विभागको ढिला सुस्तीले सेवाग्राही मर्कामा

labour-dpartmentकाठमाडौं, २६ भदौ । काठमाडौं  वैदेशिक रोजगार विभागमा केही समयअघि २४ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि विभागमा दैनिक कामका लागि पुग्ने सेवाग्राही मारमा परेका छन् ।
निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने आरोप लाग्दै आएको विभागमा टिप्पणी उठाउन पहिला एक दिनमा हुने काम तीन दिन लाग्ने गरेको छ, श्रम प्रतिनिधि संघका अध्यक्ष तथा व्यवसायी भीमसेन धितालले भने, ‘पहिलाको तुलनामा काम गर्न धेरै समय लाग्ने गरेको छ ।’ विभागमा कामदारको अभाव भएकाले काममा ढिला भएको विभागले बताए पनि त्यसको समाधान विभागले समयमै गरेर सेवाग्राहीलाई कुराउन नहुने उनले बताए । अर्का एक व्यवसायीले भने, ‘विभागका कर्मचारीले पहिला त काम गर्न ढिलासुस्ती गर्ने अहिले कामदारको अभाव भएपछि कामदार छैन भन्दै एक दिनको काम चार दिनसम्म लगाउने गरेका छन् ।’
उता विभागका निर्देशक दिवस आचार्यले पहिला केही समस्या भए पनि हाल मन्त्रालयबाट १७ जना कर्मचारी आएपछि काममा सहज भएको बताएका छन् । विभागमा आउने कर्मचारीले विभागले राखेको नागरिक वडापत्रअनुसार काम नभएको भन्दै दुखेसो पोख्ने गरेका छन् । सरकारले क्षतिपूर्तिसहितको सेवा दिने भने पनि विभागमा त्यस्तो अवस्था छैन,’ धितालले भने, ‘वडापत्रमा भनिएको छ, वैदेशिक रोजगारमा कामदार पठाउन पूर्वस्वीकृति निवेदन प्राप्त भएको चार दिनमा काम सकिने भनिएको छ त्यो काम सात दिनमा पनि सकिएको छैन ।’ उनले थपे, विभागमा कोही नयाँँ मान्छे आएर वडापत्रअनुसार काम गर्न खोजे भने उसले महिनौँ कुर्नुपर्ने बाध्यता छ ।
भिसा स्ट्याम्पिङका लागि राहदानी लाने ल्याउने र ल्याएको चार दिनमा काम सकिने, इजाजत पत्रवाला संस्थामार्फत वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रमस्वीकृति निस्सा (स्टिकर) प्रदान तीन दिन लाग्ने, व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारमा जाने कामदारलाई श्रमस्वीकृति निस्सा (स्टिकर) निवेदन पेस गरेको दिनमै काम सकिने उल्लेख गरिए पनि त्यो भित्तामा मात्र सीमित भएको उनको दाबी छ । त्यसअनुसार काम नभएकोप्रति सेवाग्राही मर्कामा परेका छन् धितालले भने, ‘अहिले विभागमा पहिला तीन दिनमा हुने काम पाँच दिन लाग्ने भएपछि आउने सेवाग्राही घटेका छन् । ’
‘पहिला कर्मचारी नयाँ भएकाले काम गर्न केही ढिला भएको थियो,’ निर्देशक आचार्यले भने, ‘पहिला आउनेले पुरानो जस्तो काम गर्न नसके पनि अहिले औसतमा काम भएको छ ।’ आवश्यकताअनुसार कामको बाँडफाँड गरेर काम गरिएको उनले बताए । आचार्यले एक फरक प्रसंगमा भने, ‘अध्यागमनमा भएको ढिलासुस्तीका विषयमा मन्त्रालयबाट निर्णय हुँदै छ ।’ सबै समस्या समयमा नै समाधान हुनेछ ।

प्रतिक्रिया