फोहोर व्यवस्थापनको आग्रह

बाजुरा : जिल्लाका अधिकांश गाविस खुला दिसामुक्त घोषणा भइसक्दासमेत जिल्ला सदरमुकाम मार्तडीमा भने फोहोर र दिसाले भरिभराउ भएको छ ।
बाजुरालाई सन् २०१५ मा खुला दिसामुक्त क्षेत्र घोषणाका लागि तीव्र तयारी पारिसक्दासमेत सदरमुकामको फोहोर भने व्यवस्थापन गर्न सकिएको छैन । सदरमुकाम मार्तडीको फोहोर व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी धु्रवराज जोशीले स्थानीयलाई  आग्रह गरेका छन् । मार्तडी बजारको फोहोर व्यवस्थापन गर्न सबै सरोकारावाला निकायलाई एकीकृत योजना तयार गरेर अगाडि बढ्नसमेत उनले आग्रह गरेका छन् ।
मार्तडीमा सोमबार सञ्चालन भएको ‘मानव स्रोतको अवस्था’ विषयक कार्यक्रममा प्रजिअले यस्तो आग्रह गरेका हुन् । मार्तडी बजार प्रतिदिन सहरीकरणतर्फ उन्मुख हुँदै गए पनि फोहोर व्यवस्थापनतर्फ भने कसैको ध्यान नगएकाले तत्काल यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।
जिल्लाका १२ वटा गाविस खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेकाले सदरमुकाममै रहेको मार्तडी गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणाको पहलमा सबैले एकजुट भई लाग्नुपर्ने उनको सुझाव छ । बजारआसपासमा दिसा मात्र देखिँदा र खानेपानीको पाइप पनि व्यवस्थित नहुँदा रोगको संक्रमण बढ्ने स्वास्थ्यकर्मीले बताए । मार्तडी बजारको फोहोर व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालय बाजुरासमेत सहयोग गर्न तयार रहेको जिल्ला जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले बताए ।
बाजुराको स्वास्थ्य क्षेत्रमा मानव संसाधनको अवस्था विश्लेषण गोष्ठीमा उपस्थित सबै सहभागीले मार्तडीको फोहोर व्यवस्थापनमा आ–आºनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, गैससका प्रमुख एवं पदाधिकारी र पत्रकार सहभागी थिए ।

प्रतिक्रिया