निर्वाचन प्रशिक्षण सुरु

धनगढी, २६ भदौ । आगामी ४ मंसिरमा हुने संविधानसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई दुईदिने निर्वाचन सञ्चालन एवं व्यवस्थापन क्षेत्रीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ जिल्ला मुख्य निर्वाचन अधिकृत र २१ वटा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको सहभागिता रहेको छ । कार्यक्रम बुधबारसम्म सञ्चालन हुने निर्वाचन आयोगका सहसचिव वीरबहादुर राईले बताए ।
आयोगको निर्वाचन तालिकाअनुसार यो प्रशिक्षण कार्यक्रम लगभग अन्तिम हो । अब हरेक जिल्लामा नियुक्त निर्वाचन अधिकृतले प्रशिक्षण कार्यक्रमपश्चात् आ–आºनो क्षेत्रमा गएर निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्ने आयोगका सचिव नरेन्द्र दाहालले बताए । आयोगले मंगलबार नै सुदूरपश्चिमाञ्चलका साथै पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पनि नियुक्त निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ भने यही २८ र २९ गते मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने दाहालले बताए । प्रशिक्षण कार्यक्रमपछि असोज १ गते हरेक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चुनावी गतिविधि सञ्चालन हुने उनले बताए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त रामभक्त पिबी ठाकुरले आयोगबाट निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया लगभग पूरा भइसकेको र अब हरेक निर्वाचन क्षेत्रमा नियुक्त निर्वाचन अधिकृतले चुनावलाई शान्तिपूर्ण र व्यवस्थित तरिकाले सम्पन्न गर्ने ठूलो जिम्मेवारी रहेको बताए ।
उनले नियुक्त निर्वाचन अधिकृतहरूको धेरै सावधानी अपनाई विवेकपूर्ण निर्णयका साथ निर्भिक र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न प्रशिक्षण कार्यक्रममा सहभागीलाई निर्देशन दिए । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको एक मात्र उद्देश्य घोषित निर्वाचन सम्पन्न गर्नु रहेको र हरेक जिल्लामा एक रूपताले काम गर्न सजिलो होस् भनेर आयोगले पााचवटै विकास क्षेत्रमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको आयुक्त ठाकुरले जानकारी दिए ।
‘मुलुक निर्वाचनको महायज्ञमा होमिसकेकाले अब निर्वाचनको विकल्प छैन,’ ठाकुरले भने, यसअघिको निर्वाचनमा म्यादी प्रहरी बारे धेरै गुनासो आएकोले यस पटक आयोगले भूतपूर्व आर्मी, प्रहरीलाई म्यादी प्रहरीको रुपमा परिचालन गर्ने सोच बनाएको छ । भूतपूर्व आर्मी, प्रहरीको संख्या नपुगे मात्र सर्वसाधारणलाई म्यादी प्रहरीमा भर्ना गरिनेछ । तर, त्यो संख्या अत्यन्त न्यून हुने ठाकुरको भनाइ थियो । नियुक्त म्यादी प्रहरीलाई विशेष तालिम र निर्देशन दिएर निर्वाचनमा खटाइने उनले बताए ।
उनले नेपाली सेनालाई निर्वाचन केन्द्रमा परिचालन नगरी बाहिरी सपोर्टमा मात्र परिचालन गर्ने र निर्वाचनको अग्रभागमा भने नेपाल प्रहरी नै परिचालन हुने बताए । निर्वाचनका लागि मुलुकभर १८ हजार ८ सय ४३ मतदानकेन्द्र तथा १० हजार १७ स्थान तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच, निर्वाचनको पर्यवेक्षण गर्न ५५ हजार ७ सय ७ राष्ट्रिय पर्यवेक्षक र कार्टर सेन्टर, युरोपियन युनियनलगायत केही अन्तर्राष्ट्रिय संघसंस्थाले निवेदन दिएको सहसचिव राईले जानकारी दिए ।

प्रतिक्रिया