चुनावमा सेनाको भूमिका महत्त्वपूर्ण : रेग्मी

काठमाडौं : अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र प्रधानसेनापति गौरवशमशेर राणाबीच सोमबार ४ मंसिरमा हुने संविधानसभाको सुरक्षाका विषयमा छलफल भएको छ । अध्यक्ष रेग्मीले शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न गर्न सेनाको भूमिका महत्त्वपूर्ण हुने भन्दै सेनापति राणालाई शान्तिसुरक्षाका विषयमा चनाखो रहन निर्देशन दिएको स्रोतले जनाएको छ ।
संविधानसभाको दोस्रो चुनाव नजिकिँदै जाँदा अध्यक्ष रेग्मीसँगको नियमित भेटका लागि राणा सोमबार प्रधानमन्त्री कार्यालय पुगेका थिए । अध्यक्षका प्रेस संयोजक आरपी पाण्डेले ४ मंसिरमा हुन लागेको संविधानसभा चुनाव सफल पार्न अपनाउने सुरक्षा रणनीतिका साथै त्यसको तयारीबारे अध्यक्ष र सेनापतिबीच गम्भीर छलफल भएको जानकारी दिए । ‘मुलुकको पछिल्लो सुरक्षा अवस्था र चुनावमा अपनाउने भूमिकाबारे छलफल भएको छ,’ प्रेस संयोजक पाण्डेले भने ।
पाण्डेका अनुसार प्रधानसेनापतिले आफ्नो बेलायत भ्रमणबारे पनि अध्यक्षलाई ब्रिफिङ गरेका थिए । उनले नेपाली सेना र बेलायती सेनाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै भ्रमणले सम्बन्ध थप प्रगाढ भएको बताएका थिए । उनले मानवअधिकार उल्लंघनको आरोपमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको अवस्थाबारे पनि जानकारी गराएका थिए ।
राणाले रक्षा मन्त्रालयमा रोकिएको सेनाको विभिन्न प्रस्तावका विषयमा रक्षाको जिम्मेवारीसमेत सम्हालेका रेग्मीसँग चासो व्यक्त गरेका थिए । भेटमा सेनाको हेलिकप्टर खरिद प्रक्रिया, गोली बनाउने मेसिन किन्ने विषयमा उठेको विवादबारे छलफल भएको रेग्मीनिकट स्रोतले जनाएको छ । सेनाले हेलिकप्टर खरिद प्रक्रिया बिनाटेन्डर खरिद गर्न खोजेको र गोली बनाउने मेसिन किन्ने विषयमा पनि विवाद हुँदा रक्षा मन्त्रालयले दुवै फाइल रोकेर राखेको छ ।

प्रतिक्रिया