खस साहित्य र राई साहित्यकार

Bhogiraj-Chamlingकिरात राईहरू खस भाषासँग कहिलेदेखि परिचित भए होलान् ? मोटो रूपमा भन्दाखेरि सोह्रौँ शताब्दीको मध्यतिर पश्चिम नेपालका मुकुन्द सेन प्रथमको साम्राज्य पूर्वका किरात कविला राज्यसम्म विस्तार भएपछि नै राईहरू खस भाषासँग परिचित हुन पुगेका हुन् । भनेपछि राईहरू खस भाषासँग परिचित भएको लगभग चार सय वर्ष भयो । यस चार सय वर्षको अवधिमा राईहरूले खस भाषालाई आफ्नो अभिव्यक्तिको माध्यम (लेख्य र बोलचाल) सम्मका रूपमा प्रयोग गरिरहेका छन्  । अहिले यस्तो स्थितिसम्म निर्माण भएको छ कि राई लेखकहरू खस भाषामा बढी लेखिरहेका छन्, मातृभाषामा कम लेखिरहेका छन् । उनीहरूले निर्माण गरेको समृद्ध साहित्य मातृभाषामा भन्दा खस भाषामै छ । अब भाषिक समृद्धि आर्जन गर्ने यसलाई राईहरूको मातृभाषामा रूपान्तरण गर्ने महाअभियानको थालनी आवश्यक छ ।
खस भाषाको विस्तार हुनुमा यो शासकहरूको मातृभाषा हुनु र भाषिक एकाधिकारको नीतिलाई राज्यले भाषानीति बनाउनु मुख्य रूपमा जिम्मेवार छ । यो उठिरहेकै विषय हो । र, यही प्रक्रियामा लामो समय अभ्यस्त हुनुपरेपछि स्वाभाविक रूपमा राई लेखकहरू खस भाषामा साहित्य निर्माणमा साधनारत छन् । यो कुरा पहिले बाध्यता थियो । अहिले स्वाभाविक उपक्रम बन्न पुगेको छ । ग्राम्सी यसलाई ‘हेजेमोनी’ (प्रभुत्व) भन्न रूचाउँछन् । शासकहरूले हेजेमोनी निर्माणमा अवश्य बल प्रयोग गर्छन् । तर, समय बित्दै जाँदा त्यही कुरा स्वीकार्य र स्वाभाविकजस्तो बन्न पुग्छ । अनि, मान्छेले आफू हेजेमोनीकृत भएको छु भन्ने नै बिर्सन्छ र उल्टै त्यसलाई आत्मसात् गर्न पुग्छ । यसैलाई ग्राम्सीले शासितहरूको सहमतिमा शासन भन्छन् । हेजेमोनी निर्माण गर्नमा नेपालका खस–आर्यमूलका शासकहरू यसको अपवाद होइनन् । नेपाली समाजमा यसरी निर्माण भएको हेजेमोनी खस साहित्यको सन्दर्भमा कुरा गर्ने हो भने स्वाभाविक कुरामा परिणत हुँदै छ । मेरो भन्नुको अर्थ के हो भने सुरुमा बल प्रयोगद्वारा निर्माण गरिएको खस भाषिक हेजेमोनी अहिले गैरखसभाषीले स्वाभाविक हेजेमोनीका रूपमा आत्मसात् गरिरहेका छन् । हेजेमोनी बल प्रयोबाट स्वाभाविक कुरामा रूपान्तरण हुन पुगेको छ । अहिले खस भाषामा साहित्य लेख्नु हेजेमोनीलाई आत्मसात् गर्नु हो भन्ने आलोचनात्मक सोच नै हामीमा नआउने बरू यो तर्क समाजमा विग्रह ल्याउने तर्क हो भनेर उल्टै हेजेमोनीकै पक्षपोषण गर्ने स्थिति छ ।
हेजेमोनी तीन चरणमा पूरा हुन्छ । सुरुमा बल प्रयोग (जसरी खस भाषालाई जबरजस्त नेपाली भाषा बनाइयो), लामो समयको अन्तरालपछि त्यसमा अभ्यस्त भएर स्वाभाविक यथार्थका रूपमा ग्रहण गर्नु र अन्तमा त्यसैको प्रतिरक्षा गर्नु । नेपाली समाजमा खस भाषिक हेजेमोनीले दोस्रो चरण पार गरिसकेको छ । सैद्धान्तिक हिसाबले खस भाषाको साहित्य निर्माणमा राई लेखकहरूको उपस्थितिलाई खुट्याउने एउटा दृष्टिकोण यो हो ।
दोस्रो कुरा, खस भाषाको साहित्यलाई मात्र ‘नेपाली’ देख्ने दृष्टिकोण हेजेमोनीको प्रत्यक्ष उदाहरण हो । खस भाषाको साहित्य मात्र नेपाली साहित्य हो भन्ने दृष्टिकोणले अरू मातृभाषाका साहित्यलाई अनेपाली बनाइरहेको छ । अर्कोतिर यसलाई जातीय साहित्यमा सीमित गर्ने प्रयत्न सुरु भएको छ । के यस्तो दोहोरो मापदण्ड हुन सक्छ ? खस भाषामा लेखिने साहित्य चाहिँ नेपाली पनि हुने, जातीय पनि नहुने’ खस भाषामा लेख्ने लेखक चाहिँ नेपाली साहित्यकार पनि हुने, अजातीय पनि हुने तर खसइत्तरको मातृभाषाको साहित्य चाहिँ नेपाली पनि नहुने, जातीय पनि हुने’ खसइत्तरको मातृभाषामा लेख्ने लेखक चाहिँ स्थानीय मात्र हुने, जातीय पनि हुने । यही हो अहिलेको हेजेमानीको चरित्र ।
अहिले हामी पनि यति अभ्यस्त हुन पुगेका छौँ कि नेपाली साहित्य भनेर खसइत्तरका साहित्यलाई सम्झिँदैनौँ । नेपाली साहित्य भनेको त नेपालका प्रचलित सबै भाषाको साझा नाम हो । नेपाली साहित्य राई, लिम्बू, मगर, गुरुङ, थारू, थकाली, नेवार, खस सबै भाषाको साहित्य हो । खस भाषाको साहित्यलाई मात्र नेपाली साहित्य देख्ने कुरा भाषिक हेजेमोनी हो । त्यसकारण ‘नेपाली साहित्य’ भन्ने पदावलीलाई अब फराकिलो अर्थमा प्रयोग गर्न थाल्नुपर्छ । देश चाहिँ संघीयतामा जाने, साहित्यमा चाहिँ एकात्मकता बाँकी राख्ने कुरा मिल्दैन । खस भाषालाई मात्र ‘नेपाली’ देख्ने दृष्टिकोण त हिजोको एकात्मक सत्ताको कुरा हो । संघीयताले यसलाई भत्काउने हो ।
जहाँसम्म खस भाषामा राई लेखकहरूको लेखनको कुरा छ, खासगरी राणाशाासनको अन्त्यपछि उनीहरूले बलियो उपस्थिति देखाएका छन् । खस भाषाको साहित्य राई लेखकहरूको लेखनबाट धेरै समृद्ध हुन पुगेको छ । खस साहित्यमा सिद्धान्त निर्माणदेखि सिर्जनाको क्षेत्रमा उनीहरूले काम गरेका छन् । वैरागी काइँला र ईश्वरबल्लभसहित इन्द्रबहादुर राईले आयामेली आन्दोलनलाई सैद्धान्तीकरण गर्न तथा उपन्यास र कथामा उतार्न निर्वाह गरेको नेतृत्वदायी भूमिका, इन्द्रबहादुर राई आफैँले लीलालेखन (यसबारे सैद्धान्तिक बहस गर्न सकिन्छ)को सिद्धान्त निर्माण र साहित्य सिर्जनामा गरेको रूपान्तरण यी दुवै कुराको खस साहित्यमा व्यापक प्रभाव छ । आयामेली आन्दोलन त खस साहित्यमा मौलिक योगदानै हो । सिद्धान्त निर्माणको सन्दर्भमा अहिले युवा लेखकहरूको पनि उत्तिकै सशक्त उपस्थिति देखिँदै छ । उपेन्द्र सुब्बा र हाङ्युग अज्ञातसहित राजन मुकारुङको ‘सिर्जनशील अराजकता’ आन्दोलन पनि वैचारिक र सिर्जना (कविता र उपन्यास विधा) दुवै हिसाबले अहिले सामाजिक प्रभाव निर्माण गर्न सफल देखिँदै छ ।
साहित्य सिर्जनाको मात्र कुरा गर्दा नेपालबाहिर मूलत: भारतीय र नेपालभित्रका राई लेखकहरूको धेरै लामो लर्को छ । जसराज किराती, भूपाल राई र श्रवण मुकारुङ त आफ्नो समयका अब्बल कविहरू नै भए । अहिले आएर नाकिमा, हेमन यात्रीजस्ता युवाकवि नयाँ समयका कविका रूपमा देखापर्दै छन् । खस साहित्यको समृद्धि राई लेखकहरूको बौद्धिक उपस्थितिमा पनि आर्जन भएको हो । अबको संघीय नेपालको आवश्यकता खसभाषी लेखकहरूले पनि राई भाषाको साहित्यलाई समृद्ध बनाउन यसरी नै योगदान गर्नु हो । यस्तो सहअस्तित्वले मात्र नेपाली समाजमा नयाँ उचाइमा राष्ट्रिय एकताको निर्माण हुन सक्छ । पृथ्वीनारायण शाहले सोचेको एकात्मक राष्ट्रियताले अबको नेपाललाई नेतृत्व गर्न सक्दैन । (‘नमन’बाट)

प्रतिक्रिया