पत्नीलाई उम्मेदवार बनाउन जेलबाट खुमबहादुरको दबाब

khum bdकाठमाडौं, २८ भदौ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई जेलसजाय भोगिरहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काले आफूनिकट व्यक्तिलाई संविधानसभा चुनावमा टिकट दिलाउनका लागि पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन् । सदरखोर डिल्लीबजार कारागारबाट पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई जिल्ला र क्षेत्रबाट सिफारिसमा नपरेका व्यक्तिलाई आगामी चुनावमा उम्मेदवार बनाउन दबाब दिन थालेका हुन् ।
दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिसमा परेका कृष्णकिशोर घिमिरेको ठाउँमा सुशीला चौधरी डागीलाई उम्मेदवार बनाउन खड्काले जेलबाटै पार्टी सभापति कोइरालालाई सन्देश पठाएका छन् । सुशीलाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको छैन । ‘हो सुशीलाजीको नाम कतैबाट सिफारिस भएको छैन तर उम्मेदारका लागि खुमबहादुर खड्काजीले निरन्तर दबाब दिइरहनुभएको छ,’ कांग्रेसका पुराना नेता नेमकान्त दाहालले भने । खड्कालाई दाहालले नै २०२१ सालअघि कांग्रेसको साधारण सदस्यता दिएका थिए । दाहालले दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने आकांक्षा गरे पनि उनी भने सिफारिसमा पर्न सकेनन् । खड्काले दाङ क्षेत्र नम्बर १ बाट पत्नी शीला गौतम खड्का, २ बाट सुशीला चौधरी, भरत न्यौपानेलाई उम्मेदवार बनाउन दबाब दिन थालेको स्रोत बताउँछ ।
त्यसैगरी, कांग्रेसको क्षेत्रीय समितिले दाङ क्षेत्र नं ४ बाट डिल्ली चौधरीको नाम सिफारिस गरेको छ । खड्काले भने सिफारिसमै नपरेका घनश्याम रेग्मीलाई उम्मेदवार बनाउन देउवालाई दबाब दिन थालेको स्रोतले बताएको छ । चौधरी देउवानिकट हुन भने रेग्मी दाङ जिल्ला पार्टी सभापति र खड्काका प्रियपात्र हुन् । रेग्मीले भने, ‘सिफारिसभन्दा पनि पार्टी र सभापतिको विशेष अधिकारअनुसार उम्मेदवार छनोट हुने हो ।’
सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भई खड्का एक वर्षदेखि सदरखोर डिल्लीबजारमा जेलजीवन बिताइरहेका छन् । उनी आगामी संविधानसभा चुनावमा आफूनिकटका व्यक्तिलाई टिकट दिलाउनका लागि जेलबाटै क्रियाशील रहेको पाइएको छ । उनले जेलबाटै आफ्ना विरोधीलाई उम्मेदवार बनाउनबाट वञ्चितसमेत गर्ने प्रयास गरेको कांग्रेसका नेताहरू नै बताउँछन् । खड्काकै निर्देशनमा कांग्रेस नेता बलदेव शर्मा मजगैया कुनै क्षेत्रबाट पनि सिफारिसमा नपरेको एक केन्द्रीय सदस्यले बताए ।
खड्काले जेलबाटै टिकट वितरणमा प्रभाव पार्ने देखिएपछि उनीनिकट नेता तथा कार्यकर्ता सदरखोर डिल्लीबजार पुग्ने गरेका छन् । ‘बिहानदेखि नै चुनावका विषयमा कुरा गर्न र उम्मेदवार को बनाउने विषयमा छलफल हुने गरेको छ,’ खड्कानिकट एक कार्यकर्ताले भने । आफूलाई टिकट दिलाउन कोइराला र देउवालाई दबाब दिलाउनका लागि नेता तथा कार्यकर्ता खडकासँग भेट्न पुग्ने गरेका छन् ।
खड्काले प्रत्यक्षमा मात्र नभई समानुपातिकतर्फ पनि आफ्नो पक्षका व्यक्तिलाई उम्मेदवार  बनाउन लागिपरेका छन् । क्षेत्रीय समितले समानुपातिकमा सिफारिस गरेका कैयौँ व्यक्तिका नामको सूची सभापति कोइरालालाई बुझाउनुअघि नै जेलबाट मगाई खड्काले सच्याउने गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया