धर्नापछि महानिर्देशकले कार्यालय छाडे

काठमाडौं २७ भदौ । वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगार व्यवसायीले विभिन्न ११ बुँदे माग राखेर दुई घन्टा धर्ना दिएका छन् । धर्नापछि  महानिर्देशक विनोद केसीले व्यसायीले काम गर्न नदिएको भन्दै कार्यालयबाट बाहिरिए ।
सरकारले व्यवसायीले राखेको ११ बुँदे मागको बेवास्ता गरेका कारण दुई घन्टा विभागमा धर्ना दिन बाध्य भएको वैदेशिक रोजगार व्यवसायी संघका पूर्व उपाध्यक्ष हंसराज वाग्लेले बताए । विभागले वैदेशिक रोजगार ऐन २०६४ मा उल्लेख भएको कुरालाई बेवास्ता गरी आफूखुसी चलेको आरोप लगाए । उनले भने, ‘विदेशी कम्पनीबाट डिमान्ड लेटर आउँदा सोही देशको चेम्बर अफ कमर्स, दूतावास र नेपालको दूतावास मध्ये जुनबाट स्वीकृत भएर आए पनि हुन्छ भनिएको छ ।’
‘विभागले नेपालको दूतावासबाट स्वीकृत गरेर ल्याउन भनेको छ, जुन ऐनमा नै छैन । त्यसले झनै समस्या सिर्जना भएको छ,’ उनले भने, ‘यो  विभाग र नेपाली दूतावाको मनोमानी हो । त्यसको व्यवसायीले विरोध गर्नुपर्छ ।’
उनले एक फरक प्रसंगमा भने, ‘व्यवसायीले विभागमा आफ्नो कार्यालयको प्रतिनिधि पठाउँदा विभागले सञ्चालक र कामदार आउनु पर्ने बाध्यकारी नीति लिएको छ । त्यो व्यवसायीको हितविपरीत छ ।’ अहिले विभागले वैदेशिक रोजगारीमा जाने कामदारको कागज पुगेको भनेर पठाए पनि अध्यागमन विभागले कागजपत्र नपुगेको भन्दै फिर्ता पठाउने गरेको छ । उनले भने, ‘सरकारका दुई अंग विभाग र अध्यागमनबीचको विवादले गर्दा कामदार र व्यवसायीलाई सरकारले दु:ख दिनुभएन । त्यसैको विरोधमा धर्ना कार्यक्रम गरेका हौँ ।’
सरकारले मागलाई बेवास्ता गरेमा शुक्रबारदेखि विभागको काम कारबाही पूर्ण रूपमा ठप्प बनाउने वाग्लेले चेतावनी दिए । उता विभागका निर्देशक दिवस आचार्यले भने, ‘व्यवसायीले धर्ना दिए पनि उनीहरूलाई कार्यालयभित्र प्रवेश गर्न दिएको छैन । बाहिर गरेको विरोधले काम गर्न कुनै समस्या पर्दैन ।’

प्रतिक्रिया