सार्वजनिक सेवा पारदर्शी र जनउत्तरदायी बनाइनुपर्ने

काठमाडौं, २८ भदौ । अन्तरिम निर्वाचन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सार्वजनिक सेवालाई पारदर्शी एवं जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार सिंहदरबारमा आयोजित एक समारोहमा यो वर्षको निजामती सेवा पुरस्कार प्रदान गर्दै उनले नागरिकमैत्री सेवा प्रवाह सरकारको चाहना भएकाले त्यसलाई पूरा गर्न निजामती सेवाका हरेक कर्मचारी संवेदनशील हुनुपर्ने बताए ।
स्वतन्त्र, निष्पक्ष, जनमुखी एवं प्रभावकारी सेवा प्रवाहबाटै सेवाग्राहीको विश्वास जित्न र सरकारप्रतिको उनीहरूको आस्था अभिवृद्धि गर्नु आवश्यक भएको बताउँदै रेग्मीले सुशासनको प्रत्याभूति गराउनेतर्फ पनि कर्मचारी वर्ग सचेत रहनुपर्ने बताए ।
समारोहमा अध्यक्ष रेग्मीले काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त भाइकाजी तिवारीलाई दुई लाख नगद एवं प्रमाणपत्रसहितको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरे ।
त्यसैगरी, उनले प्रमाणपत्रसहित एक लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र प्रमाणपत्र तथा रु ५० हजार नगद भएको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरे । यी दुवै विधाका पुरस्कार प्राप्त गर्नेमा सचिवदेखि श्रेणीविहीन निजामती कर्मचारी छन् ।
रेग्मीले निजामती सेवाबाट हालै निवृत्त भएका कार्यालय सहयोगीदेखि महानिर्देशकसम्मका कर्मचारीलाई पनि अभिनन्दनपत्र र दोसल्लाबाट सम्मान गरे । उनले निजामती दर्पण नामक पुस्तक पनि विमोचन गरे ।
मुख्यसचिव एवं निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष लीलामणि पौडयालले उत्साह र समर्पणका साथ काम गर्न कर्मचारी वर्गलाई आह्वान गर्दै बिग्रेको निजामती सेवाको छवि सुधार्न अत्यावश्यक भएको बताए ।
करिब ८० हजार निजामती कर्मचारीबाट पुरस्कारका लागि सर्वोत्कृष्ट, उत्कृष्ट र उत्तम कर्मचारी चयन गर्न तथा क्षेत्रीय, वर्गीय, लिंगीय एवं मन्त्रालयगत सन्तुलन कायम गर्न सरकारलाई निकै कठिन भएको पनि पौडेलले उल्लेख गरे ।

प्रतिक्रिया