कांग्रेसका चार नेताको नाम कतै परेन

Umakanta Chaudharyकाठमाडौं, २६ भदौ । कांग्रेसका चार केन्द्रीय सदस्य आगामी संविधानसभा चुनावका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिसमा पर्न सकेनन् । ८० सदस्यीय केन्द्रीय समितिमा रामकुमार चौधरी, उमाकान्त चौधरी, बलबहादुर केसी र फरमुल्लाह मन्सुरको नाम क्षेत्रीय समितिहरूले उम्मेदवार सिफारिसमा नपारेको हो । पार्टीले क्षेत्रीय समितिलाई प्रत्यक्षमा तीन र समानुपातिकमा पाँच जना उम्मेदवारको नाम मागेको थियो ।
सप्तरी कांग्रेसले रामकुमार चौधरीको नाम नराखी प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ । त्यस्तै, केसीको नाम पनि सोलुखुम्बुबाट सिफारिस भएन । बारा जिल्ला घर भएका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर र उमाकान्त चौधरीको नाम पनि उम्मेदवार सिफारिसमा परेको छैन ।
दर्जन बढी नेता सर्वसम्मत रूपमा उम्मेदवार सिफारिसमा परेका छन् । सर्वसम्मत हुनेमा शेरबहादुर देउवा पक्षीय नेताहरू धेरै रहेको कांग्रेस स्रोतले जनाएको छ । देउवा डडेलधुरा र कैलाली क्षेत्र नम्बर ६ बाट चुनाव लड्ने भएका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाको नाम बाँके क्षेत्र नम्बर १ र ३ बाट सिफारिस भएको छ । महामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री विमलेन्द्र निधिको नाम क्रमश: काठमाडौं क्षेत्र नम्बर १ र धनुषा ४ बाट एकल सिफारिसमा परेको छ । त्यस्तै केन्द्रीय सदस्य पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १, प्रवक्ता दिलेन्द्र बडू दार्चुला क्षेत्र न. १, डा. नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिसमा परेका छन् ।
उपसभापति रामचन्द्र पौडेलको नाम तनहुँ क्षेत्र नम्बर २ बाट सर्वसम्मत हुन सकेन । महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम पनि सर्वसम्मत रूपमा सिफारिस हुन सकेन ।
त्यस्तै, विद्यार्थी नेता पनि उम्मेदवार सिफारिसमा परेका छन् । गजेन्द्र कार्कीलगायत विद्यार्थी नेता प्रत्यक्षतर्फ र ऋषिकेशजंग शाह, रञ्जित कर्ण, लेखनाथ न्यौपाने, मंगलबहादुर मेन्याङ्बो रोदना घिमिरे, सकुन्तला त्रिपाठी, बैकुण्ठ श्रीवास्तव, जितजंग बस्नेत, उर्मिला थपलियालगायत समानुपातिकतर्फ सिफारिसमा परेका छन् ।

प्रतिक्रिया