास प्रक्रियामा पुर्‍याएको सहयोगको सराहना गरे । मन्त्री कोइरालाले भने, ‘बेल्जियम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षको अवसरमा आयोजित मेलाको राष्ट्रिय पाहुना बनाएकोमा आभार प्रकट गर्छु ’ ।
उनले विश्वका प्रख्यात उच्च हिमाल, बुद्घको जन्मभूमि तथा प्रसिद्घ सम्पदाहरूको धनी मुलुक नेपाल भ्रमण गर्न पनि आह्वान गरे । प्रत्युत्तरमा गभर्नर ब्रायर्सले नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै अघिल्लो वर्ष पाँच हजार बढी बेल्जियम नागरिकले नेपाल भ्रमण गर्ने बताए । उनले मेला अवधिभर स्थानीय टेलिभिजन च्यानलले नेपाललाई विशेष महत्त्व दिँदै पर्यटकीय तथा सांस्कृतिक आकर्षण झल्काउने वृत्तचित्र प्रसारण गरेको र करिब २० लाख दर्शकले नेपालसम्बन्धी वृत्तचित्र हेरेको जानकारी दिए ।
सो अवसरमा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली, उद्योग मन्त्रालयका जितबहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, युरोपस्थित नेपाली व्यावसायी र नेपालसंग चासो राख्ने युरोपेली नागरिकहरूको उपस्थिति थियो । सोमबार मन्त्री कोइरालाले बेल्जियमको इपर नगरमा प्रथम तथा द्वितीय विश्वयुद्घमा ज्यान गुमाएका नेपालीको सम्झनामा इपरको मेनिन गेटमा रहेको स्मारकस्थलमा पुष्पगुच्छा अर्पण गरे । सो अवसरका राजदूत पोखरेलले दिवंगत नेपालीको सम्झनामा स्मारक बनाउन स्थानीय नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने आश्वासन दिइसकेको जानकारी गराएका थिए । मन्त्री कोइरालाले नेपालको संस्कृति र शान्ति झल्काउने स्मारक बनाउन दूतावासले अघि बढाइरहेको कार्यमा सरकारले आवश्यक सहयोग गर्ने वचन पनि दिएको अर्थमन्त्रीको आर्थिक सल्लाहकारले जनाएका छन् ।

प्रतिक्रिया