युवा स्वरोजगारको रकम अलपत्र

बाजुरा, २७ भदौ । जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट विनियोजन गरेको १ करोड रुपियाँ अलपत्र परेको छ ।
बेरोजगार युवालाई विनाधितो ऋण लगानी गरी उनीहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ विनियोजित रकम कार्यान्वयन गर्न नसक्दा कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा सो रकम थन्किएको हो । असार मसान्तभित्र ऋण लगानी गरिसक्नुपर्ने भए पनि अझैसम्म कुनै प्रक्रिया सुरु नगर्दा रकम बैंकमै थन्किएको जिल्ला कृषि विकास बैंकका व्यवसाय सहायक दीपक कुँवरले जानकारी गराए । ‘रकम कसलाई दिने भन्ने टुंगो नलाग्दा कार्यान्वयन हुन नसकेको हो,’ उनले भने ।
सुदूरपश्चिमका सात पहाडी जिल्लामा आएको रकम बाजुरामा मात्र कार्यान्वयन नभएको पनि उनले बताए । ५० जनाको कोटामा व्यवसाय सञ्चालनका लागि ५ सय ६५ जनाले निवेदन दिएका थिए । उद्योग वाणिज्य संघको अध्यक्षको संयोजकत्वमा रहेको समितिले समयमै ऋणी छनोट गर्न नसक्दा रकम केन्द्रमै थन्किएको बुझ्नमा आएको छ । जिल्लामा उद्योग वाणिज्य संघका महासचिव धर्मबहादुर रोकायाको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, कृषि विकास बैंक प्रमुख र स्वयंसेवक रहेको एक समिति गठन भएको छ । समितिमा रहेका स्वयंसेवक भीम नेपालीले समितिले काम नगरेको र आफूलाई काम गरेको पैसा नदिएको भन्दै गत माघमै राजीनामा दिएपछि झन् समस्या भएको उद्योग वाणिज्य संघका सचिव धर्मबहादुर रोकायाले जानकारी गराए । स्वरोजगार कोषले आफँै सेवा–सुविधा दिनेगरी एक जना स्वयंसेवक नियुक्ति गरेको थियो । निवेदकका फाइल यतिबेला उद्योग वाणिज्य संघको कार्यालयमा थन्किएका छन् ।
एक जनालाई २ लाख रकम दिने प्रावधानअनुसार आर्थिक समस्याका कारण बेरोजगार बसेका युवाले ऋण पाएपछि व्यवसाय सञ्चालन गर्ने आस गरेको भए पनि पूरा हुन नसकेको भन्दै गुनासो गर्न थालेका छन् । एक वर्ष पूरा भइसक्दा पनि सरोकारवाला निकाय भने मौन बसेका छन् ।
आठ महिनादेखि खाली रहेको स्वयंसेवक पदमा साउन १ गते बलराम रेग्मीलाई नियुक्ति दिएर पठाएको खबर आएको छ । ‘अब तत्काल काम सुरु हुन्छ,’ सचिव धर्मबहादुर रोकायाले भने । यता, उद्योग वाणिज्य संघ बाजुरामा व्यवसाय गर्न निवेदन दिएका युवा भने अन्योलमा छन् ।

प्रतिक्रिया