बाजुरा, २६ भदौ । जिल्लाको कोल्टी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्यकेन्द्र कोल्टी दुई वर्षदेखि डाक्टरविहीन बनेको छ ।
प्राथमिक स्वास्थ्यकेन्द्रमा स्वास्थ्य मन्त्रालयले डाक्टरको दरबन्दी कायम गरेको धेरै वर्ष भइसक्दा पनि कोल्टीमा डाक्टर नपठाएको भन्दै स्थानीयले गुनासो गरेका छन् । डाक्टर विश्वराज बराल गएयता प्राथमिक स्वास्थ्यकेन्द्र कोल्टीमा कोही पनि डाक्टर आएका छैनन् । हुम्ला, जुम्ला, मुगु कालिकोटलगायतका जनताले सेवा लिने गरेको सो प्राथमिक स्वास्थ्यकेन्द्र कोल्टीमा सिअहेव र अनमी मात्र छन् ।
प्राथमिक स्वास्थ्यकेन्द्रमा एक डाक्टर, एक स्टाफ नर्स र एक ल्याबको दरबन्दी कायम गरेको भए पनि सो स्वास्थ्यकेन्द्रमा दरबन्दी रिक्त छ । ‘कि त सरकारले डाक्टरको दरबन्दी नै छैन भन्नुपर्यो, नत्र भने दरबन्दीअनुसार डाक्टर उपलब्ध गराउनुपर्यो,’ जुकोटका स्थानीय रत्नशाहीले भने,
‘कागजमा मात्र डाक्टर दरबन्दी दिएर स्वास्थ्य मन्त्रालयले ग्रामीण भेगका जनताको स्वास्थ्यमाथि खेलबाड गरेको छ ।’
सामान्य बिरामी पर्दासमेत महँगो भाडा तिरेर नेपालगन्ज, काठमाडौं, भारतलगायत स्थानमा धाउनुपर्ने स्थानीयको बाध्यता छ । अन्य स्वास्थ्यकर्मी पनि नियमित प्राथमिक स्वास्थ्यकेन्द्रमा नबस्ने गरेको उनीहरूले बताए ।
जिल्ला जनस्वास्थ्य अधिकृत डा. ज्ञनेन्द्र दवाडीले प्राथमिक स्वास्थ्यकेन्द्रमा दुई वर्ष हुँदासमेत डाक्टर पठाउन समस्या भएको बताए । उनले भने, प्राथमिक स्वास्थ्यकेन्द्रमा आवश्यक डाक्टर पठाइदिन स्वास्थ्य विभागमा पटक–पटक पत्राचार गरे पनि उताबाट कुनै खबर आएको छैन ।’ हालसम्म जिल्लामा एक मात्र प्राथमिक स्वास्थ्यकेन्द्र रहेको छ ।
दैनिक रूपमा आउने १ सय ५० बढी बिरामीलाई सामान्य उपचार भए पनि अन्य बिरामीलाई ठूलो धनराशि खर्चेर अन्यन्त्र उपचार गर्नुपर्ने बाध्यता रहेको स्थानीय रामबहादुर शाहीले बताए ।
प्रतिक्रिया