उत्तरवर्ती सोच : क्रमबद्ध यात्रा

Sagun_Susaraसाहित्यमा एउटा सोच हो– उत्तरवर्ती सोच । यो पाँचथरबाट प्रस्तावित एउटा सोच (अभियान) हो । यो मोफसलको सोच (आन्दोलनभन्दा पनि हुन्छ) हो । यो साहित्यिक सोच (अभियान/आन्दोलन) हो । यसले साहित्यमा स्व–पहिचान वा स्व–अस्तित्वलाई प्रमुख मुद्दाका रूपमा उठाएको छ । खासगरी, एकलकाँटे साहित्य लेखनलाई बहुलवादी बनाउने यसको अर्को उद्देश्य पनि हो । नेपाली समाज नै बहुलवादी हो भने साहित्य पनि त्यस्तै हुनु यसको यथार्थ हो । यसको घोषणा एकसाथ होइन, विभिन्न चरणमा हुँदै आएको छ । आफू उभेको माटो लेख्न सक्नु पनि यसको विशेषता हो । उत्तरवर्ती सोचको आधिकारिक घोषणा २०६० पुसमा प्रकाशित ‘साहित्यिक चक्रव्यूह’बाट भएको हो । यसको घोषणामा पहिलो अंकको ‘हाम्रो पक्ष’ सम्पादकीय लेख नै हो । जुन यसप्रकार छ—
‘साहित्य बनाउनुमा निर्वैयक्तिकता, निस्सिमता र धेरथोर सांस्कृतिक वैविध्यता पनि ऐंजेरु पलाएको जीवन  र झ्याउ उम्रेको वस्तुतामै आइसकेको हो । त्यत्तिले हामी अघाएनौं । लाग्यो, बौद्धिकता अघाउञ्जेल उत्तरवर्ती सोचले खुराक ल्याउँदै छ तर सेरोफेरोमा अझै चित्त बुझेन ।
लागेको छ— कुनै पनि सीमाको अति उत्कर्ष चरमबिन्दु हुन्छ र त्यसको लौकिक प्राप्तिपछि भने पुन: पुरातन संरचनामा मान्छेले र युगले फर्कनुपर्छ— अहिले तल—माथि गरेर हामी त्यै भोग्दै छौँ । त्यो फर्कनुअघिको प्राप्तिका लागि हामी विनिर्मित साहित्य चहार्दै छौँ । अरूले साहित्य लेखे, गरे, खेले—हामी साहित्य बनाउँदै छौँ । वास्तविकता जीवन र वस्तुताले भोगिरहेको भन्दा पनि अति यथार्थ हुन्छ— त्यो हाम्रो सोच छ । त्यो अति यथार्थको कायाकल्प लाटोकोसेरोको सपना देख्ने हामीसमक्ष उपस्थित भएका प्रत्येक दिनले सुरसाको दाह्रा फैलाएको हुन सक्छ । तर, भावनात्मक निस्सिमताले हनुमान भुसुना भएर सुरसाको आकांक्षालाई धरासायी तुल्याउनुपर्छ भन्ने हाम्रो पक्ष हो ।
जमाना पाश्चातेली हिप्पीहरूले पनि खोजेकै हुन् । तर, आकांक्षित चरम आनन्दको तकाजा टेक्न खोज्दा पुन: पुरातन संरचनारम्भमा फर्कनुपर्ने भयो । त्यसो र हामी संरचना, नवसंरचनाले नअघाएर उत्तरवर्ती चहार्दै छौँ सम्पूर्णतामा । एकल्ता अपांग हुन्छ र वैशाखीले हिँड्ने जीवन र वस्तुता पनि नकामको हुन्छ– भन्छ – आजको सामाजिक पराकाष्ठाले पनि । मुखियाको सिरक ओढेर कुटुम्बेरीको धाक लगाउने पक्षमा हैन– जीवनको चरमोत्कर्ष सचेतता वस्तुताको रहर लाग्दो बैंस, सम्पूर्णताको अस्तित्वको दाबी र विनिर्मित यथार्थको पक्षमा ।’
नेपाली साहित्यमा सुरसाको बुहार्तन अब नचल्ने कुरामा धेरैको एकमत हुनुपर्छ भन्ने हाम्रो ठम्याइ हो । नत्र उही ऐंजेरु पलाएको जीवन मात्र त रहन्छ । यही भएर साहित्य बनाउनमा हामी लागेका छौं । साहित्य निर्माणमा विर्निमित साहित्य चहार्ने हो । पहिलो घोषणापत्रमा यही थियो । ‘साहित्यिक चक्रव्यूह’को दोस्रो अंक २०६१ पुसमा प्रकाशन भयो । त्यसको हाम्रो पक्षमा ‘उत्तरवर्ती बिन्दु समूहको घोषणापत्र – २’ यस्तो बन्यो —
(१)    तथाकथित भूमण्डलीयकरणको अस्वीकार,
(२)    समग्रतावादी सार्वभौमिक सत्यको अस्वीकार,
(३)    स्व–स्वायत्तता र आत्मनिर्णयको अधिकारको दाबी,
(४)    बहुलवादी नेपाली साहित्यमा नयाँ अस्तित्वको दाबी,
(५)    नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दाबी,
(६)    उत्तरआधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्धान्तिक खोज ।
खासगरी, यो दोस्रो अंकमा उत्तरवर्ती सोचले आफ्ना मूल मान्यता वा सिद्धान्तलाई बुँदागत रूपमा ल्यायो । पहिलो अंकमा चाहिँ समग्रमा भन्न सुरु गरेको थियो जसको यो समयसम्म विभिन्न छलफल र अध्ययन भएको हो । विमर्श भएको हो र यहाँसम्म आउन यो समय लागेको हो—बुँदागत । साँच्चै समयसँग यसलाई समायोजन गर्न सक्नु आफ्नो पहिलो काम थियो । त्यसको यात्रामा छ—विमर्शमा छ ।
यहाँ बुझ्नुपर्ने कुरा एउटा भूमण्डलीयकरणको अस्वीकार भन्नाले समग्रलाई बुझाउँदैन । तथाकथित शब्द अगाडि आएको छ । सामाजिक, सांस्कृतिक जीवनमा नकारात्मक असर, प्रभाव पार्नेलाई मूल लक्ष्य हो । यसको मतलब एक भाषा, एक संस्कृतिको नीतिलाई हो । त्यसो त यताको उता भूमण्डलीकरण पनि हो । जो सौहार्द्र, स्वैच्छिक हो—समान अस्तित्वको हो । जबरजस्ती होइन । त्यो अराजकको विरोध पो अथवा एकलताको विरोध हो—बहुलताको समर्थनमा ।
त्यस्तै ‘साहित्यिक चक्रव्यूह’को तेस्रो अंक २०६३ पुसमा निस्कियो । त्यसको हाम्रो पक्षमा उस्तै ‘उत्तरवर्ती बिन्दु समूहको घोषणापत्र – ३’ यस्तो बन्यो —
‘हाम्रो ठानेको– हामीले दाबी र अस्वीकार गरेका पक्षहरूको पक्ष त विगतकै अंकको हुँदै हो । यो आगमन, प्रतिगमन र बहिर्गमनको हाम्रो कथित राष्ट्रिय सत्ताको खेलसँगै साहित्य क्षेत्रको क्रमबद्धता एवं  विशृंखलित यामहरूलाई हेर्नु पनि हाम्रो सार्थकता हामीले ठानेका छौँ ।
स्व–स्वायत्व अस्तित्वबोधको यो असहज परिस्थितिलाई सहजतापूर्वक अँगालेर अग्रगामी भूमिकातिर हाम्रो गतिशील यात्रा आरम्भको तेस्रो मार्गचित्रमा हामी आइपुग्दा अब उसो ‘सत्ता शक्तिनिर्मित इतिहासको अस्वीकार’समेत हाम्रो पक्ष घोषित भयो ।’
उत्तरवर्ती सोचले यसरी आफ्नो घोषणापत्र एकसाथ ल्याएन, हरेक अंकमा थप्दै आयो । अन्य साहित्यिक आन्दोलन/अभियानभन्दा फरक रूपमा आयो । अस्वीकार, दाबी र खोजको संयोजनले उत्तरवर्ती सोचको मार्ग अघि बढेको छ । यसले पनि यो फरक बन्यो । अस्वीकार र दाबी कुनै आन्दोलन (साहित्यिक)मा अहिलेसम्म आएको छैन ।
अस्वीकार, दाबी र खोजलाई आफ्नो मुख्य बुँदाको रूपमा राखेर आएको हो । तेस्रो अंकमा आएर सत्ताको शक्तिले बनाएको इतिहासलाई पनि अस्वीकार गर्‍यो । जुन आजसम्म अनुपस्थितिको विरुद्धमा थियो । यो समाज उपस्थितिको मात्र होइन । अनुपस्थितिको पनि हो । अस्तित्व सबैको हुनुपर्छ—छ । एकल जातिको साहित्य मात्र नेपाली साहित्य होइन । यहाँ बसोबास गर्ने सम्पूर्ण जातिको साहित्य नेपाली साहित्य हो । त्यसलाई राष्ट्रिय साहित्यको मान्यता दिनुपर्छ । समान मान्यताको हुनुपर्छ ।
आजसम्म जेजति मान्यता वा वादहरू आए सब पाश्चात्यको प्रभाव बढी रह्यो । यसो भएकाले अब यतैबाट पनि नयाँ सोचका रूपमा आउनुपर्छ भन्ने सोच हो—उत्तरवर्ती सोच । त्यसको खोज भइरहेको छ—उत्तरवर्ती सोचमा । समय लाग्न सक्छ । किनभने, यो यात्रा लामो यात्राको हो । यो यसरी यहाँसम्म आइपुगेको छ ।
‘साहित्यिक चक्रव्यूह’को प्रकाशन पाँचथरबाट भएको हो । यसको सम्पादन परिवार पनि अरू पत्रिकाभन्दा फरक छ ।
शीर्षस्थ बिन्दु    —    भवानी तावा
केन्द्र बिन्दु    —    सगुन सुसारा
मध्य बिन्दु    —    राज माङ्लाक
—    थाम्सुहाङ यलम्बर
कला बिन्दु    —    समीर
मार्ग बिन्दु    —    चन्द्रकला लावती (तावा)
पत्राचार बिन्दु    —    फिदिम–१, पाँचथर
यो परिवारमध्ये समीर मात्र दार्जिलिङमा जन्मेका हुन् । अरूमा भवानी तावा नांगिनमा जन्मे पनि थातथलो फिदिम हो । सगुन सुसारा– रवि, राज माङ्लाक– आङ्ना, थाम्सुहाङ यलम्बर– याङ्नाम । तेस्रो आयाम, लीला लेखन, सिर्जनशील अराजकताभन्दा यसमा पाँचथरको समूह यसमा बृहत् देखिन्छ । र, यसको साथमा आउनुभएका पुष्प थाम्सुहाङ अघोषित समालोचक थिए । तर, अब त्यो पनि रहेन । खासमा यसका समालोचना बिन्दु पुष्प थाम्सुहाङ नै हुन् । उनका लेखहरूले यसलाई सरल, सरस बनाएको छ । पाठक, समालोचक वा जिज्ञासुलाई थप स्पष्टताको जग हालेको छ । सिर्जनामा मात्र हाल यो सोचको बढी काम भइरहेको छ । अब चाँडै यसको व्यापक छलफलको कार्यक्रम आउन लागेको छ । यसले यो सोचप्रति जिज्ञासा राख्नेहरूलाई थप टेवा पुग्नेछ ।
उत्तरवर्ती सम्बद्ध कृतिहरू :—
सगुन सुसारा— माङ्फुनको कायाकल्प
एलबी अगेन— माङ्गेना

प्रतिक्रिया