गैँडाकोटमा नयाँ आइटी कलेज

गैडाकोट, २७ भदौ । लुम्बिनी आइसिटी कलेज गैँडाकोटले शैक्षिक सत्र ०७०/७१ का लागि बिएससी सिएसआइटी कोर्सको शिक्षा प्रदान गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत बिएससी सिएसआइटी कोर्स पढाउने लुम्बिनी आइसिटी कलेज नवलपरासीको नै पहिलो कलेज बनेको छ । ३६ जना विद्यार्थी अध्यापन गराउने मान्यता लुम्बिनीले प्राप्त गरेको कलेजका निर्देशक निर्मल पाण्डेले जानकारी दिए । प्लस टु वा आइएससी विषय लिएर उत्तीर्ण गरेका र ४५ प्रतिशत अंक ल्याएका विद्यार्थीले यो स्नातक तहको कोर्स अध्ययन गर्न पाउँछन् ।
स्मार्ट मल्टिमिडिया, एसीसहित कक्षाकोठाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधारमा विद्यार्थीलाई अध्यापन गराइने निर्देशक पाण्डेले जानकारी दिए । यसैबीच, लुम्बिनी आइसिटी कलेजको आयोजनामा बिएससी सिएस आइटीबारे १ दिने सेमिनार बुधबार नारायणगढमा सम्पन्न भएको छ । सेमिनारमा बिएससी सिएस आइटी विशेषज्ञ प्रकाश पौडेलले यसको महत्त्वबारे विद्यार्थीलाई जानकारी गराएका थिए । बिएससी सिएसआइटीको महत्त्व किन नेपालमा बढिरहेको छ, यसको आवश्यकता किन छ भन्नेबारे पौडेलले विद्यार्थीलाई जानकारी गराए । झन्डै ६० जनाभन्दा बढी विद्यार्थी सहभागी सेमिनारमा कम्प्युटर सºटवेयर, सेक्युरिटी नेटवर्क, टेलिकम्युनिकेसनबारे जानकारी गराइएको थियो । विश्वबजारमा आइटी क्षेत्रमा मागअनुसार दक्ष जनशक्ति नभएकाले बिएससी सिएसआइटीतर्फ विद्यार्थीको आकर्षण बढेको पाइएको छ । नेपालमा ४० वटा कलेजले यो कोर्स अध्यापन गराउँदै आएका छन् । राजधानीमा मात्र २५ वटा कलेज छन् भने बाँकी कलेज मोफसलमा छन् । नेपालमा ०६४ सालदेखि बिएससी सिएस आइटीको कन्क्रिट कोर्स तयार गरी अध्यापन गराउन सुरु गरिएको हो । अहिलेसम्म करिब ४ सय जनाले यो कोर्स पूरा गरिसकेका छन् । बिएससी सिएस आइटी पढ्न १ लाख ५० हजारदेखि ९ लाखसम्म खर्च लाग्ने जानकारी आइटीविद् प्रकाश पौडेलले दिए ।

प्रतिक्रिया