नेपालको राजनीतिमा नेता

Janardan-Poudelनेपालमा भुइँखुट्टे नेता त धेरै जन्मे तर राजनेता भने कमै जन्मेका छन् । जन्मेका केही राजनेतामध्ये पनि प्राय: निधन भइसके । राजनेताको अभावका कारण नेपालको राजनीति विकृत भई सिंगो नेपाली समाजमा नै राजनीतिप्रति असन्तुष्टि पैदा भइरहेको सहजै अनुमान गर्न सकिन्छ । आज जुझारु र जागरुक भनिने युवा तथा शिक्षित वर्ग राजनीति भनेपछि घिन मान्न थालेका छन् । विद्यार्थी राजनीतिकै कुरा गर्ने हो भने राम्रा विद्यार्थी राजनीतिमा लागेको कमै पाउन सकिन्छ । जो कक्षामा पढ्न नसकेर पटकपटक फेल हुन्छन्, जो जहिले पनि अन्तिम बेन्चमा बसेर हल्ला गर्छन्, जो बल्लबल्ल चार पाँचचोटि लगाएर उत्तीर्ण हुन्छन् त्यस्तै खालका विद्यार्थी मात्र राजनीतिमा संलग्न हुने गरेको पाइएको छ । यिनैले धानिरहेका छन्, नेपालको विद्यार्थी राजनीति । जसले गर्दा विद्यार्थी राजनीतिमा अनुशासनको अभाव देखिएको छ । यिनै विद्यार्थी नेता भोलिका दिनमा देशको नेता भए भने तिनले राजनीतिनक व्यवस्था कसरी चलाउलान् त प्रश्न यहीँनेर छ  । समग्र राजनीतिको नेतृत्व गर्लान् भनेर कसरी पत्याउने ? हिजोआज त राजनीति भनेको सबैलाई झुक्याउने, छक्याउने, आफ्नो व्यक्तिगत फाइदाका लागि अरूको भ्रष्टाचारलाई लुकाउन गरिने नराम्रो खेल हो भन्ने आम मानिसलाई परिसकेको छ । यसरी आम मानिसमा राजनीतिक व्यवस्थाप्रति वितृष्णा पलाउनुका विभिन्न कारण छन् । जसमध्ये प्रमुख कारणचाहिँ नेताहरूले गर्ने हरेक निर्णय विदेशीको इशारामा हुनु नै हो । नेपालका राजनीतिज्ञले आफ्नो देशमा पर्ने समस्या आफँै समाधान गर्न सक्छौँ, विदेशीलाई गुहार्दैनाँै, लम्पसार पर्दैनाँै भनेर जबसम्म जनतालाई विश्वास दिलाउन सक्दैनन् तबसम्म नेपालको राजनीतिप्रति आम जनता आश्वस्थ हुन सक्दैनन् । जनतामा राजनीतिप्रति वितृष्णा हट्दैन तबसम्म राजनीति राम्रो ढंगले सञ्चालन हुन सक्दैन । हिजोआज नेपालको राजनीतिले असाध्यै नराम्रो सन्देश प्रवाह गरिरहेको छ । जसअनुसार नेपालका सरकार र राजनीतिक दलको रिमोट कन्ट्रोल छिमेकीहरूको हातमा छ त्यहाँ रिमोट चलाएपछि यहाँ परिवर्तन हुन्छ भन्ने भान आम नेपालीलाई परेको छ । नेताका व्यवहार र उनीहरूकै भनाइले यी सब कुरा प्रस्ट भइसकेका छन् । चाहे त्यो भारतीय परराष्ट्रमन्त्रीको द्वारिका होटेलको कान्ड होस् वा भारतीय नेता नितीश कुमारको तराईको रात्रीभोज । नेताहरूलाई नारायणहिटी दरबारले अलिअलि के छाडेको थियो सँगसँगै अनवरत दिल्ली दरबारको दौड सुरु भइसकेको छ । यसअघि इतिहासका कालखण्डहरूमा के भए के भएनन् जनताले थाहा पाउँदैनथे । तर, आज जनता धेरै सुसूचित छन् । मिडियाले यसका लागि धेरै राम्रो भूमिका खेलेको छ । हिजोआज खेलिन लागेको संविधानसभाको गाइजात्रे नाटक पनि कहिलेसम्म मञ्चन भइरहने हो कसैलाई थाहा छैन । नेताहरू देश संक्रमणको स्थितिमा छ भनेर भाषणमा भन्न  भुल्दैनन् अनि संक्रमणबाट पार लगाउने काम  पनि गर्दैनन् । वास्तवमा देशलाई संक्रमणको स्थितिमा पुर्‍याउने प्रमुख जिम्मेवार को हुन् त ? देशलाई संक्रमणबाट पार लगाउने जिम्मा कसको त ? नेताहरूको काम आपसमा दोषारोपण गर्नेबाहेक अरू केही छैन त ? सहमतिका नारा यिनको मुखको सस्तो रटान मात्र भएको पाइएको छ । सहमतिको नजिक पुग्ने सहमति भएको छ, सहमतिका लागि सहमति भएको छ भनिरहन नेताहरूलाई लाज लागिरहेको छैन् । कहिल्यै सहमति गर्न नसक्ने अनि सहमति शब्दचाहिँ मुखबाट नटुटाउने नेतागणलाई के भन्ने ? वास्तवमा गहिरिएर सोच्ने हो भने लोकतन्त्र बोकाको मुखमा कुभिन्डो भएजस्तो लाग्छ नेताहरूलाई । जनताहरू नेताका वक्कमफुसे भाषण  सुन्दासुन्दा दिक्क भइसकेका छन् । जसले नेपालको राजनीतिलाई विकृत बनाउने काम गरेको छ । वास्तवमा राजनीति समाजको यस्तो अंग हो जसले सिंगो समाजलाई निर्देशित गरेको हुन्छ, पथप्रदर्शित गरिरहेको हुन्छ । हरेक राजनीतिक व्यवस्थामा जनताको राजनीति र राजनेतामा आस्था, आड, भरोसा  र इज्जत हुने गर्छ । जबजब देशको राजनीति विकृत बन्दै जान्छ तब राजनीतिप्रति वितृष्णा बढ्दै जान्छ । त्यस अवस्थामा सिंगो राजनीतिक व्यवस्था अनि मुलुकको शासन प्रणालीमै समस्या उत्पन्न हुन जान्छ । यसका निराकरणका लागि देशमा भुइँखुट्टे नेताहरूको संख्यामा कमी भई राजनेताको जन्म हुन आवश्यक छ ।
नेपालको राजनीति विद्यार्थी राजनीतिबाट सुरु गर्ने गरेको पाइन्छ । विद्यार्थी राजनीतिबाटै यहाँ ठूल्ठूला नेता जन्मिएका उदाहरण हामीसामु धेरैनै छन् । कुरा आजभन्दा सात वर्ष अघिको हो जतिखेर म काठमाडांैको एउटा कलेजमा स्नातकोत्तर अध्ययन गर्नका लागि भर्ना भएको थिएँ । मलाई त्यतिखेर राजनीतिमा खासै चासो थिएन । विभिन्न विद्यार्थी संगठनका साथी दैनिकजसो मलाई आफूतिर तान्ने कोसिस गर्थे । उनीहरू मलाई विभिन्न आश्वासन दिन्थे । यसो गर्दिन्छौँ, उसो गर्दिन्छाँै भन्थे तर म भने टसमस नभई उनीहरूलाई नगनी खालि अध्ययनमा  मात्र  व्यस्त रहन्थँे ।  मेरा साथी ती नेतागणलाई निकै ठूलो ठान्थे तर  म भने यी भुइँखुट्टे नेताको पछि लाग्नु छैन भन्थेँ । मेरा साथीचाहिँ उसलाई निकै शक्तिशाली ठान्थे । एकदिनको कुरा हो कलेजमा एउटा औपचारिक कार्यक्रम भएको थियो त्यस कार्यक्रममा प्रमुख अतिथि भएर तत्कालीन शिक्षामन्त्री आएका थिए ।  ती विद्यार्थी नेतालाई शिक्षामन्त्रीले भने मञ्चको छेउमै उभिएर के छ भाई सब ठीक ठाक छ ? राम्रै चलिरहेको छ नि राजनीति ?  । यति गरिसकेपछि ती भुइँखुट्टे नेताको नाक टिप्न बिर्सेको घिराँैलाभन्दा पनि ठूलो देखियो । यतिले मात्र नपुगी कार्यक्रम सकिएपछि ती भुइँखुट्टे नेतालाई एकान्तमा लगी दुईचार कुरा कानेखुसी पनि गरे, अनि ढाडमा धाप पनि मारे ती मन्त्री भनाउँदा महोदयले । त्यस घटनापछि मैले थाहा पाएँ, आखिर यही रहेछ त्यस भुइँखुट्टे नेताको शक्ति  । उसले सबै विद्यार्थीलाई म त मन्त्रीको मान्छे हुँ । मैले चाहँे भने जे पनि गर्न सक्छु भन्दो रहेछ । त्यसैले आम विद्यार्थी ती  भुइँखुट्टे नेताका पछि लागेका रहेछन् । रहस्य मलाई त्यतिखेर मात्र थाहा भयो । मैले यतिखेर यो प्रसंग किन ल्याउन खोजेको हो भने त्यतिखेरको विद्यार्थी राजनीतिको रङ हालका दिनमा भने मुलुकको सिंगो राजनीतिमा प्रस्ट देखापर्न थालेको छ । केही दिन अघाडि नेपाली कांग्रेसका एकजना नेतालाई भारतीय कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले दिएको भेटका बारेमा निकै प्रचारमा आएको थियो । नेपालका अन्य नेताहरूलाई उनले भेट्ने समय नदिई शेरबाहादुर देउबालाई मात्र समय दिएको चर्चित प्रसंग  शेरबहादुर­सोनिया भेट प्रसंग । फलानो नेतालाई लिन प्रधानमन्त्री मनमोहन सिंह आफँै आए र अनि फलाने आउँदा चाहिँ विदेश मन्त्री मात्र आए  । वास्तवमा भारतको कुनै नेताले भेट दिए नदिएको विषयलाई लिएर नेपाली राजनीतिमा चर्चा हुनु मूल्यांकन हुनुलाई चाहिँ मैले त्यही भुइँखुट्टे नेतालाई मन्त्रीको धापभन्दा केही फरक पाएको छैन ।

प्रतिक्रिया