तिजको लहर गयो बरी लै…

नेपाली महिलाले अत्यन्त श्रद्धा र धुमधामसित मनाउने धार्मिक चाड तिज भर्खरै मात्र सकिएको छ । तिजको पर्सीपल्टै धार्मिकताले भरिएको अर्को नारी–पर्व पञ्चमी पनि मंगलबारबाट यस वर्षका लागि विदा भएको छ । आधुनिकता र विश्वव्यापीकरणको उर्लंदो गतिसँगै पर्वहरूमा पनि आधुनिकता ह्वात्तै बढेको छ । यसको छाप हरेक घर, हरेक नाका र जमघटमा देखिन्छ । त्यही क्रममा यस वर्षको तिज तमाम नेपाली महिलाले जस्तै विभिन्न पार्टीका महिला नेतृ र समाजका अन्य क्षेत्रका नारी व्यक्तित्वले पनि मनाए । एउटा जिज्ञासा उठ्ने गर्दोरहेछ– सामाजिक क्षेत्रमा खास स्तरको पहिचान बनाइसकेका नारी व्यक्तित्वले तिजजस्तो विशिष्ट पर्व कसरी मनाए होलान् † यसै सन्दर्भमा त्यस्तै केही प्रतिनिधि महिलासँग सौर्यले गरेको संवाद ।
निराहार बस्न छाडेँ
बसुन्धरा भुसाल, वरिष्ठ कलाकार
तिजमा रमाइलो गरेरभन्दा पनि सबैको मन राख्ने प्रयास गरेर थाकेकी छु । कलाकार सबैको साझा हो, बोलाएको ठाउँमा जानै पर्छ । माइती नेपालले राखेको कार्यक्रम छोड्ने गरेकी छैन, गएँ । यो वर्ष नौ ठाउँमा दर खान गएँ । गयो, अनुहार देखायो, हिँड्यो । मन राख्नैका लागि गएँ । खान भनेको त्यस्तै हो । घरमै आएर पो पेटभरि खाएँ ।
म हरेक तिजमा नजिकका दिदी–बहिनी र साथीहरूलाई सौभाग्यको सामान बाँड्छु । यो वर्ष ४५ जना दिदी–बहिनीलाई सौभाग्यको सामान बाँडेँ । सौभाग्यको सामान बाँड्दा आफ्नै सौभाग्य बाँड्छ भन्ने धार्मिक मान्यता छ । त्यसैले धेरै दिदी–बहिनीलाई बाँड्छु । उनीहरूले पनि मलाई उपहार दिन्छन् । फिल्मी क्षेत्रका दिदी–बहिनीलाई पनि उत्तिकै सम्झन्छु ।
यो वर्ष अख्तियारले चाड–बाड र भोज–भतेरमा लगाएको प्रतिबन्धले मलाई पनि केही राहत मिलेको छ । गत साल एकै दिन चार–चार ठाउँ भ्याउनुपरेको थियो । यो वर्ष केही हल्का भयो । बोलाउँछन्, समय हुँदैन । नजाँदा मन दुखाउँछन्, के गर्ने †
पर्व मनाउने शैलीमा सामाजिकीकरण हुँदै गएकोमा खुसी लाग्छ । तिजको नाममा विभिन्न सामाजिक संस्थाहरूले वृद्ध–वृद्धाहरूलाई सम्मान गर्ने र दर खुवाउने गरेको देख्दा धेरै खुसी लाग्छ । आफन्त नभएकाले एक दिन भने पनि आफन्त पाएजस्तो हुन्छ । त्यस्ता कार्यक्रम सकेसम्म छोड्दिनँ । तिज सबै महिलाको साझा पर्व हो । पति भएका र विवाहिताको मात्र हो भनेर कसैले भन्छ भने मेरो मनले त्यो मान्दै मान्दैन ।
केही वर्ष पहिलासम्म कलाकारलाई घरमा बोलाएर दर खुवाउँथेँ । केही वर्षदेखि त्यो क्रम भंग भएको छ । आउनेलाई पनि समय छैन । आफ्नो पनि व्यस्तता बढेको छ । फेरि, काठमाडौंमा पानीको पनि समस्या छ । सबै कुराको रहर मात्र गरेर हँुदैन, पुर्‍याउनु पनि पर्छ । यो वर्ष बोलाएको संघ–सस्थाको कार्यक्रममा गएर उनीहरूको रमाइलोमा साथ दिँदै मनाएँ । ब्रत बसँे तर पूजा गर्न पशुपति गइनँ । बुढेसकाल लागेको छ । भिडमा जाने आँटै भएन । नजिकैको महादेवको मन्दिरमा गएर पूजा गरेँ । पञ्चमीको पूजा गरेँ । जेहोस्, तिज रमाइलै भयो ।
ब्रत कहिल्यै बसिनँ

विद्या भण्डारी, एमाले नेता
नेपालीहरूको चाड–बाड मनाउने चलनमा समयसँगै धेरै परिवर्तन आएको छ । त्यसमा पनि महिलाहरूका लागि तिजको आफ्नै महत्त्व र विशेषता छ । तिजको खास दिनभन्दा केही समय पहिलेदेखि नै महिलाहरू दर खाने नाममा भेटघाट गर्न थाल्छन् । यो वर्ष करिब एक दर्जन ठाउँमा दर खाने कार्यक्रममा गएँ । पार्टीका विभिन्न कमिटी र अनेमसंघलगायत सामाजिक संस्थाको दर खाने कार्यक्रममा गएँ । जहाँ गए पनि स्वास्थ्यको कारणले गर्दा खासै केही खाइनँ । श्रद्धाले बोलाउँछन्, गएर सहभागिता जनाउने गरेकी छु । यो वर्ष पनि त्यसै गरेँ । नजाँदा महिलाहरूले चित्त दुखाउलान् भन्ने लाग्छ ।
तिज महिलाहरूको धार्मिक पर्व मानिन्छ तर मैले तिजको नाममा अहिलेसम्म ब्रत बसेकी छैन र पूजा पनि गरेकी छैन । केटाकेटीमा रहरले एकपटक ब्रत बसेको त दिउँसो भएपछि भोक खप्नै नसकेर खाना खाएँ । आमाले भोक लागेको भए खाए हुन्छ भन्नुभयो । त्यसपछि पूजा ब्रत गरिन । तिज भनेर आफ्ना लागि नयाँ केही सामान किन्दिनँ । अरुले श्रद्धाले दिएको उपहार लिन्छु । दर खाने दिन छोरी–चेलीलाई बोलाएर खुवाउँछु । त्यति त गर्नै पर्छ भन्ने लाग्छ । आफ्ना लागिभन्दा पनि उनीहरूका लागि गर्छु ।
समयसँगै तिज परम्परागतभन्दा सामाजिक रूपमा मान्न थालिएको छ । म पनि समाजको एक नागरिकको हैसियतले सहभागिता जनाउनुपर्छ भनेर महिला साथीहरूलाई साथ दिने गरेकी छु । राजनीतिक व्यस्तता हुन्छ । फेरि हाम्रा लागि भगवान भनेको मूर्ति वा फोटोभन्दा जनता हुन्, उनलाई खुसी राख्नसके आत्मसन्तुष्टि हुन्छ ।
ब्रतको दिन मासु–चिउरा खाएँ

पम्फा भुसाल, माओवादी नेता
तिजमा आजसम्म ब्रत बसेकी छैन । सानैबाट राजनीतिक चेतना भएका कारण पूजा–पाठ, ब्रत जस्ता कुरामा विश्वास नै लागेन । पारिवारिक वातावरण पनि खुल्ला खालको छ । पूजा–पाठ ब्रत बस्नु पर्छ भनेर परिवारबाट कहिल्यै सिकिन । पूजा गरेरभन्दा जनताको सेवा गरेर धर्म हुन्छ भन्ने बुझँे ।
तिजका दिन नेपाली महिलाहरूले शिवजीको पूजा गर्दै निराहार बसेर मनाए, मैले भने टन्न खसीको मासु र चिउरा खाएँ । अस्ति तिजको दिन पार्टी पोलिटब्युरोको बैठक थियो । पार्टी कार्यालयमा तयार गरिएको मासु–चिउरा खाएँ । आजसम्म मलाई तिजको कुनै धार्मिक प्रभाव परेको छैन ।
समयसँगै तिज मनाउने चलनमा पनि परिवर्तन भएको छ । महिनौँदेखि दर खाने भनेर दिदी–बहिनी जम्मा हुन थालेका छन् । स्थानीय पार्टी कमिटी र संघ–संगठनले आमन्त्रण गरे पनि यो वर्ष सबै ठाउँमा जान पाइन । एकदुई ठाउँ मात्र गएँ । आमा बिरामी हुनुभएकाले पनि बोलाएको कार्यक्रममा जान पाइन । पहिले–पहिले आफन्त दिदी–बहिनीबीचमा बसेर दर खाइन्थ्यो । यो वर्ष त्यो पूरा हुन सकेन । तिजमा यो वर्ष गत वर्षभन्दा केही चहल–पहल घटेको छ । अख्तियारले भोज–भतेरमा तडक–भडक गर्न र ठूलो संख्यामा मान्छेको उपस्थिति हुन नपाउने भन्नाले पनि होला । अख्तियारको त्यो निर्णय ठिक लाग्यो । चाड–बाडका नाममा अनावश्यक तडक–भडक ठिक हुँदैन । सबै नेपालीको हैसियतले भ्याउँदा पनि भ्याउँदैन । जसरी सकिन्छ, त्यसैगरी मनाउनु ठिक लाग्छ ।
दर खाने दिन सुटिङमा गएँ

करिश्मा मानन्धर, नायिका

तिज मलाई मनपर्ने चाडमा पर्छ । तर, यो वर्षको तिज कुनै स्पेसल भएन । बोलाएको कार्यक्रममा पनि जान पाइनँ । दुई–तीन ठाउँमा मात्र गएँ । दर खाने दिन दिउँसो दुई बजेसम्म फिल्मको सुटिङ थियो । Karisma-manandharसुटिङबाट आउँदा आमाले दर पठाउनुभएको रहेछ, खाएँ । आमाकोमा जान पनि पाइनँ, अरूलाई बोलाउन पनि पाइनँ । ब्रत बसेँ तर म निराहार ब्रत बस्दिनँ । पूजा गरेर जुस, फलफुल खाएँ ।
तिज महिलाका लागि ब्रत बस्नुपर्ने पर्वकाका साथै पञ्चमी पूजाको पनि दिन हो । म पञ्चमीका दिन आमाले तयार गरिदिएको पूजा सामग्रीले माइतमा गएर पूजा गरेँ । तिज मन पर्छ तर दर खाने भनेर महिनौँदेखि काम छोडेर तडक–भडक गरेको मलाई मन पर्दैन । यसले विस्तारै चाड–बाडको महत्त्व घटेको जस्तो लाग्न थालेको छ ।
आधुनिक रूपमा मनाएँ तिज
रागिनी उपाध्याय, कलाकार
– तिजमा ब्रत बसेँ तर पहिलेजस्तो निराहार ब्रत बस्न छोडेँ । केही वर्ष भयो, पूजा गरेर जुस, फल–फुल खान थालेको । म मान्छे पनि मोडर्न हुँ । त्यसैले धर्म पनि त्यसैगरी मनाउने गरेको छु । सामाजिक संघ–संस्थाले बोलाएको कार्यक्रममा जाने गरेको छु । आफन्तकोमा गएँ । दर खाने बहानामा दिदी–बहिनीबीच भेटघाट भयो, रमाइलो लाग्यो ।
तिजमा आफन्तकोमा जान्छु तर आफूले कसैलाई बोलाउनुपर्दैन । म दिदी–बहिनीमा कान्छी हुँ । त्यसैले उपहार पनि पाइन्छ दिनु पर्दैन । वृद्वा आमा हुनुहुन्छ । उहाँकोमा गएर दर खाएँ । दिदी–बहिनीमा कान्छी भएकोमा मलाई फाइदा छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया