एघार हजार घरधुरीमा बिजुली

गोरखा, २८ भदौ । गोरखाको उत्तरी क्षेत्रमा ११ हजार घरधुरीले लघुजलविद्युत् परियोजनाबाट बिजुली बत्ती बालेका छन् । नेपाल सरकार वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्र, कादुरी र क्षेत्रीय नवीकरण ऊर्जा केन्द्र दमौलीको छुट्टाछुट्टै आयोजनाबाट सो संख्याका घरधुरीले बत्ती प्रयोग गर्न पाएका हुन् । लघुजलविद्युत्का कारण यहाँका मानिसलाई सञ्चारका साधन चलाउन, कुटानीपिसानीका मिल चलाउन, समिल चलाउन र ससाना घरेलु उद्योग सञ्चालन गर्न सजिलो भएको छ । नवीकरणीय ऊर्जासँगै सोलार पाता जडान गरिएका बिजुलीले यहाँको विकासमा ठूलो भूमिका खेलेको छ ।
जिल्लाका नौली खोला, घट्टे खोला, आर्खेत खोला, झ्याल्ला खोला, अँधेरी खोला, हुण्डी खोलालगायतका खोलाबाट दुईदेखि तीन ठाउँबाट बिजुली निकालिएको छ । लघुजलविद्युत् उत्पादनका कारण यहाँको पर्यटन व्यवसायअघि बढाउन सजिलो भएको छ । यसले स्थानीय उत्पादनको खपत बढ्नुका साथै गरिबी न्यूनीकरणमा सहयोग पुर्‍याएको छ ।
सजिलै देख्न सकिने पछिल्लो उदाहरण केरौंजास्थित भूत खोलाबाट निकालिएको बिजुलीले गुम्दाको माछा खोला बजारमा पारेको प्रभाव हो । यहाँ विद्युत् उत्पादन हुनुअघि सामान्य रूपमा समेत खाने बस्ने ठाउँको व्यवस्था थिएन । गएको दुई वर्षमा यहाँ पर्यटन क्षेत्रको विकास भई स्टार तहका होटल तथा लज स्थापना भएका छन् । वैदेशिक रोजगारमा गएकाहरू घर फर्केर यहाँबाट सेवा प्रदान गरिरहेका छन् । पर्यटकले सुविधा पाएका छन् । स्थानीयले थोरै भए पनि रोजगारी पाएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रका प्राय: सबै गाउँमा बिजुली बत्तीको पहुँच पुगेको भए पनि सबै क्षेत्रमा उत्तिकै विकास भने हुन सकेको छैन । विकट भौगोलिक अवस्था, बाटोको असुविधा, व्यापक गरिबी, घट्दो जनसंख्या र शैक्षिक चेतना अभावमा समानुपातिक विकास हुन सकेको छैन । उत्तरी गोरखाको विकासका लागि सरकारी निकायको समेत कम ध्यान पुग्ने गरेको त्यस क्षेत्रको विकासमा चासो राख्ने संघसंस्थाले गुनासो गरे । तल्लो क्षेत्रको विकासका लागि माथिल्लो क्षेत्रको सरह बजेट विनियोजन गर्ने हो भने केही वर्षभित्र उत्तरी गोरखाको अवस्थामा ठूलै सुधार आउने सिर्दीवासका धनबहादुर गुरुङ बताउँछन् ।

प्रतिक्रिया