जंगली हात्तीले २७ कठ्ठामा लगाएको धानबाली नष्ट

Hatti-Aakramanचितवन, २६ भदौ । पूर्वीचितवनको पिप्ले प्रसौनी गाउँका स्थानीय जंगली हात्ती आतंकबाट चिन्तित बनेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले किसानले लगाएको धानबाली खानुका साथै धानबाली नष्ट गर्न थालेपछि गाउँले चिन्तित भएका हुन् ।
चार दिनदेखि निकुञ्जबाट जंगली हात्ती आई आतंकित मच्चाउनुका साथै खेतीपाती नै नष्ट गरेको लोथर मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव रञ्जन सिलवालले जानकारी दिए । उनका अनुसार चार वर्षयता सो क्षेत्रमा जंगली जनावरको आतंक बढेको छ । पिल्लेको ३ र ८ नम्बर वडामा पर्ने प्रसौनी गाउँमा सोमबार राति मात्रै राधिका अर्चेलको ७ कठ्ठा, भीमबहादुर सेङताङको दुई कठ्ठा र खिलप्रसाद लामिछानेको ४ कठ्ठा धानखेती हात्तीले नष्ट गरेको छ त्यस्तै हात्तीले ठागु गुरुङको ५ कठ्ठा, काइँला मगरको ४ कठ्ठा, रणबहादुर धितालको तीन कठ्ठासहित २७ कठ्ठा खेतीबाली नष्ट गरेको छ । हात्तीले २७ कठ्ठामा लगाएको धानखेती नष्ट गरिदिएको बताएका छन् । धानखेतीका लागि पकेटक्षेत्रका रूपमा परिचित सो क्षेत्रमा तीन वर्षअघि मात्रै धान खानका लागी दुई कठ्ठा जग्गा किनेका पिप्ले गड्यौलीका विशाल लामाले भने, ‘के गर्ने धान खान भनी खेत किनेको त अहिलेसम्म हात्तीलाई पोस्न किनेजस्तो पो भयो । मेरो त सबै धानखेती हात्तीले सखाप पार्‍यो ।’ विद्युत्को झड्काले समेत हात्तीलाई कुनै असर नगरेको भन्दै स्थानीय काइला मगरले आतंक मच्चाउने हात्ती राति ११ बजेदेखि आउने गरेको बताए । सो क्षेत्रमा हात्तीसँगै निकुञ्जबाट आउने बाँदर, बँदेल, गैँडा, चित्तल, जरायोलगायत जनावरले दु:ख दिँदै आएको स्थानीयको भनाइ छ । हात्ती, गैँडाकै कारण सो क्षेत्रको २० घरधुरी प्रंसौनीबाट पिल्लेमा बसाइँ सरेको लोथर मध्यवर्ती उपभोक्ता समितिले जनाएको छ । चार वर्षदेखि कुनै मानवीय क्षति नपुर्‍याए पनि हात्तीले १२ वटा घरगोठमा क्षति पुर्‍याएको समितिको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया