आँखा अब ‘राजदूत र संवैधानिक’ नियुक्तिमा

Baluwatarकाठमाडौं, २६ भदौ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिका सदस्यहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
बालुवाटारस्थित अध्यक्ष रेग्मीको निवासमा आज (बुधबार) भएको भेटबार्तामा असन्तुष्ट दलहरुसँग भएका वार्ता र छलफलहरुका बिषयमा परामर्श भएको कांग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच वार्ता भए पनि सहमतिमा पुग्न सकेको छैन । नेकपा–माओवादी चुनाव विथोल्ने गरेर संघर्षका कार्यक्रम सहित अघि बढिसकेको छ । मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी भने निर्वाचनमा सहभागी हुने जनाई सकेका छन् ।
‘नेकपा–माओवादी निर्वाचन प्रक्रियामा नआउने जानकारी सरकारलाई गराएको छौं,’ उनले भने, ‘निर्वाचन र वार्ताका विषयमा समेत छलफल भएको छ ।’
नेता रिजालले नेकपा–माओवादीले समितिलाई वार्तामा अल्मल्याएर मंसिरको चुनाव पछि सार्ने षड्यन्त्रमा लागेको बताए । उनले भने, ‘नेकपा–माओवादीको नियत ठीक छैन ।’
नेकपा–माओवादीका मागका सम्बन्धमा लचिलो हुँदा पनि वार्तामा सहमति हुन नसकेको भन्दै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका थिए ।
यसैबीच, समितिले निर्वाचन गराउन देखिएका कानूनी र संवैधानिक जटिलता हटाउन पनि अध्यक्ष रेग्मीलाई सुझाव दिएको तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष रामेश्वर राय यादवले जानकारी दिए ।
संविधानसभामा प्रत्यक्ष ४२ र समानुपातिक ५८ प्रतशित् सहभागिता गराउन आवश्यक व्यवस्था मिलाउनु पर्ने समितिको सुझाव छ । सहमति अनुसार संविधान संशोधन गरेर ६ सय १ सदस्सीय संविधान सभा बनाउनु पर्ने छ ।
जवाफमा अध्यक्ष रेग्मीले आफू राजनीतिक समितिको सुझाव र सल्लाह अनुसार अघि बढ्न तयार रहेको बताए ।
नियुक्तिमा ठूला नेताहरुको ध्यान
यसैबीच, राजनीतिक समितिमा रहेका प्रमुख दलका शीर्ष नेताहरुले रिक्त रहेका विभिन्न स्थानहरुमा नियुक्ति गर्न सरकारलाई सझाव दिएका छन् ।
‘संवैधानिक निकायहरुलाई पूर्णता दिने र विभिन्न देशमा रिक्त राजदूत नियुक्त गर्ने विषयमा पनि छलफल भयो,’ अध्यक्ष रेग्मीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संवैधानिक निकायमा पदाधिकारी र राजदूतहरुको नियुक्तिका सम्बन्धमा आवश्यक थप छलफल गर्ने विषयमा सहमति भएको प्रेस सल्लाहाकार विमल गौतमले जानकारी दिए ।
संविधानसभा निर्वाचन नजिकिँदै गई रहेका बेला शीर्ष दलका नेताहरुले रिक्त रहेका खाली पदमा आफ्ना समर्थक भर्न चासो दिएका हुन् ।

प्रतिक्रिया