कलाकार संघको साधारणसभा

kalaar-sanghचलचित्र कलाकार संघको १२औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सुरु भएको छ । संघको स्थापना वर्षकै बराबरी २६ वटा बेलुन उडाएर साधारणसभाको उद्घाटन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकार चलचित्रको विकास र प्रबद्र्धन गर्न प्रतिबद्ध रहेको आश्वासन दिए । उनले चलचित्र क्षेत्रको  संस्थागत सुधारका  लागि सरकार सधैँ सकारात्मक रहेको समेत बताए ।
उक्त अवसरमा अध्यक्ष रेग्मीले वरिष्ठ कलाकारका साथै पत्रकारलाई सम्मान गरे । सम्मानित हुनेमा कलाकारहरू मिथिला शर्मा, कृष्ण मल्ल, निशा अधिकारी, अर्जुन पोखरेल, विल्सनविक्रम राई, सुशील पोखरेल, राजाराम पौडेल छन् । सम्मानित हुने पत्रकारमा कृष्ण भट्टराई र दिपेशराज थारू छन् । उनीहरूलाई ताम्रपत्रका साथै नगद राशीबाट सम्मान गरिएको थियो ।
चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले केही समयअघि सगरमाथाको सफल आरोहण गरेका कलाकार अर्जुन पोखरेल र निशा अधिकारीको नाम गिनिज बुक अफ वल्र्ड रेकडर््समा लेखाउन सहयोग गर्न मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराए । यस्तै, महासचिव रामकेशर बोगटीले संघलाई जग्गा उपलब्ध गराउन आग्रह गरे ।
कलाकारहरूले चलचित्र विकास बोर्डमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए । कार्यक्रममा मर्यादा मिचेर आसन ग्रहणका लागि बोलाइएको भन्दै चलचित्र समाज महासंघका अध्यक्ष केपी पाठकले अगाडि ड्यासमा बस्नै अस्वीकार गरे । यस्तै, कलाकार संघी पूर्वअध्यक्ष वसुन्धरा भुसाल पनि रिसाएरै कार्यक्रमको बीचमा नै उठेर हिँडेकी थिइन् । उनले अतिथि ब्याज लगाउनै अस्वीकार गरिन् ।

प्रतिक्रिया